STP News Full version →
अर्थ

तरकारीको चर्को मूल्यको कथाः किसानको बारीदेखि उपभोक्ताको भान्सासम्म पुग्दा यसरी चल्छ बिचौलियाको सिन्डिकेट

Nepalmuhar December 6, 2025
किसानले बारीमा पसिना झारेर उत्पादन गरेको तरकारी बिचौलिया सिन्डिकेटको जालो सकेर मात्र उपभोक्ताको भान्सासम्म पुग्ने गरेको छ । संकलन केन्द्र, ढुवानीकर्ता, कालीमाटीका थोक व्यापारीदेखि स्थानीय थोक र खुद्रा पसल हुँदै उपभोक्तासम्म पुग्दा मनपरी मूल्य निर्धारण हुन्छ । राति ३ बजे नै थोक व्यापारीले तोक्ने भाउ,...

किसानले बारीमा पसिना झारेर उत्पादन गरेको तरकारी बिचौलिया सिन्डिकेटको जालो सकेर मात्र उपभोक्ताको भान्सासम्म पुग्ने गरेको छ । संकलन केन्द्र, ढुवानीकर्ता, कालीमाटीका थोक व्यापारीदेखि स्थानीय थोक र खुद्रा पसल हुँदै उपभोक्तासम्म पुग्दा मनपरी मूल्य निर्धारण हुन्छ ।

राति ३ बजे नै थोक व्यापारीले तोक्ने भाउ, महँगो ढुवानी र स्टल भाडाको अनियन्त्रित खेलले मूल्य बढाउँदै उपभोक्तालाई चर्को मूल्य तिर्न बाध्य बनाउँछ । सिन्डिकेट जालोका कारण बारीमै ३५ रुपैयाँ पाउन संघर्ष गर्ने किसानको तरकारी उपत्यकामा सात सय प्रतिशतसम्म महँगिने गर्छ ।

तरकारीमा बिचौलियाको जालो कहाँ–कसरी बुनिएको हुन्छ भनेर खोज गर्दा रोचक दृष्य देखिन्छ । जसअनुसार किसानले बारीमा उत्पादन गरेको तरकारी सर्वप्रथम संकलन केन्द्रमा पुर्‍याइन्छ । संकलन केन्द्रले उपलब्ध गराएको मल र बिउ प्रयोग गरेर किसानले खेती गरेका हुन्छन् । त्यसैले जतिसुकै न्यून मूल्य पाएका भए पनि किसान संकलन केन्द्रमै तरकारी बुझाउन बाध्य छन् ।

संकलन केन्द्रले किसानबाट खरिद गरेको तरकारीमा कम्तीमा १० प्रतिशत नाफा थपेर ढुवानीकर्तालाई सुम्पिन्छ । ढुवानीकर्ताले पनि प्रचलित मूल्यभन्दा दोब्बर भाडा लिई सोही तरकारी कालीमाटीस्थित थोक बजारसम्म पुर्‍याउने गर्छ ।

संकलन केन्द्र वा बारीदेखि कालीमाटी बजारसम्म ल्याउँदाको ढुवानी खर्चसमेत किसानले पाउने मूल्यबाटै कट्टा हुने गरेको छ । लागतभन्दा न्यून मूल्य पाएका किसानलाई ढुवानी खर्चसमेत बेहोर्नुपर्दा थप समस्यामा पर्नुपरेको काभ्रेको पाँचखाल–२, हर्सेका किसान महेश दनुवार बताउँछन् ।

संकलन केन्द्रबाट ल्याइएका तरकारी कालीमाटी थोक बजारमा भण्डारण गरिन्छ । भण्डारण गरेपछि प्रत्येक बिहान ३ बजे कालीमाटीका ६०२ थोक व्यापारी एकैठाउँ बस्छन् र मूल्य निर्धारण गर्छन् । अन्य वस्तु तथा सेवा उत्पादकले आफूले तोकेको मूल्यमा सामान बजार पठाउने परम्परा छ । तर, बारीमा कठोर परिश्रम गरेर उत्पादन गरेको कृषि उपजको मूल्य किसानले तोक्न पाउँदैनन् । व्यापारीले तोकेको मूल्यमै तरकारी बेच्न उनीहरू बाध्य छन् ।

‘बजारमा आएको तरकारीको परिमाण हेरेर प्रत्येक दिन मूल्य निर्धारण हुन्छ,’ नेपाल कृषि उपज आलु–प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव तथा कालीमाटीका थोक व्यवसायी प्रकाश गजुरेल भन्छन्, ‘धेरै तरकारी आपूर्ति भएको दिन मूल्य घट्ने र आपूर्ति कम भएको दिन मूल्य बढ्ने गर्छ ।’

