नागरिकता र शैक्षिक प्रमाणपत्रमा सेनाभित्र दुर्दशा, सरकार, संसद र नागरिक निगरानीमा आएन सेना !

ताराध्वज पाण्डेपछि एक र दुई नम्वरको वरिष्ठताक्रमका उपरथीद्धय अशोकराज सिग्देल र निर्मलकुमार थापाको पनि नागरिकता तथा शैक्षिक प्रमाणपत्र नक्कली

प्रधान सेनापति प्रभुराम शर्माकै योजनामा रथी सिफारिस पाण्डेमाथि योजनावद्ध निसाना

प्रधान सेनापतिको रोलक्रममा रहेका उपरथी ताराध्वज पाण्डेले अस्ति २३ कातिक राति एकाएक जंङ्गी अड्डामा राजीनामा बुझाएर घर हिडे । पाण्डेको नागरिकतामा जन्ममिति कैफियत छ भन्ने कुरा जंङ्गी अड्डाले अचानक सुइँको पाएको होइन । जंङ्गी अड्डा त यसबारेमा लामै समयदेखि भरपुर जानकार थियो नै, नेपाली सेनालाई नजिकबाट नियालिरहेकाहरुबीचमा पनि यो विषय ‘ओपन सेक्रेट’ थियो । तर, संसद, सरकार, नागरिक र सञ्चार माध्यमलाई गुमराहमा पारिरहन वा अटेर गरिरहन सकिन्छ भन्ने सैनिक नेतृत्वको लहडी मानसिकताका कारण किर्ते जस्तो गैरकानूनी धन्दालाई स्वभाविक रुपमा लिइएको थियो ।

०८० बैशाख ११ गते साँझ ६.५० देखि ८.१० सम्म ललितपुरको झम्सिखेलस्थित प्रधान सेनापतिको सरकारी निवासमा भएको भेटमा महारथी प्रभुराम शर्मा स्वयंले यस प्रतिनिधिसँग अस्ति ११ कातिकबाट अनिवार्य निवृत भएका बलाधिकृत रथी सरोजप्रताप राणासँग तीन वटा र वरिष्ठ उपरथीद्धय ताराध्वज पाण्डे तथा अशोकराज सिग्देलसँग दुई–दुई वटा नागरिकता रहेको स्वीकार गरेका थिए । यस प्रतिनिधिसँग महारथी शर्माले एक र दुई नम्वरको रोलक्रमका उपरथीद्धय पाण्डे र सिग्देलसँग दुई–दुई वटा नागरिकता रहेको तथ्य स्वीकार गरिरहदा उनीहरुमाथि कारबाही नहुनुको दोष भने आफूभन्दा अघिका प्रधान सेनापति पूर्णचन्द्र थापाको थाप्लोमा थोपरेका थिए ।

(हेर्नुहोस्, १ साउन २०८० मै नेपालमुहारले उपरथी पाण्डे र सिग्देलद्धयको जन्ममितिमा कैफियत छ भनेर लेखेको लेख) नेपाली सेनाका उच्च अधिकारीहरुमा शैक्षिक प्रमाणपत्र र नागरिकतामा त झन् निकै ठूलो गोलमाल छ । महारथी शर्मालाई यस पक्तिकारले तपाईका ‘टुवाइसी’ का नागरिकता दुई वटा छन् नि भनेर सोध्दा ‘दुई वटा होइन हजुर, तीन वटै होला’ भनेर काठमाडौंपाटी डटकमका सम्पादक रोशन खड्कासमेतको उपस्थितिमा स्वीकार गर्नु तर कारबाही नगर्नु सामान्य विडम्बनाको विषय होइन । महारथी शर्माका टुवाइसी मात्र किन ! भावी प्रधान सेनापतिको लाइनमा रहेका ताराध्वज पाण्डे र अशोकराज सिग्देलका नागरिकता पनि ‘किर्ते’ छन् । जो गम्भीर दण्डनीय कार्य हो । तर, उनीहरु नै प्रधान सेनापति हुन खुट्टा उचालेर बसिरहेका छन् सैनिक बहसमा छुटाइएका पक्ष – (nepalmuhar.com)

रथीमा बढुवा सिफारिस नभएको भए ५७ वर्ष उमेर हदका कारण यसै पनि पाण्डे मंसिर २२ मा निवृत हुने थिए । किनभने उपरथीको उमेर अवधि ५७, रथीको ५८ र महारथीको ६१ वर्ष तोकिएको छ । यद्यपि वास्तविक नागरिकतालाई नै आधार बनाइन्थ्यो भने पाण्डे एक वर्ष नौ महिनाअघि नै निवृत भइसकेका हुने थिए । उनको नागरिकतामा कैफियत छ भन्ने जान्दा जान्दै पनि सैनिक नेतृत्वले नै जोगाएर राखेको थियो । पाण्डेकै जस्तो नागरिकताको कैफियत खोतल्ने हो भने प्रधान सेनापति शर्मा समेत सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायाधीश गोपाल पराजुलीकै शैलीमा नार्गाजुनको सितापाइला (रामकोट, जन्मथलो) जानु पर्ने हुन्छ । तथापि त्यो हिम्मत संसद, सरकारले नराख्ने निश्चित छ ।

सैनिक सेवा नियमावली, २०७६ को परिच्छेद ३ अनुसार रथी बढुवाका लागि एक साताको समय दिएर उजुरी आव्हान गरिन्छ । एक साताभित्र कुनै उजुरी परेन भने बोर्डले नाम सिफारिस गर्छ । अनि त्यो नाम रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा प्रस्ताव गरिन्छ । पाण्डेको बढुवाका लागि जंङ्गी अड्डाले रथी सीताराम खड्काको नेतृत्वमा बोर्ड गठन गरेको थियो ।

उपरथी पाण्डेलाई रथीमा बढुवा गर्न महारथी शर्माले २९ असोज, सोमबार उजुरी आव्हान गराएका थिए । आव्हान अनुसार ७ कातिकसम्ममा उजुरी दिन सकिन्थ्यो । यही अवधिमा योजनावद्ध रुपमा पाण्डेको नागरिकता र शैक्षिक प्रमाणपत्र आफू अनुकूलका केही सञ्चार माध्यममा सार्वजनिक गरियो । तथापि बोर्डमा कुनै उजुरी उजुरी परेन । उजुरी नपरे पनि साता लगत्तै रथीमा पाण्डेको नाम नै सिफारिस गरिएन । बोर्डबाट पाण्डेको नाम सिफारिस हुन नदिई महारथी शर्मा १० कातिकमा चीन उडे । उनी १७ कातिक, शुक्रबार चीनबाट फर्किए । महारथी शर्मा चीनबाट फर्किकै दिन वा १९ कात्तिक, आइतबार बोर्डले रथीमा पाण्डेको नाम सिफारिस गर्नु पर्ने थियो । यी दिनमा पनि उनको नाम सिफारिस गरिएन । किनभने पाण्डेलाई रथी हुँदै महारथी हुन नदिने षडयन्त्र जो अध्याँरा कोठाहरुमा बनिसकेका थिए ।

बरु यस अवधिमा अख्तियार र राज्य व्यवस्था तथा सुशासन समितिमा पाण्डे विरुद्ध उजुरी दिन जंङ्गी अड्डाले नेपाली सेनाका एक जना जमदारलाई नै सिभिल कपडामा परिचालन गरेको स्रोतको भनाइ छ । पाण्डे विरुद्ध यस्तो उजुरी महारथी शर्माले नै दिन लगाएको उक्त स्रोतको दाबी छ । किनभने शर्मा आफ्नो उत्तराधिकारी पाण्डेलाई होइन, अशोकराज सिग्देललाई बनाउन चाहन्थे । त्यही तारतम्यका लागि शर्माले पाण्डेविरुद्ध ‘बखेडा’ झिकेका हुन् ।

तर, सिग्देलको नागरिकतामा पनि पाण्डेको जे हो, ठ्याक्कै त्यही कैफियत छ । जंङ्गी अड्डा स्रोतका भनाइमा सिग्देलको पनि वास्तविक जन्ममिति २०२१ साल फागुन हो । तर, उनले पनि ठ्याक्कै पाण्डेकै शैलीमा प्रतिलिपि नागरिकतामा जन्ममिति २०२३ साल माघ बनाएका छन् । यति मात्र होइन, सिग्देलपछिको रोलक्रमका उपरथी निर्मलकुमार थापाको त झन् आइएको शैक्षिक प्रमाणपत्र नै नक्कली छ । जानकारका भनाइमा थापा काठमाडौंको कलेजमा पढेर बिहारबाट आइएको शैक्षिक प्रमाणपत्र लिएर उपरथीको जिम्मेवारीसम्म पुगेका पात्र हुन् ।

सेनाको प्राड विवाकमा प्रमुख उपरथी रत्नप्रकाश थापाले तीन वटा नागरिकता बनाएर पाँच वर्ष उमेर ढाँटेर जागिर खाइरहेका छन् । उनको वास्तविक जन्ममिति ०१८ भदौ १५ गते हो । तर, उनले तेस्रो नागरिकतामा आफ्नो जन्ममिति ०२३ साल भदौ २० बनाएका छन् । (हेर्नुहोस्, यो स्टोरी) नेपाली सेनाको कानून (प्राड) विवाकमा ‘भ्रष्ट’ हरुको रजगज, प्रधान सेनापति गुमराह कि रमिते ! – (nepalmuhar.com)

