प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन अस्वीकार गरेका छन् । आफ्नो निवास बुढानीलकण्ठमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग गरेको भेटमा देउवाले अख्तियारले छानबिन गरिरहेकाले समिति आवश्यक नरहेको बताएका हुन् । जानकारका अनुसार केपी ओलीसँगको सल्लाहमा देउवाले दाहाललाई यस्तो जवाफ दिएका हुन्
प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा भन्दा पनि समस्या समाधानका लागि छानबिन समिति बनाउनुपर्ने विपक्षी दलको निचोड रहेको देउवालाई सुनाएका थिए । “व्यक्तिगतरूपमा गृहमन्त्रीको राजीनामा भन्दा पनि दीर्घकालीनरूपमा समस्या हल गर्नका लागि समिति बनाएर छानबिन गर्नुपर्छ भन्ने प्रस्ताव राखिएको थियो । तर, त्यो सुझावलाई पनि अस्वीकार गरियो” प्रचण्डको सचिवालयमा कार्यरत एक सदस्यले बताएका छन् ।
उनका अनुसार देउवाले अख्तियारले छानबिन गरिहेको भन्दै समिति बनाउन इच्छुक भएनन् । छलफल गर्दै गरौंला भनेर भेटघाटको बिट मारे । दाहाललको देउवा निवासको छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि थिए ।
देउवाले समिति बनाउन अस्वीकार गरेपछि प्रचण्डले अहिले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रतिनिधसभा बैठकपूर्व प्रचण्डले संसद् भवनस्थित आफ्नैकार्यकक्षमा बैठक बोलाएका हुन् । जहाँ उनले देउवासँगको छलफलको ब्रिफिङ गर्नेछन् । बैठकले आगामी रणनीति तय गर्नेछ ।
भिजिट भिसा प्रकरणमा छानिबनका लागि समिति वा आयोग बनाउनुपर्ने माग राखेर विपक्षीहरुले संसद अवरुद्ध गरिरहेका छन् । गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबाट विपक्षी दलहरू पछि हटेका छन् । तर, छानबिन समितिमा सहमति हुन नसक्दा जेठ १५ गतेयता प्रतिनिधिसभा बैठक बस्न सकेको छैन ।