व्यवसायीहरूको सिन्डिकेटका कारण कालीमाटी बजारमा मूल्य एकरूप हुने गरेको छ । कालीमाटीमा थोक व्यापारका लागि ४६४ स्टल छन्, जहाँ सबैमा समान मूल्य लाग्ने गर्छ । खुद्रातर्फका ६७ स्टलमा पनि उही मूल्य लागू हुन्छ । यसरी प्रतिस्पर्धाका आधारमा मूल्य निर्धारण हुन नपाउँदा बजार र मूल्य नियन्त्रित छ ।

यसरी कालीमाटीमा तोकिएको मूल्य खुद्रा बजारसम्म आइपुग्दा अझै महँगो हुन्छ । कालीमाटीबाट स्थानीय थोक बजारसम्मको ढुवानी लागत र खुद्रा व्यापारीले थप्ने नाफा जोडिँदा उपभोक्ताले महँगो दरमा तरकारी किन्नुपर्छ ।

तर, कालीमाटी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले पछिल्ला ४–५ वर्षयता थोक र खुद्रा स्टललाई मापदण्डमा राखेर नियमन गरिँदै आएको दाबी गर्छन् । ‘स्टल जसको हो, उसैले कारोबार गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेका छौँ,’ उनी भन्छन्, ‘यसले बजारमा अनुशासन कायम गर्न सहयोग मिलेको छ ।’

मूल्य निर्धारणमा भने समितिले हस्तक्षेप गर्न नपाउने उनको भनाइ छ । ‘व्यवसायीलाई प्रचलित कानुनको दायराभित्र रही कारोबार गर्न बारम्बार सचेत गराइरहेका छौँ,’ उनले भने, ‘भाउ निर्धारणमा हामीले हस्तक्षेप गर्न मिल्दैन । तर, प्रत्येक बिहान ५ बजे बजार टिपोट सार्वजनिक गर्ने काम भने गर्दै आएका छौँ ।’

किसान कहिल्यै पाउँदैनन् मेहनतको मूल्य
किसानहरूले परिश्रम र मेहनत गरेर उत्पादन गरेको तरकारी र आलुले उनीहरूको लागत पनि पूरा गर्न सकिरहेको छैन । उपत्यकामा सबैभन्दा बढी तरकारी आपूर्तिकर्ता काभ्रेपलान्चोकका किसानलाई कुल उत्पादनको १० प्रतिशत मात्रै फाइदा पुग्ने गरेको छ । अहिले काभ्रेका किसान आलु रोप्न व्यस्त छन् । ५ रोपनीमा आलु लगाउन ३२ हजार रुपैयाँको बिउ, २२ हजारको मल र १० हजारको विषादी खर्च हुन्छ । किसानका अनुसार श्रमिक ज्यालासहित खेती गर्न ड्याङ उठाउने, रोप्ने, गोड्ने, विषादी छर्ने र पानी लगाउने काममा ७४ हजार रुपैयाँ खर्च लाग्छ । यसरी ५ रोपनीमा कुल खर्च एक लाख ३८ हजार रुपैयाँ पुग्छ । तर, बजार मूल्य प्रतिकिलो ३५–४० रुपैयाँमा सीमित रहेकाले किसानले आफ्नो लागत पनि उठाउन सकिरहेका छैनन् ।

संकलन केन्द्रः किसानलाई मल, बिउ दिएर तरकारी कब्जा गर्छन्
स्थानीय सहकारी वा व्यक्तिले सञ्चालन गरेको संकलन केन्द्रमा किसानले तरकारी दिन्छन् । यस्ता संकलन केन्द्रले किसानको बारीसम्मै गाडी लगेर तरकारी उठाउँछन् । संकलन केन्द्रले जुनसुकै बाली लगाउन किसानलाई मल र बिउ दिने गरेका छन्, जसकारण बाली तयार भएपछि सोही संकलन केन्द्रलाई बाली बिक्री गर्नुपर्ने बाध्यता छ ।

काभ्रेको बनेपा नगरपालिका–१, टुकुचामा संकलन केन्द्र सञ्चालन गर्दै आएका रामेश्वर श्रेष्ठले धेरै किसानलाई मल र बिउमा लगानी गरेको बताए । ‘किसानलाई मल र बिउमा ठुलो लगानी गरेको छु, अब फलेपछि मेरैमा ल्याएर दिनुपर्‍यो नि’ उनले भने ।

