परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीको अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारलाई ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ । संस्थाको निर्वाचन नियमावली संशोधन गरेर उम्मेदवार शुल्क बढाइएको हो । केन्द्रीय पदाधिकारीमा प्रतिस्पर्धा गर्नका लागि ३५ हजार रुपैयाँ तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
जनकपुरका विनोदकुमार शर्मा नेतृत्वको तदर्थ समितिले विधान र निर्वाचन नियमावली संशोधन गरेको छ । संशोधित विधान अनुसार केन्द्र, प्रदेश, जिल्ला, पालिका र उपशाखा गरी पाँच तहमा संस्थाको संरचना हुनेछ । जसमा केन्द्रीय समितिमा १९ सदस्यीय हुनेछ । त्यसमध्ये पाँच जना पदाधिकारी हुने छन् । केन्द्रीय समिति यसअघि ३३ सदस्यीय थियो ।
पटक पटक केन्द्रीय महाधिवेशनको मिति तय गरेर पनि राजनीतिक र निजी स्वार्थले स्थगित हुँदै आएको थियो । अहिले शर्मा नेतृत्वको समितिले सबै तहका उम्मेदवारका लागि शुल्क निर्धारण गरेर निर्वाचन नियमावली संशोधन गरेको छ । महामन्त्री मीनबहादुर मल्लका अनुसार असारको मध्यतिर केन्द्रीय महाधिवेशन गर्ने तयारी भइरहेको छ ।
प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्ने उम्मेदवारका लागि २५ हजार, अन्य पदाधिकारीलाई २० हजार, प्रदेश समिति सदस्यको उम्मेदवारलाई ७ हजार तोकिएको छ । जिल्ला सभापतिको उम्मेदवार हुनका लागि १५ हजार, अन्य पदाधिकारीलाई १० हजार र जिल्ला समिति सदस्यलाई ५ हजार रुपैयाँ तोकिएको छ । पालिका शाखाका निर्वाचित हुनका लागि उम्मेदवार बन्नेले सभापतिका लागि ५ हजार, अन्य पदाधिकारीलाई ४ हजार र सदस्यलाई ३ हजार तोकिएको छ ।
२०७५ सालदेखि रेडक्रस सोसाइटी तदर्थ समितिमा सञ्चालित छ । २०७१ बैशाखको भूकम्पबाट रेडक्रस अर्बौ अनियमितताको अखडा बनेको छ । रेडक्रस त्यसअघि देखि नै नेपाल रेडक्रसलाई राजनीतिक अखडा समेत बनाइएको छ ।