Nepalmuhar Full version →
अर्थ

काठमाडौँ महानगरमा २०८० को जग्गाको मूल्याङ्कन दरलाई आधार मानेर सम्पत्ति कर लिइने

Nepalmuhar October 15, 2024
काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ । असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्याङ्कन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा (१) को खण्ड (घ) मा भ...

काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ ।

असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्याङ्कन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा (१) को खण्ड (घ) मा भएको प्रावधानको सट्टा काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०८० मा भएको जग्गाको मूल्याङ्कन दरलाई आधार लिने भनिएको छ ।

आर्थिक ऐन, २०८१ बमोजिम साउन १ गतेदेखि असोज मसान्तसम्म सम्पत्ति कर तिर्ने करदाताको हकमा, सङ्कलन गरिएको सम्पत्ति कर रकम आर्थिक ऐन, २०८० को तुलनामा घटीबढी भएको रकम आगामी ५ वर्षभित्र क्रमशः समायोजन गर्ने, परिपत्रमा उल्लेख छ । 

महानगरपालिकाका वडा कार्यालयहरुले आर्थिक ऐन, २०८१ को दफा २ को उपदफा (१) घ अनुसार आफ्नो भौगोलिक क्षेत्रभित्रका घरजग्गामा सम्बन्धित मालपोत कार्यालयले तोकेको जग्गाको प्रतिआना मूल्यलाई आधार मानेर कर संकलन गरिरहेका थिए ।

यो व्यवस्थाबाट राजस्व संकलन गर्दा विगत वर्षहरुमा तिरेको कर रकममा अनपेक्षित घटीबढी भएको करदाता गुनासो आएपछि राजस्व समितिको शिफारिस र असोज २२ गते बसेको ३६ औँ कार्यपालिकाको निर्णयअनुसार साविकको दररेटमा संकलन गर्ने निर्णय भएको हो । 

Featured काठमाडौँ महानगर सम्पत्ति कर