Nepalmuhar Full version →
समसामयिक

चितवनकी एउटी आमाको सफल संघर्षः छोराबुहारी सबै सरकारी सेवामा

Nepalmuhar May 27, 2026
सबै सन्तानले विद्यालय तहको शिक्षा तनहुँ, ऋषिङमा नै पूरा गरेपछि परिवार २०६१ सालमा चितवन बसाइँ सरेर भरतपुर महानगरपालिका –१२, बसन्तचोकमा सरे
परिवारका सदस्यमध्ये एक–दुईजना सरकारी सेवामा पुग्दा परिवार नै गौरव गर्न लायक हुन्छ । तर भरतपुरका एक जना आमाका पाँच जना सन्तान सरकारी सेवामा आबद्ध छन् । आमाको संघर्षपूर्ण जीवनले सफलता पाउँदा छोरा(बुहारीहरु र छोरिज्वाई समेत सरकारी उच्च ओहदामा पुग्न सफल भएका हुन् । एक संघर्षशील आमाको अथक मेहनत, त्याग र अठोटले सन्तानहरुले सफलता प्राप्त गरेका छन् । 

तनहुँको भिमाद नगरपालिका, किहुमा विसं २०११ फागुन ७ गते जन्मिनु भएकी सीता पोखरेललाई जीवनमा धेरै दुःख, संघर्ष र अभाव भोग्नु पर्यो । तनहुँकै ऋषिङ ५, राम्जाकोट्मा १४ वर्षको उमेरमा आफूभन्दा चार वर्ष जेठा भिमलाल पोखरेलसँग विवाह गरेकी उनले वैवाहिक जीवनको तीन वर्षपछि पहिलो सन्तान जन्माइन । त्यसपछि चार छोरा र दुई छोरी गरी छ सन्तानको पालनपोषणको जिम्मेवारी उनको काँधमा आइलाग्यो ।

उनलाई श्रीमानले राम्रो साथ दिनुभएकाले छोराछोरी हुर्काउन पढाउन सहज भएको उनको बुझाइ छ । श्रीमान् दीर्घरोगी भएको कारण धेरै कामको जिम्मेवारी आफैले गर्नु परेको उनले सुनाइन । पहाडको कठिन जीवनशैली, पशुपालन, खेतीपाती, अदुवा, मकै खेती यिनै श्रम र पसिनाको कमाइबाट उनले सन्तानको शिक्षाको खर्च जुटाइन । “आफू धेरै पढ्न नपाए पनि छोराछोरीलाई पढाएर सक्षम बनाउने सपना थियो, आज सबै जना पढेका छन” सीता सम्झिन्छिन् ।

सबै सन्तानले विद्यालय तहको शिक्षा तनहुँ, ऋषिङमा नै पूरा गरेपछि परिवार २०६१ सालमा चितवन बसाइँ सरेर भरतपुर महानगरपालिका –१२, बसन्तचोकमा सरेको उनले बताइन । बसाइँ सरे पनि जीवनको संघर्ष त्यतिमै सीमित रहेन उनको । दम रोगबाट पीडित श्रीमान् भिमलाललाई चितवन आएको केही वर्षमै उनले गुमाउनु पर्यो । त्यसपछि घरको सम्पूर्ण जिम्मेवारी सीतामाथि आइलाग्यो । 

“मैले गरेका संघर्ष अहिले सम्झँदा सपनाजस्तै लाग्छ” उनी भन्छिन् “सन्तानको पालनपोषण, शिक्षा, विवाह र आफ्नै खुट्टामा उभिनेगरी सक्षम बनाउनु सजिलो थिएन । आज सबैजना आफ्नो क्षेत्रमा सफल हुँदा मनमा सन्तुष्टि मिलेको छ । ती सारा दुःखलाई सन्तानले गरेको सफलताले विर्साइदिएको छ ।”

