Nepalmuhar Full version →
राजनीति

ओली-लेखकलाई हाजिर जमानीमा छाडिदै

Nepalmuhar April 9, 2026
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने तयारी गरिएको छ । सर्वोच्च अदालतको आदेश अनुसार दुबैलाई छाड्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन्। भट्ट...

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने तयारी गरिएको छ । सर्वोच्च अदालतको आदेश अनुसार दुबैलाई छाड्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

भट्टराईका अनुसार यसका लागि सरकारी वकिलको कार्यालय काठमाडौंको सहमति समेत प्राप्त भएको छ। ‘हामी अब उहाँहरूको सबै भन्दा नजिकको मानिसको जिम्मामा छाड्छौं,’ उनले भने। प्रहरीले दुबै जनामाथि भदौ २३ गतेको घटनासँग सम्बन्धित ज्यान सम्बन्धि कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

उनीहरूलाई पछिल्लो पटक ५ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद गएराति सकिएसँगै आज उनीहरूलाई छाड्ने निर्णय भएको हो। चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूमाथि फेरि म्याद नथप्न परमादेश जारी गरेको थियो।

ओली र लेखकले सर्वोच्च अदालतमा आफूहरूलाई गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उक्त रिट सर्वोच्चले खारेज गरेको थियो। तर परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न आदेश दिएको थियो ।

प्रहरीले चैत १४ गते बिहान भक्तपुरबाट ओली र लेखकलाई पक्राउ गरेको थियो। उनीहरूविरूद्ध भदौ २३ गते भएको घटनासँग सम्बन्धित छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले अनुसन्धान गर्न सिफारिस गरेको थियो।

Featured ओली-लेखक हाजिर जमानी