अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई समात्ने अपरेसनको नाम ‘एब्सोल्युट रिजल्भ’ राखेको थियो । यो अपरेसनमा १५० भन्दा बढी विमान संलग्न थिए, जसमा एफ–१८, एफ–२२, एफ–३५ लडाकु विमान, बी–१ बम्बर र ड्रोनहरू थिए ।
ट्रम्पले हिजो शनिबार राति १०.४६ बजे यो अपरेसनको अनुमति दिएका थिए । करिब सवा दुई घण्टापछि, करिब १ बजे अमेरिकी सेना मादुरो बसेको स्थानमा पुग्यो । झन्डै साढे दुई घण्टापछि राति ३.२९ बजे अपरेसन समाप्त गरी फर्कियो ।
मादुरोलाई समात्ने अपरेसनमा १५० भन्दा बढी विमान संलग्न
अमेरिकाका जोइन्ट चिफ्स अफ स्टाफका प्रमुख जनरल ड्यान केनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई समात्ने अपरेसन निकै लामो योजना बनाएर सञ्चालन गरिएको बताए । यो मिसन तयार पार्न धेरै महिना लाग्यो, तर कार्यान्वयन गर्न भने केही घण्टामात्र लागेको बताए ।
जनरल केनका अनुसार, यो अपरेसन सेनाको मात्र नभई अमेरिकी सेनाका सबै गोप्य एजेन्सीहरूले संयुक्त रूपमा सञ्चालन गरेका थिए । उनका अनुसार, यस्ता ठूला मिसनका लागि महिनौँसम्म तयारी गर्नुपर्छ ।
उनका अनुसार, मादुरोको गतिविधिमा लामो समयदेखि निगरानी गरिएको थियो । यसको उद्देश्य उनको बसोबास, आवतजावत, यात्रा, खानेकुरा र सामान्यतया लगाउने लुगा बुझ्नु थियो ।
उनले शुक्रबार राति यो अपरेसन सुरु भएको र त्यतिबेला १५० भन्दा बढी विमान अमेरिका तथा उसका सहयोगी स्थानहरूबाट उडान भरेको बताए । ती विमानहरू जमिन र समुद्रमा रहेका करिब २० फरक–फरक स्थानहरूबाट प्रस्थान गरेका थिए ।
यसमा हेलिकोप्टरहरू पनि थिए, जसमा मादुरोलाई समातेर बाहिर निकाल्ने टोली सवार थियो । यी हेलिकोप्टरहरू समुद्रको सतहभन्दा धेरै नजिक, करिब १०० फिट उचाइमा उड्दै भेनेजुएला पुगेका थिए ।
जनरल केनका अनुसार, हेलिकोप्टरहरूको सुरक्षाका लागि पहिले आसपास सैन्य कारबाही गरिएको थियो । त्यसपछि हेलिकोप्टरहरू राति करिब १ बजे मादुरोको क्याम्पमा पुगे । यस क्रममा अमेरिकी सैनिकहरूमाथि गोलीबारी भएको थियो, जसको जवाफमा उनीहरूले आफ्नो सुरक्षाका लागि कारबाही गर्नुपरेको थियो । अन्ततः मादुरो र उनकी पत्नीलाई समातिएको थियो ।
बिहान ३ बजेर २९ मिनेटमा अमेरिकी सैनिकहरू भेनेजुएलाबाट बाहिर निस्किएका थिए । त्यसपछि मादुरो र उनकी पत्नीलाई अमेरिकी युद्धजहाज यूएसएस इभो जिमामा लगियो । त्यहाँबाट उनीहरूलाई न्युयोर्क लगिएको छ, जहाँ कानुनी कारबाही हुने बताइएको छ ।
जनरल केनले यो पूरै मिसन अत्यन्त सटीक समन्वयका साथ सम्पन्न गरिएको बताए । उनका अनुसार, यदि कुनै पनि तहमा गल्ती भएको भए सम्पूर्ण मिसन जोखिममा पर्न सक्थ्यो । उनले अमेरिकी सेनाका लागि यस्ता अपरेसनमा असफलता कुनै विकल्प नभएको बताए ।
अमेरिकी सैनिकहरूको सुरक्षाका लागि बी–१ बम्बर तैनाथ
