पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा भएका छन् । सहकारी ठगी अभियोगमा फरार बमजन आज आइतबार एकाएक जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए ।
बम्जनको थुनछेक बहसपछि न्यायाधीश शंकरकुमार राईले १० लाख धरौटी माग गर्ने आदेश गरेको स्रेस्तेदार राजन खनालले जानकारी दिए । “१० लाख धरौटी माग गर्ने आदेश भएको छ, धरौटी बुझाएर उहाँ छुट्नु भएको छ,” खनालले भने ।
बमजन सूर्यदर्शन सहकारीका मुख्य योजनाकार मानिएका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राइका जेठान हुन् । खासमा यो परिवार नै सहकारी ठगीको जालो विस्तार गर्ने परिवार हो । बमजनले नै जिबीलाई पोखरा पुर्याएर सूर्यदर्शन सहकारीको अध्यक्ष बनाएको विभिन्न छानबिन समितिका प्रतिवेदनमा उल्लेख छ।
ओखलढुङ्गामै पहिलो विवाह गरेका जिबीले बमजनकी बहिनी भगवतीसँग दोस्रो विवाह गरेका थिए । अदालतमा बमजनले सहकारी ठगीमा आफू संलग्न नभएको बयान दिएका छन् । बमजनमाथि सहकारीको अध्यक्ष हुँदा एक करोड ५४ लाख ४९ हजार आठ सय ३९ रुपैयाँ अपचलन गरेको अभियोग छ। सूर्यदर्शन सहकारीमा एक अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको छ।
सहकारी पीडितले भने फरार प्रतिवादी बमजन अदालतमा उपस्थित भएर बयान दिँदा जानकारी नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्। सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, “अभियोजनकर्ता नै उपस्थित नभई कसरी बयान भयो ? जाहेरवाला हामी हौं।”
आइतबार अदालतमा सहकारी पीडितको तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, बिबी विष्ट र दीपक शर्मा पौडेल र बमजनको तर्फबाट द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए ।