Nepalmuhar Full version →
राजनीति

नगरप्रमुखमाथि वडाध्यक्षको नेतृत्वमा आक्रमण प्रयास

Nepalmuhar October 31, 2025
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहमाथि हिजो बिहीबार साँझ आक्रमणको प्रयास भएको छ । पूर्वपश्चिम राजमार्गस्थित लालबन्दीमा रहेको अधिकृत साह बस्दैआएको कोठा ९क्वार्टर० मा आएर हरिपूर्वाका केही वडाध्यक्षको नेतृत्वमा...

सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहमाथि हिजो बिहीबार साँझ आक्रमणको प्रयास भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित लालबन्दीमा रहेको अधिकृत साह बस्दैआएको कोठा ९क्वार्टर० मा आएर हरिपूर्वाका केही वडाध्यक्षको नेतृत्वमा स्थानीयले आक्रमणको प्रयास गरेका हुन् । आक्रोशित वडाध्यक्ष र स्थानीयले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर लालबन्दीबाटै नगरपालिकाको कार्यालय सञ्चालन गरी अनियमिता गरेको र पालिका भित्रका नागरिकको समस्याप्रति बेवास्ता गरेको आरोप लगाएका छन् ।

लालबन्दी नगरपालिका–७, मा नगरपालिका कार्यालयले उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत साह बस्ने कोठामा रहेका टेबल, कुर्सीसहित अन्य सामग्री तोडफोड भएको छ । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास भएपछि जोगाउन खोज्दा हरिपुर्वा नगरपालिका–६, का वडाध्यक्ष सामसोगारथ राय यादवको नाक र आँखामा चोट लागेको छ ।

प्रहरी टोली घटनास्थलमा पुगेर रोकेपछि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात हुन पाएन । हरिपुर्वा नगरपालिका ८ का वडाध्यक्ष रामेश्वर रायले प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीमा बस्ने र कार्यालयको कागजात झोलामा राखेर लालबन्दीबाटै नगरपालिका चलाएको आरोप लगाएका छन् ।

कार्यालयमै बसेर नागरिकको समस्या सुनिदिन र कार्यालयबाटै सेवा प्रदान गर्न बारम्बार आग्रह गर्दा प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले टेर्दै नटेरेको वडाध्यक्ष रायले आरोप लगाए । उनले भने, “जति भन्दा पनि नलागेपछि हामी आज यहाँ आएर विरोध गुर्न परेको हो, यो सबै कुराको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतले लिनुपर्छ ।”

रौतहटको चन्द्रनिगाहपुर घर भएका प्रमुख प्रशासकीय अधिकृत साहले कार्यालयमा कर्मचारी नियुक्ति गर्दा, विभिन्न ठेक्कापट्टाको फर्म छनौट गर्दालगायत अन्य काममा चन्द्रनिगाहपुरकै मानिसलाई प्राथमिकता दिएको असन्तुष्ट वडाध्यक्षहरुको आरोप छ । हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेलीले भने जेनजी आन्दोलनको क्रममा नगरपालिका कार्यालयमा तोडफोड भएपछि भएका कागजात र उपकरण जलेपछि सो विषयमा छलफल गरिरहेकै बेला अराजक शैलीमा आक्रमण गरिएको बताए ।

कोष तथा लेखा नियन्त्रक कार्यालय ९कालेनिका० ले विभिन्न भुक्तानीका लागि खाता खुला गरेकाले सोहीबारेमा छलफल भइरहेका बेला जेनजी आन्दोलनमा पालिकाको कार्यालयमा आगजनी गर्नेहरुले नै लालबन्दीमा आएर आक्रमणको प्रयास गरेको आरोप लगाएका छन् ।

आक्रमण नगरप्रमुख