Nepalmuhar Full version →
समसामयिक

उपल्लो मुस्ताङमा बाढीः पूर्वसूचनाले टर्‍यो सङ्कट

Nepalmuhar July 9, 2025
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ का वडा सदस्य नच्छुङ गुरूङले हिजो मङ्गलबार साँझ करिब ५ बजे छुहामा खोलामा लेदोसहितको बाढी देख्ने बित्तिकै गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङलाई फोन गरे । बाढीका बारेमा जानकारी पाएलगत्तै गाउँपालिका अध्यक्ष गुरूङले प्रभावित क्षेत्रमा पर्ने वडाका जनप्रतिनिधि र स्थानीयलाई ख...

मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ का वडा सदस्य नच्छुङ गुरूङले हिजो मङ्गलबार साँझ करिब ५ बजे छुहामा खोलामा लेदोसहितको बाढी देख्ने बित्तिकै गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङलाई फोन गरे ।

बाढीका बारेमा जानकारी पाएलगत्तै गाउँपालिका अध्यक्ष गुरूङले प्रभावित क्षेत्रमा पर्ने वडाका जनप्रतिनिधि र स्थानीयलाई खबर गरे । बाढी प्रभावित वडा नम्बर १ का अध्यक्ष पेमा आङ्ग्या गुरुङ र वडा नम्बर २ का अध्यक्ष कर्म नाम्ग्याल गुरुङले तटीय क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान सूचना दिए ।

उपल्लो मुस्ताङमा आएको बाढीको सूचना प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले पाएलगत्तै खोला आएर मिसिने नदीको तटीय क्षेत्रमा सर्तकता अपनाउन सूचना जारी गरे ।

बाढी आएको केही मिनेटमै तयारी गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरूङले बताए । अध्यक्ष गुरूङ भने, ‘‘बाढीको सूचना समयमै आएकाले मानवीय क्षति टर्‍यो, अब हामीले सम्भावित जोखिम क्षेत्रमा उच्च सतर्कता अपनाउछौ ।’’ अध्यक्ष गुरूङका अनुसार लोमान्थाङमा बग्ने खोला आसपासमा पशुचौपाया लिएर जाने, गोठबाट आवतजावत गर्ने पाँच वटा काठे पुलहरू समेत बगाएको अवस्थामा समयमै सूचना प्रवाह नभएको भए मानवीय क्षतिसमेत हुनसक्थ्यो ।

मुस्ताङमा खोला, नदीबाट आसपासका बस्तीहरू जोगाउन आवश्यक पर्ने पक्की संरचना कम हुने भएकाले पनि पानीको बाहब बढेसँगै तटीय क्षेत्रमा क्षति हुने गरेको छ । उपल्लो मुस्ताङमा तटीय क्षेत्रमा भेडाच्याङ्ग्राको चरन क्षेत्र हुन्छ । गाउँपालिका अध्यक्ष गुरूङको नेतृत्वमा क्षतिको विवरण सङ्कलन गर्न बाढी प्रभावित क्षेत्रमा पुगेको छ । सफा मौसम, वर्षा समेत नभएको अवस्थामा एक्कासी तिब्बती क्षेत्रबाट आएको बाढीका कारण उपल्लो मुस्ताङवासी त्रसित भएका थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले चुमजुङ गाउँ हुँदै बग्ने खोलामा बाढीको सूचना समयमै स्थानीयबाट आएकाले पूर्वतयारी सहज भएको सुनाए । प्रजिअ भुषालले भने, ‘‘हामीले सूचनालाई नै आधार बनाएर पूर्वतयारी गरेका थियौं, विपदबाट सुरक्षित हुन प्रभावकारी सूचना नै पहिलो आधार हो ।’’

मुस्ताङ र तिब्बतको सीमा आसपासका क्षेत्रमा भीषण वर्षा भएका कारण बाढी आएको आशङ्का गरिए पनि अहिलेसम्म सीमाक्षेत्रमा रहेका चिनियाँ अधिकारीले वर्षाको पुष्टि गरेका छैनन् । वर्षा नभए पनि एकाएक बाढी आउन थालेपछि छिमेकी जिल्ला म्याग्दी, बागलुङ र पर्वतमा समेत मुस्ताङ हुँदै बग्ने कालीगण्डकी नदीमा जोखिमको सूचना प्रवाह गरी सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आज बुधबार बिहानैदेखि सदरमुकाम जोससोम आसपासका क्षेत्रमा वर्षा भइरहेको छ भने मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ गाउँपालिका क्षेत्रमा भीषण वर्षा भइरहेको छ ।
हरिकृष्ण शर्मा/गोरखापत्र

उपल्लो मुस्ताङ बाढी