काठमाडौं महानगरपालिकाले नगरबासीको सहजताका लागि आजदेखि दुई मुख्य रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गर्दै छ। महानगरपालिकाले साझा यातायातसँग सहकार्य गरी पहिलो रुटमा लगनखेलदेखि बुढानिलकण्ठ र दोस्रोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि थानकोटसम्म सञ्चालन गर्नेछ ।
काठमाडौं महानगरपालिकाका अनुसार राति ८ बजेदेखि ११ बजेसम्म यी रुटमा प्रत्येक २० मिनेटको अन्तरमा यी बस उपलब्ध हुनेछन्। महानगरले प्रारम्भिक चरणमा ७ वटा बसमार्फत् सेवा सुरु गर्दैछ। यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन प्रत्येक बसमा एक जना नगर प्रहरी राखिनेछ । प्रत्येक बसमा चारवटा सीसीटीभी क्यामरा जडान गरिएका छन्। ती क्यामेराहरुले चालक, यात्रु र सडक अगाडिको भागलाई समेट्नेछन्। क्यामेराको लाइभ निगरानी महानगरको केन्द्रीय नियन्त्रण कक्षबाट हुनेछ।
यात्राका क्रममा यात्रुको सामान छुटेमा पत्ता लगाउन सहज हुनेछ। कसैले दुर्व्यवहार प्रयास गरेमा तत्कालै नियन्त्रणमा लिइनेछ । यी बसहरु काठमाडौं महानगरपालिकासँगै ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको आपसी सहकार्यमा सञ्चालन गरिएको हो। यस सेवाले रातिअबेरसम्म काम गर्ने श्रमिक, कर्मचारी र अन्य यात्रुहरुलाई सार्वजनिक सवारीको अभावमा हुने सास्ती कम गर्ने महानगरपालिकाको विस्वास छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रातको उडानका लागि आवतजावत गर्ने यात्रुले पनि यो सेवा उपयोग गनृ सक्नेछन् ।
