Nepalmuhar Full version →
राजनीति

जातीय विभेद्को बढ्दो त्रासदी

Nepalmuhar June 1, 2026
जातीय विभेदको अन्त्य संविधान लेखेर मात्र हुँदैन्, समाजले प्रेमलाई अपराध होइन, अधिकारका रूपमा स्वीकारेपछि मात्रै सम्भव हुन्छ
सिन्धुलीका श्रीकृष्ण विकको हिरासतभित्र भएको मृत्युले सडक, सदन, सञ्चारमाध्यम र सामाजिक सञ्जालसम्म गम्भीर बहस जन्माएको छ । आफूले मन पराएकी कथित उच्च जातकी युवतीसँग अन्तरजातीय विवाह गरेपछि उनीमाथि युवती पक्षले उमेर नपुगेको आधार देखाउँदै बालविवाह र बलात्कारसम्बन्धी मुद्दा दर्ता गरायो । त्यसपछि प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरी खुर्कोट प्रहरी चौकी पु¥यायो । जहाँ हिरासतमै उनको मृत्यु भयो । 

प्रहरीले घटनालाई आत्महत्या भने पनि परिवार, स्थानीयवासी र अधिकारकर्मीहरूले प्रहरी यातना वा योजनाबद्ध हत्याको आशङ्का व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरिरहेका छन् । घटनापछि व्यापक विरोध र प्रश्न उठे पनि अहिलेसम्म न उच्चस्तरीय छानबिन समिति गठन भएको छ, न अनुसन्धान प्रक्रियाले स्पष्ट दिशा लिएको देखिन्छ । 

यसले राज्य संयन्त्रको संवेदनशीलता, प्रहरी प्रशासनको जवाफदेहिता र न्याय प्रणालीप्रतिको विश्वासमाथि गम्भीर प्रश्न खडा गरेको छ । श्रीकृष्ण विकको मृत्यु केवल एक व्यक्तिको मृत्यु होइन, यसले सिङ्गो प्रेम र अन्तरजातीय विवाहप्रति समाजमा रहेको विभेद्कारी दृष्टिकोण, दलित समुदायमाथिको संरचनात्मक हिंसा र कानुनी प्रक्रियाको सम्भावित दुरुपयोगलाई उजागर गरेको छ ।

नेपालमा पछिल्ला वर्षहरूमा अन्तरजातीय प्रेम र विवाह, विशेषगरी दलित–गैरदलित सम्बन्ध–सामाजिक तनाव र कानुनी विवादको विषय बन्दै गएको छ । जात नमिलेपछि सम्बन्धलाई बलात्कारको मुद्दामा रूपान्तरण गर्ने, उमेर नपुगेको आधारमा बालविवाहको अभियोग लगाउने र सहमतिमा भएको सम्बन्धलाई समेत अपराधीकरण गर्ने प्रवृत्ति बढ्दो छ । परिवार र समाजले सम्बन्ध स्वीकार नगर्दा कानुनी आरोपलाई सम्बन्ध तोड्ने औजारका रूपमा प्रयोग गरिएका अनेक उदाहरण छन् । 

रुकुम पश्चिम सोती हत्या घटनामा नवराज विकसहित छ जना युवाको हत्या अन्तरजातीय प्रेमकै कारण थियो । सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारको घटनामा उमेर पुगेपछि गरिएको प्रेमविवाहलाई समेत परिवार र प्रशासनिक प्रभाव प्रयोग गरेर अपराधीकरण गरियो । युवतीको उमेर कम देखाउने फर्जी जन्मदर्ता तयार गरी अपहरण, बलात्कार र बालविवाहका मुद्दा दर्ता गरिएपछि सत्येन्द्रलाई भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।

यस्तै, सप्तरीको मनोज राम र बबिता इसरको घटनामा पनि जातीय पृष्ठभूमि र उमेरलाई आधार बनाएर सम्बन्ध तोड्ने प्रयास भएको थियो । सप्तरीकै ज्योति पासवान बाहुन युवकसँग प्रेमविवाह गर्दा जातकै कारण परिवारले नस्वीकार्दा आत्महत्या गरिन । सिरहाकी रिङ्कु सदा, रौतहटका विजयराम महरा, धनुषाका शम्भु सदा र पल्टु रविदास जस्ता घटनाहरू जातीय विभेद, सामाजिक पूर्वाग्रह र प्रशासनिक कमजोरीको कठोर वास्तविकता उजागर गरेका छन् ।

मधेसका सिरहा, सप्तरी, धनुषा र रौतहटलगायत जिल्लामा दलित युवकले कथित गैरदलित युवतीसँग भागी विवाह गर्दा अपहरण, बलात्कार, बालविवाह र ज्यान मार्ने उद्योगजस्ता मुद्दा दर्ता गराउने प्रवृत्ति बढेको छ । धेरै घटनामा युवतीको सहमतिपूर्ण सम्बन्धलाई समेत परिवार र समाजको जातीय दबाबका कारण अपराधीकरण गरिएको छ । यसरी दलित युवाले प्रेम गरेकै कारण किन बारम्बार हिंसा, पक्राउ र मृत्युको सामना गर्नुपरेको छ ?

