Nepalmuhar Full version →
तथ्य खोज

EXCLUSIVE सि. ई. कन्ट्रक्सनका अध्यक्ष ‘ठग’ राजभण्डारीविरुद्ध दर्जनौ उजुरी, सरकार मुकदर्शक !

Nepalmuhar June 1, 2026
''हामीले ८ वटा निकायमा दिएको उजुरीमाथि डेड महिनादेखि गम्भीर खोजखबर र कार्यान्वयन नहुँदा शंका गर्नु पर्ने अवस्था छ''
📄 Download PDF
राजभण्डारीविरुद्ध परेको निवेदनको पिडिएफ फाइल
बैशाख २०८३ मा ‘हात्तीवन हाउजिङका घर युनिट खरिद गर्ने खरिदकर्ता सम्पूर्ण पीडितहरु’ ले सि. ई. कन्ट्रक्सन प्रा. लि. का अध्यक्ष विजयबहादुर राजभण्डारीलगायत विरुद्ध नेपाल सरकारका आठ वटा महत्वपूर्ण निकायमा उजुरी दिएको फेला परेको छ । उनीहरुले राजभण्डारीसहित सञ्चालकहरु श्याम मोहन श्रेष्ठ, गोपाल मानन्धरविरुद्ध उजुरी दिएका हुन् ।

पीडितहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत हेल्लो सरकार, अर्थ मन्त्रालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल राष्ट्र बैंक, आन्तरिक राजश्व विभाग, नेपाल प्रहरीका महानिरीक्षक र नेपाल प्रहरीकै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उजुरी दिएका फेला परेको हो ।

तर, उजुरीमाथि वालेन्द्र सरकार र सरकारी निकायहरु रमिते बनिरहेका छन् । मतदाताहरुबीच पुराना सत्ताधारीहरुले जस्तो निर्णय र काममा ढिलासुस्ती नगर्ने, भनसुन, दबाब, प्रभाव स्वीकार्य नहुने बाचा गरेर बनेको रास्वपा नेतृत्वको वालेन्द्र सरकारले समेत विजयबहादुर राजभण्डारी विरुद्धका उजुरीहरुलाई झण्डै डेड महिनासम्म बेमतलव थन्क्याएर राखेको पाइएको छ । 

“राजभण्डारीले कांग्रेस, एमाले, माओवादीलगायत पुराना दलका नेताहरुलाई त प्रभावमा पारेर उल्टै पीडितहरुमाथि नै धाकधम्की दिँदै आएका थिए । रास्वपा सरकारबाट न्याय पाइएला कि भन्ने विस्वास छ”, राजभण्डारीबाट पीडित एक ग्राहक भन्छन्, “तर, हामीले ८ वटा निकायमा दिएको उजुरीमाथि डेड महिनादेखि गम्भीर खोजखबर र कार्यान्वयन नहुँदा शंका गर्नु पर्ने अवस्था छ ।”

पीडितहरुले निवेदनमा राजभण्डारीले प्रत्यक्ष रुपमा ज्यानकै धम्की दिएको उल्लेख गरेका छन् । निवेदनको सुरु–सुरुमै लेखिएको छ, “...निज सि. ई. कन्ट्रक्सन प्रा. लि. को अध्यक्ष विजयबहादुर राजभण्डारीलगायतले हामीलाई प्रत्यक्ष रुपमा ज्यानमै धम्की दिँदै आएको हुँदा यो निवेदन गर्न बाध्य भएर आफनो पहिचान पनि खुलाउन नसक्ने अवस्था भएकोले हामीहरु माथि भएको अन्यायको बारेमा तथा भ्याट तथा कर समेत नतिरी बसी नेपाल सरकारलाई समेत खुल्ला रुपमा चुनौती दिँदै आएको कुराका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक कारबाही समेत गरी नेपालमा कानून छ भनी प्रमाणित गरिपाउँ भनी हार्दिक अनुरोध गर्दर्छौ ।”

