‘काठमाडौं स्कूल अफ ल’ले यही १४ र १५ जेठमा भाषा, साहित्य तथा संस्कृति मेला गर्ने भएको छ । काठमाडौं स्कूल अफ लले भक्तपुरको दधिकोटस्थित कलेज परिसरमा भाषा, साहित्य तथा संस्कृति मेला गर्न लागेको हो ।
१४ जेठ बिहान १० देखि १२ बजेसम्म भाषा, साहित्य तथा संस्कृति मेलाको उद्घाटन हुने एवं १२ देखि ४ बजेसम्म पहिलो र दोस्रो गरी ६ वटा सत्र चल्ने मेला आयोजक कलेजका विद्यार्थीले बताएका छन् । काठमाडौं स्कूल अफ ल का कार्यकारी निर्देशक एवं नेपाल सरकारका पूर्वमहान्याधिवक्ता प्रा. युवराज संग्रौला (विद्यावारिधि) का अनुसार जेठ १४ र १५ गते भाषा, साहित्य र संस्कृतिको संरक्षणको अभियानका लागि कलेजमा अध्ययनरत विद्यार्थीहरुले मेला आयोजना गरेका हुन् ।
“भाषा, साहित्य र संस्कृतिको संरक्षणको अभियानका लागि विज्ञहरुका प्रवचन, संगीत, नाटक, कला र विविध गतिविधि आयोजना गर्ने योजना छ । तीव्रतर रुपमा इतिहास, भाषा र संस्कृतिको पतन भइरहेकोले त्यसको संरक्षणका लागि योगदान गर्ने उद्देश्यले यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले मेला आयोजना गरेका हुन्”, कार्यकारी निर्देशक प्रा.डा. संग्रौला भन्छन, “इतिहास, भाषा, संस्कृतिका संरक्षक अभियान्ता, विज्ञ, शुभेच्छुक, शुभचिन्तकहरु यी दुई दिन काठमाडौं स्कूल अफ लको कार्यक्रममा सहभागी भइदिनु हुन एवं नेपालमै बसेर मुलुकको समृद्धि गर्ने युवा, विद्यार्थीहरुको उद्देश्यलाई हौसला, सहयोग गरिदिनु हुन आग्रह छ ।”

मेलाको पहिलो दिनको पहिलो सत्रमा (१) आधुनिक युगमा नेपाली इतिहासको महत्व (२) नेपाली भाषा, साहित्यको महत्व र वर्तमान अवस्था (३) नेपालको अर्थतन्त्र कसरी सुध्रिएला ? र दोस्रो सत्रमा (१) परिवर्तन गर्नुपर्ने संस्कार कि सरकार ? (२) नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र अपनाउनु पर्ने परराष्ट्र नीति (३) नेपाली सभ्यताको बहस हुने आयोजकले जनाएका छन् ।
त्यसैगरी दोस्रो दिनको पहिलो सत्रमा (१) नेपालले अपनाउनु पर्ने सुरक्षा नीति (२) नेपाली संस्कृतिको महत्व र पाश्चात्य संस्कृतिको बढ्दो प्रभाव (३) फेक न्युज र नेपालको पत्रकारिता, दोस्रो सत्रमा (१) न्यायपालिका कुन बाटोमा (२) लोकतन्त्र स्थापित गर्न गीत संगीतले खेलेको भूमिका (३) कविता सत्र हुनेछन् । यी सत्रहरुमा तत्तत् विषयका विद्धान एवं विज्ञहरुले धारणा राख्नेछन् ।
काठमाडौं स्कूल अफ ल कानून संकाय अध्ययन गराउने संसारभरका १७ सय कलेजहरुमध्ये एक सय ४० औं स्थानमा पर्न सफल कलेज हो । संसारभरका कानून कलेजहरुको स्तर निर्धारण गर्ने ‘निका’ ले गत ९ चैत्र (२३ मार्च २०२२) मा सार्वजनिक गरेको ‘र्याङकिङ’ सूचीमा काठमाडौं स्कूल अफ ल १ सय ४० औं स्थानमा पर्न सफल भएको थियो ।
थप यो लिंक…