Nepalmuhar Full version →
समसामयिक

मुस्ताङको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

Nepalmuhar February 25, 2026
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ ।

हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सडकमा सवारी सञ्चालनका लागि हिउँ पन्छ्याउन सुरु गरिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले उल्लेख गरे ।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर÷पश्चिमतर्फ समुन्द्री सतहको चार हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो । साङ्ता गाउँमा ३९ जना मतदाता छन् । यही गाउँमा अवस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दुरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ । भौगोलिक रुपले विकट स्थानमा रहेको मुस्ताङको साङ्ता गाउँका नागरिक अहिले गाउँभन्दा बाहिर छन् ।

मुस्ताङ र डोल्पाको सिमाना नजिक रहेको साङ्ता गाउँका नागरिकहरु मङ्सिर अगावै जाडो छल्न गाउँ छोडेर मुस्ताङको जोमसोम आसपासका गाउँहरुमा आफन्तहरुको घरमा बसेका छन् । केही भने हिउँदयामको छेकोमा जाडो छल्न पोखरा–काठमाडौँ झरेका छन् । गाउँमा केही पशुचौपाया हेर्ने गोठालाहरु बाहेक पूरै गाउँका घरहरुमा ताल्चा मारिएको छ । लाग्छ, स्थानीय सबै गाउँ छोडेर गएपछि साङ्ता गाउँ पूरै गुमनाम जस्तै छ ।

यहाँस्थित साङ्ता गाउँमा जम्मा १३ घरधुरी मात्रै छन् । हिउँदयामको जाडो छल्न पारिलो स्थानमा लागेका यहाँका नागरिकहरु चैत/वैशाख महिनामा मात्रै गाउँ फर्कन्छन् । तर, यसपालिका फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न २१ फागुन अगावै गाउँ पुग्नुपर्ने बाध्यता छ । 

केही दिन अघि यहाँस्थित साङ्ता गाउँको हिमाली मतदान केन्द्रको अवलोकन गर्न पुगेको जिल्ला सुरक्षा समितिको टोली साङ्ता गाउँ जाने सडकको आधा बाटोमा पुगेर फर्किएको थियो । मुस्ताङका अधिकांश मतदान केन्द्रहरुको जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेपछि यहाँका साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र हिमपातले सडक अवरुद्ध हुँदा अनुमगन हुन सकेको छैन ।
मुस्ताङ साङ्ता मतदान केन्द्र