Nepalmuhar Full version →
राजनीति

ओली र लेखकलाई आज अदालत लगिँदै

Nepalmuhar March 29, 2026
ज्यान सम्बन्धी कसुरमा हिजो बिहान पक्राउ गरिएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज आइतबार काठमाडौँ जिल्ला अदालत लगिँदै छ । गत भदौ २३–२४ गते नवयुवा पुस्ता (जेनजी) ले शान्तिपूर्ण रूपमा गरेको विरोध प्रदर्शन एकाएक हि...

ज्यान सम्बन्धी कसुरमा हिजो बिहान पक्राउ गरिएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज आइतबार काठमाडौँ जिल्ला अदालत लगिँदै छ ।

गत भदौ २३–२४ गते नवयुवा पुस्ता (जेनजी) ले शान्तिपूर्ण रूपमा गरेको विरोध प्रदर्शन एकाएक हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भए भने आक्रोशित प्रदर्शनकारीले राज्यका महत्वपूर्ण संरचना, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, सुरक्षा निकाय तथा सरकारी भवनहरू र व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड एवं लुटपाट गरी ८५ अर्बभन्दा माथिको क्षति पुर्‍याएका थिए ।

उक्त घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि शुक्रबार गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णयसँगै प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको हो ।

मन्त्रिपरिषद् बैठकलगत्तै नवनियुक्त गृहमन्त्री सुधन गुरुङले शुक्रबार रातभर र शनिबार बिहानै नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्याल, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठसहित गृह प्रशासनका अधिकारीहरूसँग आवश्यक छलफल गरेका थिए । ओली र लेखकलाई पक्राउ गर्नुअघि दुवै प्रहरी सङ्गठनले उच्च सुरक्षा सतर्कता अपनाउँदै मातहतका निकायलाई तयारी अवस्थामा रहन सर्कुलर जारी गरेका थिए । विशेष गरी काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा विशेष सुरक्षा सतर्कता अपनाइएको थियो ।

लेखकलाई पक्राउ गर्नुअघि उनको निवास भक्तपुर सूर्यविनायक–५, कटुन्जे र ओली निवास गुण्डु क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो । लेखकलाई प्रहरीले बिहान ५.४० बजेको समयमा पक्राउ गर्यो । त्यसलगत्तै ठुलो सङ्ख्यामा प्रहरी ओली निवास पुगेको थियो। प्रहरी टोली ओली निवास पुग्दा गेट बन्द गरी प्रहरीलाई घरभित्र पस्न अवरोध गरियो । पछि दुवै पक्षको धकेलाधकेलमा गेट खुल्यो र प्रहरी ओली बसेको कोठामै पुग्यो ।

जरुरी पक्राउ पुर्जी लिएर पुगेको प्रहरी टोली देखेपछि ओलीले आफूमाथि राज्यले प्रतिशोध लिन खोजेको बताउँदै औषधीलगायत अत्यावश्यक सामान साथमा राखेर आफ्नै गाडीबाट प्रहरी परिसर काठमाडौँ आइपुगेका प्रहरीले जनाएको छ । घरबाट निस्कनुअघि ओलीले पत्नी राधिका शाक्यलाई अँगालो मारेर बिदाइ भएका थिए ।

कार्की आयोगले ओली र लेखकमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र दफा १८२ अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन सिफारिस गरेको छ । दफा १८१ मा लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुर र १८२ हेलचेक्र्याई गरी ज्यान मार्न नहुने कसुर उल्लेख छ । लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा तीनदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपियाँसम्म जरिबाना हुने प्रावधान छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा ज्यानसम्बन्धी कसुरमा प्रहरीले अदालतको अनुमतिमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनबमोजिम जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुपर्ने हुन्छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकमाथि अनुसन्धान गर्नुपर्ने भएकाले आज आइतबार जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि उपस्थित गराइने बताएका छन् । प्रहरी नियन्त्रणमा रहनुभएका ओलीलाई हाल चिकित्सकको सल्लाहबमोजिम त्रिवि शिक्षण अस्पाताल र पूर्वगृहमन्त्री लेखकलाई दुई नम्बर गणमा राखिएको बताउँदै प्रवक्ता काफ्ले भन्छन्, “दुवै जनाको मानव अधिकारको पूर्ण प्रत्याभूति एवं सम्मानसहित हामीले अनुसन्धान सुरु गरेका छौँ ।”

Featured ओली लेखक