एमाले अध्यक्ष केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ। अहिले सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए। गत बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ को निर्णयअनुसार तीन दिनभित्र सफाइ पेस गर्न पत्राचार गरेको थियो।
मन्त्रालयले घिसिङलाई करार सम्झौताको दफा १०.३ को अवस्था उत्पन्न भएकाले सोही दफा १०।३ बमोजिम तपाईंसँगको सम्झौता अन्त्य गरी नियुक्ति रद्द किन नगर्ने भन्ने प्रश्न सोधेको थियो। घिसिङले त्यसको बुँदागत जवाफ दिएका थिए ।
ओली मन्त्रिपरिषद्को यो निर्णयलाई धेरैले विनास काले विपरीत बुद्धि भनेका छन् । घिसिङ उज्यालोका नायकका रुपमा स्थापित छन् । उनी विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएपछि नै सर्वसाधारणले लोडसेडिङको कालरात्रीबाट मुक्ति पाएका थिए ।