सीताका जेठा छोरा शिवराज पोखरेल अहिले विद्यालय निरीक्षक र शाखा अधिकृतका रूपमा सिंहदरबारमा कार्यरत छन् । जेठी बुहारी शर्मिला पोख्रेल लेखा अधिकृत छिन् । दोस्रो छोरा पूर्णचन्द्र पोखरेल उच्च शिक्षा अध्ययनकै क्रममा नायब सुब्बामा नाम निकालेका भएको थियो तर पछि शिक्षण पेशाप्रति रुचि बढेपछि माध्यमिक तहको शिक्षक बनेर हाल बर्दियाको ढोडेरी माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीमा छन् । माइली बुहारी प्रतिमा पोख्रेल पनि मावि शिक्षक छिन् ।  

तेस्रो छोरा सुरथ पोखरेल प्रशासन सेवातर्फको उपसचिव पदमा सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत छन् । साहिली बुहारी विना पोख्रेल सांस्कृतिक संस्थानमा प्रशासन सहायक पाचौं तहमा कार्यरत छिन् । चौथो छोरा डोलराज पोखरेल र बुहारी शोभा पोख्रेल पेशागत सिलसिलामा अमेरिकामा बसोबास गर्दै आएका छन् । 

पाँचौँ सन्तान पहिलो छोरी भागीरथी पोखरेल चितवनको बालकुमारी माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका छन् भने ज्वाईं विश्वराज पौडेल पनि चितवनमै मावीमा पढाउछन्। छोरी भागीरथी पनि आफ्नो सफलताको श्रेय आमालाई दिन्छिन । “आमाको संघर्ष र हौसलाले नै यडहाँसम्म पुग्न सकेकी हुँ” उनले भनिन । 

पाचौं छोरा एवं छैटौँ सन्तान कृष्णचन्द्र पोखरेल पनि उपसचिव पदमा शिक्षा मन्त्रालयमा कार्यरत छन् । कान्छी बुहारी उन्न्ती पोख्रेल मावि स्थायी शिक्षकको रुपमा कार्यरत छिन् । सातौ सन्तान एवं कान्छी छोरी विष्णु पोखरेल र ज्वाइ दिपेन्द्र आचार्य उच्च शिक्षापछि अमेरिकामा बस्दै आएका छन । यसरी उनका सातै जना सन्तान आ–आफ्नो जिम्मेवारी र पेशागत यात्रामा व्यस्त रहेका छन् । अझ यी सातं सन्तानबाट जन्मिएका १५ जना नातिनातिनाहरुमध्ये जेठो नाति सन्देश पोख्रेल समेत जनस्वास्थ्य कार्यालय पर्वतमा अधिकृतको रुपमा सेवा सुरु गरेका छन् ।   

यसरी उनका सातै जना सन्तान आ–आफ्नो जिम्मेवारी र पेशागत यात्रामा व्यस्त रहेका छन् । आफ्ना सन्तान कोहि काठमाडौमा, कोही जिल्ला बाहिर त कोही विदेशमा तर सीता पोखरेल भने भरतपुरस्थित आफ्नै पुर्ख्यौली घरमा बस्दै आएकी छन् । “सबै छोरा बुहारीले सँगै बस्न आग्रह गर्छन्” उनी मुस्कुराउँदै भन्छिन्, “छोरीहरू विवाह गरेर घर गइसके, छोराहरू जागीरको जिम्मेवारीमा बाहिर छन् । तर श्रीमानले बनाएको त्यो घर, परिवेश छाडेर कतै जान मन लाग्दैन मलाई । यो घरको भित्ता र अनि यो घरका हरेक इटामा श्रीमानको माया र सम्झना आउँछ, त्यसैले केही दिन अन्त वसे पनि यही आउन मन लाग्छ ।”

दुई पटक छोरीको निमन्त्रणामा आफू अमेरिका पुगे पनि उनलाई आफ्नै देश, आफ्नै गाउँ र आफ्नै माटोभन्दा प्यारो केही लागेन । “काठमाडौं आएर बस्न छोराहरूले धेरै कर गर्छन्” उनले भन्छिन् “तर मलाई भरतपुर नै प्यारो लाग्छ ।” एउटा आमाको संघर्ष त्याग, धैर्य, पारिवारिक समर्पणले सन्तानको भविष्य बदल्न सकिन्छ भन्ने सीता पोखरेल एक उहाहरण र प्रेरणाको स्रोत बनेकी स्थानीयको बुझाइ छ। 

शालिग्राम नेपाल गोरखापत्र
आमा सफल संघर्ष