अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नयाँ फोकल युनिट स्थापना गरेको छ ।
मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत रहने युनिटले विदेशी लगानीसँग सम्बन्धित सहजीकरण, नीति–समन्वय र सरोकारवाला निकायसँगको सहकार्य सुदृढ गर्ने जिम्मेवारी पाउने अर्थले जनाएको छ ।
मन्त्रालयका अनुसार, विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय संस्था नेपालमा लगानी प्रक्रियामा संलग्न हुँदा उठ्ने बैंकिङ, कर–राजस्व तथा प्रशासनिक समन्वयका विषयमा यस युनिटले प्रत्यक्ष भूमिका खेल्नेछ । विशेष गरी नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सरकारी नियामक निकायबीच आवश्यक समन्वय गरी लगानीमैत्री वातावरण निर्माणमा युनिट सक्रिय रहनेछ ।
यसले नेपालमा विदेशी लगानी प्रवाहलाई सहज, पारदर्शी र द्रुत बनाउने अपेक्षा गरिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिएका छन्।