Nepalmuhar Full version →
खेलकुद

एसियन गेम्स क्रिकेटः ओमानलाई हराउँदै नेपाल फाइनलमा

Nepalmuhar June 7, 2026
नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे
सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९।२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको छ । 

नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे । रोहित पौडेल २१ रनमा अविजित रहे । त्यसअघि कुशल भुर्तेलले २० अनि आसिफ शेखले १ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो । ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए । जुबेर अली अकबरले २२ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछानेले २(२ विकेट लिए । शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १(१ विकेट लिए । नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ । हङकङ र मलेसियाबीच दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ ।

नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।
नेपाल एसियन गेम्स क्रिकेट