सेनामा जागिर लम्ब्याउन तथा प्रधान सेनापति हुन उमेर सच्याउने, भाइभन्दा दाजु कान्छो, बहिनीभन्दा दाजु कान्छो हुने रोग पुरानै हो । पूर्वप्रधान सेनापति राजेन्द्र क्षत्री, पूर्वरथी नेत्रबहादुर थापा, पूर्वप्रधान सेनापति छत्रमानसिंह गुरुङ यसका प्रतिनिधि उदाहरण हुन् । राजेन्द्र क्षत्री परिवारको माइलो छोरा भएपनि नागरिकतामा दाजु रमिन्द्र क्षत्रीभन्दा भाइ छन् भने नेत्र थापा जेठो भए पनि माइलो कमल थापा (पूर्वउपप्रधानमन्त्री) भन्दा भाइ र गुरुङ जन्मले दाजु भएपनि नागरिकतामा बहिनी कमलाभन्दा भाइ छन् ।

एक जना पूर्वरथीका अनुसार ०६२/६३ को जनआन्दोलनपछि प्रधान सेनापति नियुक्त भएकाहरु एक जना पनि यस्ता छैनन, जसको न्यूनतम दुई वर्षदेखि एक साता मात्र नै सही, जन्ममिति नसच्चाईएको होस् । नागरिकता सच्याउने, शैक्षिक प्रमाणपत्र नक्कली बनाउने खेल सेनाभित्र संगठित र योजनावद्धरुपमै हुन्छ । सैनिक उच्च स्रोतका अनुसार महारथी प्रभुराम शर्माले पनि प्रतिलिपि नागरिकता लिएका छन् । प्रतिलिपिमा उनको जन्ममिति ०२० साल छ । जबकि पहिलो नागरिकतामा उनको जन्ममिति २०१९ साल थियो । जन्ममिति सच्याएरै उनी प्रधान सेनापतिको कुर्सीमा बिराजमान छन् । यदि शक्तिको आडमा प्रमाण नष्ट गरिएको छैन भने जिल्ला प्रशासन कार्यालय काठमाडौंको ढड्डाबाट महारथी शर्माको नागरिकताको कैफियत हेर्न सकिन्छ । (हेर्नुहोस्, यो स्टोरी)

नेपालमुहार प्रतिनिधिसँग गत बैशाख ११ गते साँझ प्रधान सेनापतिको निवास झम्सिखेलमा भएको भेटमा महारथी शर्माले आफ्नो टुवाइसी (सरोजप्रताप राणा) सँग तीन वटा र उत्तराधिकारीको प्रतिस्पर्धामा रहेका ताराध्वज पाण्डे तथा अशोक सिग्देलसँग दुई वटा नागरिकता रहेको आफैंले स्वीकारेका थिए । प्रधान सेनापति प्रभुराम शर्माका दुई वर्षः आशालाई छोप्यो निराशाले – (nepalmuhar.com)

जानकारका शब्दमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधान सेनापति प्रभुराम शर्माबीच तीन वटा विषयमा आपसी समझदारी भएको छ । ती तीन विषय हुन्, पूर्वलडाकु सहायक रथी यमबहादुर अधिकारीलाई उपरथीमा बढुवा गर्ने, अशोकराज सिग्देललाई भावी प्रधान सेनापति बनाउने र निवृत भए लगत्तै प्रभुराम शर्मालाई अष्ट्रेलियाका लागि राजदूत नियुक्त गर्ने । भलै, उनीहरुका यी तीन वटै समझदारी पुग्लान/नपुग्लान ? त्यो अलग कुुरा हो । त्यही समझदारी अन्तरगत पाण्डेको जन्ममितिको कैफियत अन्तिम क्षणमा जंङ्गी अड्डाकै योजनामा सार्वजनिक गरिएको स्रोतको भनाइ छ ।

नक्कली प्रमाणपत्र, नागरिकता छानबिन ठप्प
नेपाली सेनाका उच्च अधिकृतहरुमा नागरिकता र शैक्षिक प्रमाणपत्र ‘कैफियत’ परम्परागत रोग हो । यो रोग पछिल्ला वर्षहरुमा महारोगका रुपमा विस्तार भइरहेको छ । सेनाका नक्कली नागरिकता र शैक्षिक प्रमाणपत्रलाई छानबिन गर्ने आँट केही वर्षअघि तत्कालीन रक्षा सचिव ईश्वरी पौडेलले गरेका थिए । तर, जर्नेलहरुको मिलोमतोमा पौडेललाई दिनसम्म दुःख दिईएको थियो ।

