प्रधान सेनापतिका दाबेदार उपरथी अशोक सिग्देलविरुद्ध पनि अख्तियारमा उजुरी


नेपाली सेनाका उपरथी अशोकराज सिग्देलको जन्ममिति ‘कैफियत’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । २९ असोजमा रथी बढुवा सिफारिस भएका अर्का उपरथी ताराध्वज पाण्डे जन्ममिति कैफियतकै कारण राजीनामा दिएर घर हिडेपछि सिग्देल प्रधान सेनापतिको दाबेदार छन् ।

खासमा अख्तियारमा परेको उजुरीकै आधारमा जन्ममिति कैफियत प्रमाणित भएपछि प्रधान सेनापति हुने निश्चित भएका उपरथी पाण्डे राजीनामा दिएर घर हिड्न बाध्य भएका थिए । जब कि त्यस अघि महारथी प्रभुराम शर्माले पाण्डेको उमेरमा कैफियत नभएको भन्दै विज्ञप्ति प्रकाशित गराएर सफेद झुट बोलेका थिए ।

‘शैक्षिक प्रमाणपत्र र नागरिकताको उमेर छानबिन गरी कारबाही गरिपाउँ’ भन्दै हिजो ४ मंसिरमा सिग्देल विरुद्ध अख्तियारमा उजुरी परेको स्रोतले नेपालमुहारलाई बताएको छ । सिग्देल विरुद्ध परेको उजुरीको दर्ता नं. सि–०२९५६३ हो । ‘सेनाको भलो चिताउने देशभक्त नेपालीहरु’ का तर्फबाट सिग्देल विरुद्ध बेनामे उजुरी परेको नेपालमुहारलाई प्राप्त उजुरीपत्रमा देखिन्छ ।

सिग्देल विरुद्ध लेखिएको उजुरीमा उल्लेख छ, ‘शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति १९ माघ २०२१ रहेको छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याउँदै गएका मात्रै छैनन्, उनी भविष्यमा सैनिक प्रमुख हुने लाइनमा छन् ।’

सेनाको सुपिङ क्याम्पसबाट जारी सिग्देलको प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाण अनुसार ०४१/०४२ मानविकी समूह (पाँचौं) ब्याचमा उनको रोल नं. १६ हो । जस अनुसार त्रिभुवन विश्वविद्यालयको दर्ता नम्वर ७०८–८४ अनुसार सिग्देलको वास्तविक प्रमाणपत्रमा जन्ममिति १९ माघ २०२१ कायम छ ।

उपरथी सिग्देलले जन्ममिति सच्याएको प्रमाणपत्र तह (आइए) को प्रमाणपत्र

तर, १७ असोज ०७६ को मन्त्रिपरिषद्ले उपरथीमा बढुवा गर्नु अघि सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति १९ माघ २०२३ बनाएर सच्याएका स्रोतको दाबी छ । त्यसबेला विश्वविद्यालयको कानून समितिको बैठक नै राखेर सिग्देलले जन्ममिति सच्याएका उक्त स्रोत बताउँछ । स्रोतका अनुसार निकै ठूलो दबाब र प्रभावमा सिग्देलले शैक्षिक प्रमाणपत्रमा जन्ममिति सच्याएका थिए ।

जानकारका शब्दमा शैक्षिक प्रमाणपत्रमा सिग्देलले जन्ममिति सच्याउँदा निकै ठूलो चलाखी गरेका छन् । त्यो चलाखी के भने जन्ममिति सच्याएको मिति १२ भदौ २०४३ नै राखेका छन् । अर्थात ०७६ असोजमा उपरथी बढुवा हुनु अघि मात्र जन्ममिति सच्चाएको भएपनि मिति पुरानो राखेका छन् । जन्ममिति सच्याएको नयाँ मिति राखेका छैनन् ।

सिग्देलको यही चलाखी, बठ्याई एवं धुर्तताका कारण उनले शैक्षिक प्रमाणपत्रमा जन्ममिति सच्याएको राजीनामा दिएर हिडेका पाण्डेको जसरी सहजै ठम्याउन कठिन छ । तर, जानकारका अनुसार पुरानो मिति राखेर पछि जन्ममिति सच्याउनु झन् ठूलो अक्षम्य ‘अपराध’ हो । सिग्देलले शैक्षिक प्रमाणपत्रमा पुरानै मिति राखेर उपरथीमा बढुवा हुने बेलामा मात्र जन्ममिति सच्याएको तथ्य ‘सेटिङ, दबाब, प्रभाव’ नगरी/नपरी विधि विज्ञान प्रयोगशालाबाट परीक्षण गरे मात्र पुष्टि हुने स्रोतको भनाइ छ ।

यद्यपि सिग्देलले जन्ममिति सच्याएको शैक्षिक योग्यताको प्रमाणपत्र विधि विज्ञान प्रयोगशालाबाट परीक्षण गर्ने संभावना एकदमै न्यून छ । किनभने जन्ममिति ठ्याक्कै पाण्डेकै जस्तो कैफियत भएपनि आश्चर्य भएन भने मिलेमतो (सेटिङ), दबाब, प्रभावमा सिग्देललाई नै प्रधान सेनापति बनाउने जंङ्गी अड्डा र सरकारको गुरुयोजना छ । त्यसैले जन्ममिति कैफियतमा ‘सेटिङ’ मै उन्मुक्ति दिलाएर सिग्देललाई नै प्रधान सेनापति बनाउने तारतम्य बनिरहेको जंङ्गी अड्डा स्रोत नेपालमुहारलाई बताउँछ ।

तस्विरः जङ्गी अड्डाको अर्काइभ, १८ असोज ०७६ मा सिग्देललाई उपरथीको दर्ज्यानी चिन्ह लगाईदिँदै तत्कालीन प्रधान सेनापति पूर्णचन्द्र थापा

नागरिकता र शैक्षिक प्रमाणपत्रमा सेनाभित्र दुर्दशा, सरकार, संसद र नागरिक निगरानीमा आएन सेना ! – (nepalmuhar.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *