STP News Full version →
समसामयिक

सडक असहजः सेवाग्राहीलाई समस्या

Nepalmuhar May 25, 2026

जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने सडक असहज हुँदा सेवाग्राहीलाई असुविधा पुगेको छ । 

कालीगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला_ सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा साबिकको सडकलाई ग्रेड डाउन गरिदिएपछि प्रदेश अस्पताल आवतजावत गर्न कठिनाइ भएको हो । 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले सडक अवरोधका कारण एम्बुलेन्स तथा अन्य हलुका सवारीसाधन सञ्चालन हुन नसकेको जानकारी दिए । अस्पताल जोड्ने सडकको तीन वटा विकल्प प्रस्तुत गरिएको भए पनि हालसम्म समाधान निस्कन सकेको छैन ।

पहिलो विकल्प मुख्य राजमार्ग सडक उकासेर अस्पताल सडक सहज बनाउने, दोस्रो विकल्प आयोजनाको योजनाअनुसार व्यक्तिको घर अगाडिबाट अस्पतालको सडक लैजाने र तेस्रो विकल्प हाल प्रयोग भइरहेको सडकलाई फराकिलो बनाएर सडक सहज बनाउने विकल्प प्रस्तुत गरिएका थिए । 

सडक सञ्चालन गर्ने तीन विकल्पमध्ये कुनै पनि विकल्प कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश अस्पताल जाने सडकको विषयमा स्थानीय प्रशासन, गाउँपालिका र अस्पताल व्यवस्थापन समितिलगायत सरोकारवालाहरुको पटक÷पटक वार्ता र संवाद भए पनि कुनै सहमति हुन नसकेको प्रदेश अस्पतालले जनाएको छ ।
जोमसोम प्रदेश अस्पताल