सचिव पौडेलको प्रयासलाई हालका महारथी शर्मा अघिका प्रधान सेनापति पूर्णचन्द थापाले निष्कर्षमा पुर्याउने प्रयत्न गरेका थिए । थापाले उच्च सैन्य अधिकारीहरुको नागरिकता, शैक्षिक प्रमाणपत्रको विवरण सम्परीक्षण एवं निर्क्यौल गरी प्रतिवेदन बुझाउन हालका प्रधान सेनापति तत्कालीन बलाधिकृत/बलाध्यक्ष रथी प्रभुराम शर्माको अध्यक्षतामा तत्कालीन सैनिक सचिव सहायक रथी (हाल दोस्रो वरियाताका उपरथी) निर्मलकुमार थापा, अर्का सहायक रथी यम सापकोटालगायतको बोर्ड गठन गरेका थिए । तर, शर्मा अध्यक्षताको बोर्डले समय सीमाभित्र दायित्व पूरा त गरेन नै, परिणाममुखी निर्णयमा पुग्ने गरी सवुत प्रमाण एवं तथ्य खडा नगरी झारा टार्यो ।

तत्कालीन महारथी थापाकै कदमपछि नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएका पूर्वप्रधान सेनापतिद्धय धर्मपालवरसिंह थापा र रुक्माङ्गगत कटवालका छोराहरु क्रमशः उपरथी अजितवरसिंह थापा तथा प्रमुख सेनानी सुक्माङ्गत कटवाल निवृत भएका थिए । यद्यपि थापाले पनि प्राड विवाकका उपरथी रत्नप्रकाश थापा, उपरथी पाण्डे, अशोकराज सिग्देल, निर्मलकुमार थापालगायतलाई भने धाप दिएका जानकार बताउँछन् ।

तत्कालीन प्रधान सेनापति थापाले रथी शर्माको अध्यक्षतामा बोर्ड गठन गर्दा सेनाका उच्च अधिकारीहरुको व्यक्तिगत फाइल रहने सैनिक सचिव विभागको प्रमुख तत्कालीन सहायक रथी निर्मल थापा थिए । माथि नै उल्लेख भइसक्यो, जंङ्गी अड्डा स्रोतका शब्दमा थापा काठमाडौंको कलेजमा पढेर बिहारबाट ‘प्लस टु’ को नक्कली प्रमाणपत्र लिएका उपरथी हुन् ।

तत्कालीन रथी शर्मा र यिनै थापाको मिलोमतोमा करिब दुई वर्षको अवधिमा झण्डै एक हजार उच्च सैनिक अधिकारीहरुको नागरिकता र शैक्षिक प्रमाणपत्रको सम्परीक्षण कार्यमा परिणाम देखिने गरी खास काम गर्दै गरिएन । तत्कालीन महारथी थापाले बेला बखत छानबिन कार्य के भइरहेको छ ? भनेर रथी शर्मा र सहायक रथी थापालाई सामुहिक रुपमा सोधपुछ गर्दा उनीहरुले ‘काम भइरहेको छ हजुर’ भनेर टालटुले जवाफ दिने गरेका थिए ।

किनभने अरुको किर्ते नागरिकता र प्रमाणपत्रको सम्परीक्षण खोजतलास गर्दा शर्मा र थापा आफैं कैफियतमा जाकिने भएकाले छानबिन टालटुल पारेको तत्कालीन सेनापति थापाले बुझ्नै सकेनन् । शर्मा स्वयं प्रधान सेनापति भएपछि मात्र उनको नागरिकतामा कैफियत रहेको खुलासा भयो ।

रथी बढुवाका मुखमा उपरथी पाण्डेको जन्ममिति कैफियतको खुलासा भइसकेको छ । उनी घर हिडिसकेका छन् । अब रथी बढुवाकै रोलक्रममा रहेका अशोकराज सिग्देल र निर्मलकुमार थापाको नागरिकता तथा शैक्षिक प्रमाणपत्रको किर्ते समेत सार्वजनिक गरेर उनीहरुलाई दण्डित गरिन्छ वा ‘सेटिङ’ मिलाएर महारथी र बलाधिकृत रथी बनाइन्छ, प्रतिक्षाको घडीले सेकेण्ड/सेकेण्ड गणना गरिरहेको छ ।

तस्विरः https://www.nepalarmy.mil.np/

Leave a Reply

Your email address will not be published. Required fields are marked *