Nepalmuhar Full version →
खेलकुद

पूर्वी पृतनामा ‘पृतनापति ट्रफी' २०८३ सुरु

Nepalmuhar June 2, 2026
उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गर्दै खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदमा स्थापित गर्ने लक्ष्य
नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुँदैआएको यस वर्षको पृतनापति ट्रफी  प्रतियोगिता हिजो सोमबारदेखि सुरु भएको छ । 

पूर्वी पृतना मुख्यालय इटहरीमा सुरु भएको प्रतियोगिता फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो, तेक्वान्दो र एथलेटिक्स गरी आठ खेल विधा समावेश गरिएका छन् ।

यही जेठ ३१ गते सम्म हुने प्रतियोगितामा ८२० जना पुरुष र १७६ जना महिला खेलाडीको सहभागिता रहेको छ । पूर्वी पृतना हेडक्वाटरअन्तर्गतका तीन बाहिनी १० गण तथा चार वटा गुल्मका सैनिक खेलाडी प्रतियोगितामा सहभागी भएका छन् । 

उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गर्दै खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदमा स्थापित गर्न नेपाली सेनाले विसं २०६५ देखि प्रधान सेनापति ट्रफी सञ्चालन गर्दै आइरहेको छ । 

प्रधान सेनापति ट्रफी २०८३ मा पूर्वी पृतनाबाट राम्रो नतिजा ल्याउन तथा राष्ट्रिय र अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले पृतनापति ट्रफी प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

प्रतियोगिताका उत्कृष्ट टोली तथा खेलाडीले आगामी भदौमा काठमाडौँमा आयोजना हुने प्रधान सेनापति ट्रफीमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने पूर्वी पृतनाले जनाएको छ ।

प्रतियोगीता समारोहलाई सम्बोधन गर्दै सेनाका पूर्वी पृतनापति गौरवकुमार केसीले केन्द्रीयस्तरको प्रधान सेनापति ट्रफीका लागि छनोट तथा आधारस्तम्भका रूपमा रहेको यस प्रतियोगिताले सैनिक खेलाडीलाई आफ्नो खेल, कौशल र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताए ।

उनले प्रतियोगितामा हासिल हुने सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही सम्बन्धित युनिट तथा समग्र पृतनाको प्रतिष्ठा गौरव र गरिमासँग जोडिएको उल्लेख गरे ।

पृतनापति केसीले खेललाई सामूहिक भावना, आपसी सहयोग, अनुशासन र सहनशीलता अझ महत्वपूर्ण पक्ष भएको बताए । 
पूर्वी पृतना पृतनापति ट्रफी