राष्ट्रिय स्वतन्त्र पार्टीहरूले निर्वाचित सांसदहरूलाई आजबाट अभिमुखीकरण गर्दैछ। आज र भोलि ग्वार्कोस्थित रोयल टुलिप होटलमा चल्ने अभिमुखीकरणमा पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी), स्वर्णिम वाग्ले (विद्यावारिधि), महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आमन्त्रित प्रशिक्षकले अभिमुखीकरण दिनेछन्। कार्यक्रमको सुरुवात उपसभापति अर्याल र वाग्लेले अहिले बिहान गर्दैछन ।
अभिमुखीकरणको पहिलो सत्रमा संघीय संसदका पूर्वसचिव सुरेश अधिकारीले संसदको संरचना कार्यप्रणालीबारे जानकारी गराउने कार्यसूची छ। आजैको सत्रमा सहभागी सांसदहरूलाई समूहमा विभाजन गर्ने, उनीहरूबीच पारस्परिक चिनजान गराउने, समूहमा कार्य गर्न सक्ने सीपको विकास गराउने तालिका छ ।
आजै उपसभापति स्वर्णिम वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारीबारे प्रशिक्षण दिनेछन् । वाग्ले वाचापत्र लेखन समितिका संयोजकसमेत थिए।
यस्तै, पूर्वकानून सचिव तोयानाथ अधिकारीले कानून निर्माणमा संसदको भूमिकाबारे चर्चा गर्नेछन् ।अभिमुखीकरणमा रास्वपाले अध्येता दोभान राईलाई पनि आमन्त्रित गरेको छ । डिजिटल युगमा नागरिकसँग संवाद कसरी कायम गर्ने, प्रभावकारी सञ्चारको प्रयोग कसरी गर्ने भन्नेबारे कार्यसूची छ। आजै मनिष झा, शिशिर खनाल, गणेश पराजुली, सोविता गौतम डा। तोसिमा कार्कीलगायत केही सांसदहरूले आफ्नो अनुभव सुनाउने छन् ।
भोलि बिहानको सत्र योग(ध्यानबाट प्रारम्भ हुनेछ । जीवन विज्ञानका प्रशिक्षक एलपी भानु शर्माले योगाभ्यास, ध्यान र चुस्त जीवन शैलीबारे प्रशिक्षित गर्नेछन् । त्यसपछि योजना तर्जुमा, बजेट निर्माणबारे तोयानारायण ज्ञवालीले प्रशिक्षण दिनेछन् । उनी राष्ट्रिय योजना आयोगका पूर्वसचिव हुन्। यस्तै, पार्टी र संसदको सम्बन्धबारे महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूलाई प्रशिक्षित गर्नेछन् । त्यसपछि संसको कार्यसूची, प्राथमिकताको निर्धारणमाथि रहेर सामूहिक छलफल गराइनेछ।
सत्रको अन्त्यमा सभापति रवि लामिछानेको निर्देशनसहित अभिमुखीकरण समापन हुनेछ । कार्यक्रममा भावी प्रधानमन्त्री बालेन्द्र शाहको भूमिकाबारे केही पनि खुलाइएको छैन ।