निवेदनमा बैंकको मिलेमतोमा हाउजिङको घर युनिट खरिद गर्नेहरुमाथि भएको ठगीको विषय विस्तृतमा उठाईएको छ । भनिएको छ, ‘निज विजयबहादुर राजभण्डारीले सि. ई. कन्ट्रक्सन प्रा. लि. अधिनमा नयाँ कमिटेड इन्टरप्रेनर रियल इस्टेट प्रा. लि. नामको कम्पनी बनाई सोबाट ललितपुरको हात्तीवनमा बनाएको हात्तीवन हाउजिङमा विभिन्न घरहरु बनाई बिक्री गर्दा हामीहरुले पनि घर किनेका थियौं । हाल त्यही घरमा नै ५–७ वर्षदेखि बसोबास गरिरहेका छौं । उक्त हाउजिङ परियोजनाको सम्पूर्ण ऋण नेपाल एसबिआई बैंक लि. बाट गरिएको रहेछ र पछि हामीहरुले घर किनेपछि सि. ई. कन्ट्रक्सन प्रा. लि. को कमिटेड इन्टरप्रेनर रियल स्टेट प्रा. लि. लाई घर युनिट वापतको सबै रकम तिरी भुक्तानी समेत गरिसकेका छौ ।’

निवेदनमा थप उल्लेख छ, ‘...हाउजिङको घर किनेर सम्पूर्ण रकम तिरेपछि उक्त घर युनिट हामीहरुको नाममा दर्ता नामसारी गरि लालपुर्जा पाउनु पर्नेमा हामीहरुको नाममा घर पास गरी दर्ता गर्न आनाकानी गर्दै निज विजयबहादुर राजभण्डारीले झुलाउने र विभिन्न बहाना गर्न थालेपछि हामीहरुले के भएको भनी बुझ्दा अचानक हामीहरुको घर युनिटको कित्ता नम्वरहरुसहित प्रभु बैंकको मिति २०८२–०१–०९ को लिलामी सूचना पत्रिकामा देखेपछि हामी अचम्ममा परि बुझ्दा हामीहरुलाई साह्रै नै भ्रम र धोकामा राखेको पाइयो ।’

नेपाल एसबिआई र तत्कालीन सेन्चुरी (हाल प्रभु) बैंकको मिलेमतोमाथि पनि निवेदनमा उल्लेख गरिएको छ । लेखिएको छ, ‘हामीहरुले आवश्यक रकम भुक्तानी गरिसकेको अवस्थामा एक बैंक (नेपाल एसबिआई) मा रोक्का रहेको र रकम तिरेको आधारमा हाम्रो नाममा घरपास गर्नु पर्नेमा निजहरुले दोहोरो रोक्का र धितो हुने गरी एसबिआई बैंक र प्रभु बैंक दुवैसँग मिलेमतो गरी प्रभु बैंकमा समेत धितो राखेको कुरा बुझ्न आयो । यसरी दुवै बैंकहरु समेतको मिलेमतोमा हामीहरुलाई ठगी गरेको ज्ञात हुन आएपछि हामीहरुले सम्बन्धित बैंक तथा नेपाल राष्ट्र बैंकलगायत विभिन्न निकायमा जानकारी गराउँदा पनि हालसम्म कुनै कारबाही नभएको तर हामीहरु भने आफ्नो जिन्दगीभरको कमाई लगाएर किनेको घर नै गुमाउने र बिचल्ली हुने अवस्थामा पुगेकोले पनि बाध्य भएर यो निवेदन गर्दछौं ।’ निवेदनका थप घ, ङ र च बुँदा पाठकहरुले निवेदन नै पढ्नुहोस् ।

निवेदनमा भ्याट तथा अन्य करछलीको विषय पनि उठाइएको छ, जहाँ उल्लेख छ, ‘सि. ई. र यसका अध्यक्षले आफ्नो कारोबारको बेला उठाएको भ्याट रकम हालसम्म पनि भुक्तानी गरेको अवस्था देखिदैन । निजको ठगी प्रवृतिमा ठूला करदाता कार्यालय जस्तो जिम्मेवार निकायका केही कर्मचारीहरुसँगको साँठगाँठमा हाल व्याज तथा जरिवाना समेत गरी करिब रु. १०० करोड भन्दा बढी तिर्न बाँकी रहेको अवस्थामा समेत कारबाही नहुनु आफैँमा तत्कालीन सरकारको गैरकानूनी कार्यलाई बढवा दिने भ्रष्ट खेल हो भन्ने बुझिन्छ ।’


अर्को बुँदामा लेखिएको छ, ‘निज विजयबहादुरले ठूला करदाता कार्यालयको मिलेमतोमा सीमित कर्मचारी र शक्ति केन्द्रको आडमा आफूले उठाएर सरकारलाई बुझाउनु पर्ने भ्याट वापतको रकम समेत नबुझाई हिनामिना गरेको र सोको सम्बन्धमा केही नभएको र उल्टो धम्क्याउने तथा सार्वजनिक रुपमा नै युट्युब भिडियो बनाएर भ्याट नतिर्न हदबन्दीको कारणले घर जग्गा बेच्न नपाएको जस्ता विभिन्न बहाना गरेको र तत्कालीन सरकारका अर्थमन्त्री समेतलाई ज्ञापन पत्र दिएको देखिन्छ । कानून बमोजिमको आफूले उठाएको भ्याट सरकारलाई नबुझाई उल्टो धम्क्याउँदै हिड्ने्लाई तत्कालै पक्राउ गरी आवश्यक कानूनी कारबाही गरिपाउँ ।’

यस बुँदाका ग, घ र ङ बुँदा पनि निवेदनमै पढ्न पाठकहरुलाई नै छाडिएको छ । निवेदनको अन्त्यमा लेखिएको छ, ‘...विभिन्न शक्ति केन्द्रको आडमा सि. ई. कम्पनी तथा यसका अध्यक्ष विजयबहादुर राजभण्डारी तथा सञ्चालकहरुले गरेको ठगी, करछली, भ्याट रकमको हिनामिना लगायतका विषयहरु उपर यथाशक्य चाँडो छानबिन गरी कानून बमोजिम यथोचित कारबाही तथा सजाय गरिपाउँ र हामीहरुको नाममा सम्पूर्ण रकम भुक्तानीपछि हालसम्म पनि घर युनिट पास भई लालपूर्जा नपाएको हुँदा सो समेत दिलाई पाउँ । साथै निजहरुको अपराधमा संलग्न हुने र मिलेमतो गर्ने बैंक तथा यसका सम्बन्धित कर्मचारी र ठूला करदाता कार्यालयका कर्मचारीहरु समेत उपर पनि छानबिन गरी कारबाही गरिपाउँ ।’

स्रोतका अनुसार पीडितहरुले राजभण्डारी समूहको ठगीधन्दा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका छन् । जसको दर्ता नं. C–०५९८९८/२०८३–०१–१४ हो । पीडितहरुले राजभण्डारीको समूहले गरेको ज्यादतीविरुद्ध अख्तियारलाई दिएको यो तेस्रो उजुरी भएको बताइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का एक अधिकारीलाई नेपालमुहारले पीडितहरुले राजभण्डारी विरुद्ध दिएको निवेदन बारे बुझ्दा छानबिन भइरहेको बताए । आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै सिआईबीका ती अधिकारीले भने, ‘राजभण्डारी विरुद्ध परे जस्ता उजुरी सिआईबीमा थुप्रै परेका छन् । हामीले ती उजुरीहरुलाई प्राथमिकता र प्रमाणित आधारमा छानबिन गरिरहेका छौं । राजभण्डारी विरुद्धको उजुरी पनि छानबिन भइरहेको छ । अहिले मैले योभन्दा बढी भन्न सक्तिन ।’

यता सि. ई. कन्ट्रक्सनका अध्यक्ष राजभण्डारीले भने फेरि पनि मोबाइल उठाएनन् ।
https://nepalmuhar.com/s/np/8525