नयाँ बसपार्कबाट पूर्वका विभिन्न स्थानमा चल्ने ८१ सार्वजनिक सवारीसाधनमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान
काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान गरिएको छ । साथै बसको टिकट पनि अनलाइनमार्फत काट्न सकिने व्यवस्था गरिएको हो ।
सरकारले सबै सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान गर्ने तयारी गरिरहेसँगै पूर्वयातायात व्यवस्थापन प्रालिले भने काठमाडौँको नयाँ बसपार्कबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारीसाधनमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान गरेको हो ।
पूर्वयातायात व्यवस्थापन प्रालिका अध्यक्ष रजन रोक्काले नयाँ बसपार्कबाट पूर्वका विभिन्न स्थानमा चल्ने ८१ सार्वजनिक सवारीसाधनमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान गरिएको जानकारी दिए। काठमाडौँ(पूर्व सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई विसं २०८० साउनदेखि एउटै कम्पनीमा आबद्ध गराएर सञ्चालन गरिँदै आइएको छ ।
उक्त कम्पनीमार्फत हाल तेह्रथुम, ताप्लेजुङ, खाँदबारी, काकँडभिट्टा, भद्रपुर, धरान, विराटनगर, मधुमल्ला, गौरीगञ्ज, बनियानी, गाईघाट, इलाम, पशुपतिनगर कटारी, जनकपुर, राजविराज, विरगञ्जलगायत स्थानमा सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।
कम्पनीका सञ्चालक राजेन्द्रबहादुर थापाले सरकारले अगाडि सारेको कार्ययोजनालाई पूर्व यातायात व्यवस्थापन प्रालिले कार्यान्वयनमा ल्याएको बताए । उनले अब यथाशीघ्र आफ्नो कम्पनीको बसमा ‘लगेज ट्याग’ लागू गरिने जानकारी दिए । उनका अनुसार पूर्व क्षेत्रमा जाने यात्रुको सहजताका लागि प्रालिले ‘अनलाइन टिकट’ प्रणालीसमेत लागू गरिसकेको छ ।