संकलन केन्द्रले किसानलाई दिनेभन्दा औसतमा १० प्रतिशत बढी भाउमा तरकारी काठमाडौं पठाउने गरेका छन् । ‘हामीलाई धेरै नाफा खाएको आरोप लाग्छ, तर त्यस्तो होइन । किलोमा ५–७ रुपैयाँ राख्ने हो । त्यो भनेको १० प्रतिशत जति हुन आउँछ,’ श्रेष्ठले भने ।

कालीमाटीका कतिपय थोक व्यवसायीसमेत सोझै किसानसम्म पुगेका छन् । कालीमाटीमा १५ वर्षभन्दा बढी समयदेखि तरकारीको थोक कारोबार गर्दै आएका एक व्यवसायीले आफूमातहत ४० किसान रहेको बताए । ‘उनीहरूको बारी छ, मेरो लगानी छ,’ ती व्यवसायीले भने, ‘मल र बिउ म दिन्छु । त्यसपछि उहाँहरूले तरकारी दिनुहुन्छ ।’

काठमाडौंसम्म ढुवानीः दोब्बर महँगो भाडा
किसानको बारीबाटै तरकारी उठाउनेको गाडीभाडा चलनचल्तीभन्दा दोब्बर महँगो छ । काभ्रेको नालादेखि काठमाडौंसम्म तरकारी ढुवानी लागत प्रतिकिलो ४ देखि पाँच रुपैयाँ लिने गरेको एक व्यवसायीले बताए । ‘खासमा प्रतिकिलो २ देखि अढाई रुपैयाँ मात्र ढुवानी पर्ने हो, तर गाडीवालाले महँगो लिन्छन्,’ कालीमाटीका एक थोक व्यवसायीले भने । ढुवानी भाडाबापतको रकम किसानले पाउने मूल्यबाटै कटौती हुने गरेको छ । ‘किसानले कति मूल्य पाउने हो, त्यहीँबाट ढुवानीबापतको पैसा काटेर मात्रै किसानलाई दिन्छौँ,’ काभ्रेको बनेपा नगरपालिका–१, टुकुचामा संकलन केन्द्र सञ्चालन गर्दै आएका रामेश्वर श्रेष्ठले भने ।

एउटा गाडीले मासिक औसतमा तीन लाखसम्म ढुवानी भाडाबापत कमाइ गर्ने गरेका छन् । त्यसमध्ये इन्धन, मर्मत, चालक तथा सहचालकको खाजा–खाना र गाडीको बैंक किस्ताबापत डेढ लाखसम्म खर्च हुँदा कम्तीमा डेढ लाख नाफा गर्दै आएको एक व्यवसायीले जानकारी दिए ।

कालीमाटीको थोक बजार: राति ३ बजे तोकिन्छ मनलाग्दी भाउ
कालीमाटीमा ५० भन्दा बढी तरकारीको कारोबार गर्न ६ सय २ थोक व्यापारी छन् । उनीहरूले तरकारीको भाउ नियन्त्रण गर्दै आएका छन् । प्रत्येक दिन बिहान ३ बजे तरकारीको भाउ निर्धारण गर्दै आएको थोक व्यवसायी प्रकाश गजुरेलले बताए । ‘बजारमा कति तरकारी आएको छ, सोही परिमाणको आधारमा राति ३ बजे व्यवसायी भेला भएर तरकारीको भाउ तोक्छौँ,’ उनले भने, ‘व्यवसायीले भेला भएर तोकेको भाउ नै सो दिनका लागि बजारमा लागू हुन्छ ।’

किसानलाई कति पैसा दिने भन्ने पनि ३ बजे राति बसेको व्यवसायीको भेलामा नै निर्धारण हुन्छ । किनभने बारीबाट तरकारी उठाउँदा किसानलाई भाउको जानकारी हुँदैन । ‘हामीले तरकारी गाडीमा हालिदिने हो, मूल्य भोलि मात्रै थाहा हुन्छ भनेर व्यापारीले तरकारी लैजान्छन्,’ पाँचखाल–२, हर्सेका किसान महेश दनुवारले भने ।

ढुवानीमा मनोमानी स् उपत्यकाका साना थोक बजारसम्म चर्को मूल्यमा ढुवानी
कालीमाटी बजारबाट एकान्तकुना, कोटेश्वर, चाबहिल र बालाजुलगायतका साना थोक बजारमा तरकारी ढुवानी गर्ने साना गाडीले कम्तीमा १ हजार रुपैयाँ भाडाबापत लिने गरेका छन् । जुन काभ्रेको पाँचखालदेखि काठमाडौंको कालीमाटीसम्म करिब ४० किलोमिटर दूरीमा तरकारी ढुवानी गर्दाको भन्दा महँगो हो । कालीमाटीमा स्थानीय ढुवानीका लागि ५० भन्दा धेरै साना गाडीको सिन्डिकेट छ । ‘एउटा गाडीमा १ सय किलो पनि तरकारी अट्दैन, भाडा भने प्रत्येकपटकको हजार रुपैयाँ तिर्नुपर्छ,’ बुधबार बिहान कालीमाटीबाट एकान्तकुना तरकारी लैजाँदै गर्दा भेटिएका व्यवसायी छत्र विष्टले भने, ‘किलोमै १० रुपैयाँजस्तो ढुवानी भाडा पर्न जान्छ ।’

थोक बजारः जहाँ थपिन्छ नाफा
कालीमाटीबाट निस्केको तरकारी एकान्तकुना, कोटेश्वर, चाबहिल, बालाजुलगायतका थोक बजारमा पुग्छन् । यहाँ पनि व्यवसायीले फेरि एकपटक भाउ निर्धारण गरेर खुद्रा बजार पठाउँछन् ।

खुद्रा बजारः सबैभन्दा बढी मूल्य अनियन्त्रित
उपत्यकाका साना चोक बजार, किराना पसल र ठेलागाडाबाट उपभोक्ताले तरकारी किन्ने गरेका छन् । यहाँ नजिकैको थोक बजार वा तुलनात्मक रूपमा धेरै कारोबार गर्ने व्यवसायीले भने कालीमाटीबाट सोझै खरिद गरेर पनि ल्याउँछन् । खुद्रा बजारमा सबैभन्दा बढी मूल्य अनियन्त्रित छ । पसल र चोकैपिच्छे एउटै तरकारीको भाउ फरक र चर्को हुन्छ ।

उपभोक्ता: महँगो मूल्यमा खरिद गर्न बाध्य
अनियन्त्रित र मनलाग्दी स्थानीय बजारबाट उपभोक्ताहरू सधैँ महँगो मूल्यमा तरकारी किन्न बाध्य छन् । उपभोक्तासँग खुद्रा बजारबाट तरकारी किन्नुको विकल्प छैन ।

कालीमाटीभित्रै थोक र खुद्रा मूल्यमा दोब्बरले अन्तर
नियमनको अभावमा कालीमाटी परिसरभित्रै तरकारीको थोक र खुद्रा मूल्यबिच दोब्बर अन्तर छ । बुधबार बिहान कालीमाटीका थोक व्यापारी रामकुमार दंगालले काउली प्रतिकिलो ७० रुपैयाँका दरले बिक्री गरेको बताए । ‘थोकबजारबाट काउली प्रतिकिलो अधिकतम ७० रुपैयाँका दरले बाहिरिएको छ,’ उनले भने । तर, थोकबजारबाट करिब १० मिटरको दूरीमा रहेको कालीमाटी परिसरभित्रकै खुद्रा बजारमा भने यसै दिन काउली प्रतिकिलो १२० देखि १३० रुपैयाँमा बिक्री भइरहेको थियो । अन्य तरकारीको भाउ पनि यसरी नै अचाक्ली पाइयो । थोकबजारमा ५० देखि ६० रुपैयाँ प्रतिकिलो रहेको काँक्रो नजिकैको खुद्रामा १०० रुपैयाँ प्रतिकिलो थियो । त्यस्तै, थोकमा ६० रुपैयाँ प्रतिकिलो रहेको आलु खुद्रामा ८० देखि ९० रुपैयाँ थियो । थोकबाट १०० रुपैयाँमा निस्केको अदुवा खुद्रामा १४० र १५० मा बिक्री भइरहेको थियो । १०० रुपैयाँ औसत थोक मूल्य रहेको टमाटर १० मिटर टाढाको खुद्रा बजारमा १४० रुपैयाँ थियो भने ५० रुपैयाँ थोक मूल्य रहेको मुला खुद्रामा ८० रुपैयाँ थियो ।

एउटै छातामुनि रहेको थोक र खुद्राबिच यति ठुलो मूल्य अन्तरबारे कालीमाटी बजार विकास समिति जानकार छ । तर, मूल्य नियन्त्रणका लागि कुनै कदम चाल्न नसकिएको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । ‘हामी मूल्यमा हस्तक्षेप गर्न सक्दैनौँ । तर, एउटै छातामुनि ठुलो अन्तर हुने गरी मूल्य नतोक्नुस् भनेर सचेत गराउने र समय–समयमा कारबाही गर्ने गरिएको छ, तैपनि सुधार हुन सकेको छैन,’ उनले भने ।
अजित तिवारी नयाँ पत्रिका

Featured मूल्य तरकारी