Nepalmuhar Full version →
समसामयिक

सरकारको अपिलः बाढीपहिरोको जोखिममा उच्च सतर्कता अपनाउनु

Nepalmuhar October 3, 2025
असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारी गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मन...

असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारी गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने भएकाले कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको उल्लेख छ । यसले गर्दा नदीनाला र खोलानालाको सतह आकस्मिक रूपमा बढ्ने र बाढी–पहिरो, डुबान, कटान तथा भूक्षयको सम्भावना रहेको चेतावनी दिइएको छ ।

विशेषगरी मधेश प्रदेशको तराई, नारायणी, बागमती, कोशी र कर्णाली नदी क्षेत्र, साथै काठमाडौं उपत्यका र पूर्वी तराईका जिल्लामा उच्च जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ। बागमती प्रदेशका काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, चितवन तथा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङमा जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही र आसपासका जिल्लामा जोखिम रहेको पनि विज्ञप्तिमा खुलाइएको छ ।

कार्यालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ । साथै, स्थानीय तह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायलाई पूर्वतयारी र राहत–उद्धारका लागि तयार रहन निर्देशन दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्षा र बाढी–पहिरोका घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न सकिने गरी सचेतना र तयारीलाई उच्चतम तहमा पुर्‍याउन सबैले भूमिका निर्वाह गर्न आवश्यक छ ।’

Featured सरकार अपिल