पछिल्ला वर्षहरूमा हिरासतभित्र मृत्यु भएका धेरै व्यक्तिहरू आदिवासी जनजाति, दलित तथा अन्य सीमान्तकृत समुदायकै छन् । इन्सेकको प्रतिवेदन अनुसार एक वर्षमा ८८ जनाको प्रहरी हिरासतमा मृत्यु हुने गरेको छ । यसमा ५२ प्रतिशत दलित सिमान्तकृत समुदायकै हुन्छन्, जसमध्ये प्रहरी प्रतिवेदनले ५६ प्रतिशत आत्महत्या भनिएको छ । यसरी धेरै घटनालाई आत्महत्या भन्दै निष्कर्ष निकाल्ने प्रवृत्तिले राज्यप्रतिको अविश्वास झन् गहिरो बनाएको छ । 

दलित महिला सङ्घका अनुसार अन्तरजातीय विवाह गरेका ३१।७ प्रतिशत जोडीले विभिन्न कानुनी तथा सामाजिक प्रताडना भोग्नुपरेको छ । विशेषगरी दलित पुरुष–गैरदलित महिला सम्बन्धमा अपहरण, बलात्कार र बालविवाहका उजुरी दर्ता गरिने प्रवृत्ति बढी देखिएको उल्लेख छ । अन्तरजातीय प्रेमलाई अझै पनि नेपाली समाजका धेरै हिस्साले व्यक्तिगत अधिकारका रूपमा स्वीकार गर्न सकेका छैनन् । 

दलित युवाले गैरदलित युवतीसँग प्रेम गर्दा कानुनी मुद्दा, सामाजिक आक्रमण र हिरासतको जोखिम झेल्नुपर्छ भने दलित युवतीहरूले बहिष्कार, अपमान र मानसिक हिंसा सहनुपरेको छ । राज्यले एकातिर अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति ल्याउँछ, अर्कोतर्फ त्यही कारण हिंसामा परेकाहरूलाई न्याय दिन भने असफल देखिन्छ ।

नेपालको संविधानले समानता, स्वतन्त्रता र विभेदविरुद्धको अधिकार सुनिश्चित गरेको छ । कानुनले अन्तरजातीय विवाहलाई वैध मानेको छ । तर व्यवहारमा समाज अझै पनि जात, वर्ग, पितृसत्ता र परिवारको इज्जत भन्ने पुरानो मानसिकताबाट मुक्त हुन सकेको छैन । महिलाको स्वतन्त्र निर्णयलाई परिवारको नियन्त्रणभन्दा बाहिर स्वीकार गर्न नसक्ने सोचले प्रेम सम्बन्धलाई सामाजिक अपराधजस्तो बनाइदिएको छ ।

नेपालमा विवाहका लागि महिला र पुरुष दुवैको न्यूनतम उमेर २० वर्ष तोकिएको छ । बालविवाह रोक्न यो कानुनी व्यवस्था आवश्यक भए पनि कतिपय अवस्थामा यही कानुन प्रेम सम्बन्ध तोड्ने औजारका रूपमा प्रयोग भइरहेको छ । विशेषगरी अन्तरजातीय सम्बन्धमा युवतीका परिवारले नाबालिगको आधार देखाएर युवकविरुद्ध बलात्कार वा बालविवाहको उजुरी दिने क्रम बढेको छ । सहमतिमा भएको सम्बन्धलाई सामाजिक दबाबका कारण जबर्जस्ती करणीको रूपमा व्याख्या गरिँदा कानुनको मूल उद्देश्य नै कमजोर बन्दै गएको छ ।

युनिसेफ र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को २०२४ को अध्ययनअनुसार नेपालमा करिब ५० लाख महिलाले बालविवाहको अनुभव गरिसकेका छन् भने १३ लाखभन्दा बढी बालिका १५ वर्षअघि नै विवाहमा बाँधिएका छन् । नेपाल विश्वमै बालविवाहको उच्च दर भएका देशमध्ये पर्छ । 

अध्ययनहरूले ३३ प्रतिशत बालिका र ९ प्रतिशत बालक १८ वर्ष नपुग्दै विवाह गर्ने गरेको देखाएका छन् । कोभिड महामारीपछि बालविवाहको दर अझ बढेको तथ्याङ्क पनि सार्वजनिक भएका छन् । तर विडम्बना के छ भने वास्तविक बालविवाहका घटनामा राज्य संयन्त्र कमजोर देखिन्छ । जबकि अन्तरजातीय सम्बन्धका घटनामा कानुनको प्रयोग अस्वाभाविक रूपमा तीव्र हुने गरेको आरोप बढ्दो छ । 

अर्कोतर्फ, नेपालमा यौन हिंसाका वास्तविक घटना पनि गम्भीर सामाजिक सङ्कटका रूपमा रहेका छन् । आर्थिक वर्ष २०७५÷७६ देखि पाँच वर्षको अवधिमा ११ हजार सात सयभन्दा बढी बलात्कारका घटना दर्ता भएका थिए । औसतमा दैनिक सातभन्दा बढी महिला बलात्कारको सिकार भएका छन् । १० वर्षमुनिका सयौं बालिकासमेत पीडित रहेको तथ्यांकले अवस्था झन् भयावह देखाउँछ । 

त्यसैले वास्तविक बलात्कार र जबर्जस्ती करणीका घटनालाई कमजोर बनाउने गरी संवेदनशील कानुनको दुरुपयोग हुनु झन् खतरनाक पक्ष हो । नेपालको ग्रामीण समाजमा अझै पनि जातीय शुद्धताको सोच बलियो छ । दलित युवकले कथित उच्च जातकी युवतीसँग विवाह गर्दा परिवारको सामाजिक प्रतिष्ठा गुम्ने भयले हिंसा, धम्की र झुटा मुद्दासम्मको सहारा लिने प्रवृत्ति देखिन्छ । 

कतिपय घटनामा युवतीलाई घरमै नजरबन्द गर्ने, युवकलाई कुटपिट गर्ने, गाउँनिकाला गर्ने वा प्रहरी प्रशासन प्रयोग गरेर सम्बन्ध छुट्याउने प्रयास गरिन्छ । अझ गम्भीर पक्ष के छ भने यस्ता घटनाको छानबिन गर्ने संयन्त्रहरूमा पनि प्रभावशाली पक्षकै दबाब देखिने गरेको आरोप बारम्बार उठ्ने गरेको छ । यद्यपि, वास्तविक बालविवाह र जबर्जस्ती करणीका घटनालाई कम आँक्न मिल्दैन । 

गरिबी, अशिक्षा, लैंगिक विभेद, दाइजो प्रथा र सामाजिक असुरक्षाले बालविवाहलाई अझै बढावा दिइरहेका छन् । किशोरी गर्भावस्था पनि ठूलो चुनौती बनेको छ । अध्ययनअनुसार कर्णाली प्रदेशमा किशोरी गर्भावस्था २१ प्रतिशतसम्म पुगेको छ । त्यसैले समाधान कानुनको दुरुपयोगमा होइन्, न्यायपूर्ण कार्यान्वयन र सामाजिक चेतनाको विकासमा खोजिनुपर्छ ।

सहमतिमा रहेका वयस्कबीचको सम्बन्धलाई जातका आधारमा अपराधीकरण गर्नु मानव अधिकारविरुद्धको अभ्यास हो । कानुनले वास्तविक हिंसा र जबर्जस्तीलाई दण्डित गर्नुपर्छ, प्रेमलाई होइन । प्रहरी प्रशासनले सामाजिक दबाबभन्दा प्रमाण, सहमति र संवैधानिक अधिकारका आधारमा अनुसन्धान गर्ने संस्कार विकास गर्न आवश्यक छ । 

राज्यले अन्तरजातीय विवाहलाई केवल प्रोत्साहन कार्यक्रमको रूपमा होइन, सामाजिक न्याय र समानताको प्रश्नका रूपमा हेर्नुपर्छ । आज नेपालमा प्रश्न केवल प्रेमको होइन, नागरिक स्वतन्त्रता, जात व्यवस्था र कानुनी न्यायको पनि हो । यदि एक जना युवाले आफ्नो जीवनसाथी रोज्ने अधिकार प्रयोग गर्दा जातका कारण बलात्कार वा बालविवाहको अभियोग भोग्नुपर्छ भने त्यो लोकतान्त्रिक समाजको गम्भीर असफलता हो । 

जातीय विभेदको अन्त्य संविधान लेखेर मात्र हुँदैन्, समाजले प्रेमलाई अपराध होइन, अधिकारका रूपमा स्वीकारेपछि मात्रै सम्भव हुन्छ । र, यसलाई राज्यले एउटा अभियानकै रुपमा अगाडि बढाउनुपर्छ । जसले मात्र विभेद रहित समाजिक एकरुपता सहितको मानवीय समाजको स्थापना गर्न सकिन्छ । जो आजको युगको आवश्यकता हो ।
राजेश विद्रोही/रासस

जातीय विभेद् त्रासदी