जनरल केनका अनुसार, यो पूरै मिसनका क्रममा अमेरिकी सैनिकहरूको सुरक्षाका लागि मरिन, नेभी, एयर फोर्स र एयर नेसनल गार्ड तैनाथ थिए । आकाशमा बी–१ स्टेल्थ बम्बर विमानहरू पनि उडिरहेका थिए, ताकि कुनै खतरा उत्पन्न भएमा तुरुन्त कारबाही गर्न सकियोस् ।
उनले अमेरिकी बल राति १ बजेर १ मिनेटमा भेनेजुएलाका राष्ट्रपति मादुरोको क्याम्पमा पुगेपछि उनलाई समात्ने टोली तल झरेको र अत्यन्त छिटो कारबाही सम्पन्न गरेको बताए ।
जनरल केनले यस क्रममा मादुरो र उनकी पत्नीले कुनै विरोध नगरेको बताए । दुवैले आफूलाई समर्पण गरेपछि अमेरिकी न्याय मन्त्रालयको टोलीले उनीहरूलाई हिरासतमा लिएको थियो ।
किल्ला जस्तो सुरक्षित घरमा थिए मादुरो
ट्रम्पका अनुसार, मादुरो राष्ट्रपति भवनमा थिए, जुन किल्ला जस्तै सुरक्षित थियो । त्यहाँ विशेष ‘सेफ रूम’ थियो, जसका पर्खालहरू पूर्ण रूपमा स्टिलका थिए । मादुरो त्यो कोठामा प्रवेश गर्ने प्रयास गरिरहेका थिए, तर अमेरिकी सैनिकहरू यति छिटो भित्र पुगे कि उनले ढोका बन्द गर्नसमेत सकेनन् ।
जोइन्ट चिफ्स अफ स्टाफका प्रमुख जनरल ड्यान केनका अनुसार, यो अपरेसनका लागि महिनौँसम्म रिहर्सल गरिएको थियो । अमेरिकी सेनालाई मादुरो के खान्छन्, कहाँ बस्छन्, उनका पाल्तु जनावरहरू कुन–कुन छन् र उनी कस्ता लुगा लगाउँछन् भन्ने विवरणसम्म थाहा थियो । यहाँसम्म कि मादुरोको घरजस्तै नक्कली भवन बनाएर अभ्यास गरिएको थियो ।
ट्रम्पले अपरेसन पूर्ण अन्धकारमा गरिएको बताए । काराकास सहरका बत्तीहरू बन्द गरिएका थिए, ताकि अमेरिकी सैनिकहरूलाई फाइदा होस् । आक्रमणका क्रममा कम्तीमा सातवटा विस्फोटहरू सुनिएका थिए। सम्पूर्ण अपरेसन ३० मिनेटभन्दा कम समयमा सम्पन्न भएको थियो ।
ट्रम्पका अनुसार, अमेरिकी सेनाका केही जवान घाइते भए पनि कसैको मृत्यु भएन । एक हेलिकोप्टरलाई नोक्सान पुगेको थियो, तर त्यो सुरक्षित फर्किएको थियो ।
ट्रम्पले खराब मौसमका कारण अपरेसन चार दिन ढिलो भएको पनि बताए । मौसम सुधार भएसँगै अवस्था उपयुक्त भएपछि अपरेसनलाई हरियो झण्डा दिइएको थियो ।
हेलिकोप्टरहरू समुद्रको सतहसँग निकै नजिक उड्दै भेनेजुएला पुगेका थिए । माथिबाट अमेरिकी लडाकु विमानहरूले सुरक्षाको व्यवस्था गरेका थिए ।
भेनेजुएलामा अपरेसनका क्रममा अमेरिकी विमान आक्रमणको सिकार
जनरल ड्यान केनले भेनेजुएलामा राष्ट्रपति मादुरोलाई समात्ने क्रममा अमेरिकाको एक विमान आक्रमणको सिकार भएको बताए । तर, त्यो विमान सम्पूर्ण मिसनभर उड्न योग्य नै रहेको उनले स्पष्ट पारे ।
उनका अनुसार, उक्त विमानलाई नोक्सान पुगे पनि पूर्ण रूपमा खराब भएको थिएन । राष्ट्रपति ट्रम्पले पनि अपरेसनमा संलग्न सबै अमेरिकी विमानहरू सुरक्षित फर्किएको बताएका थिए । आक्रमण भएको जहाजले पनि मिसनको बाँकी भाग पूर्ण रूपमा सम्पन्न गरी सुरक्षित फर्किएको जनरल केनले बताए ।
जनरल केनका अनुसार, यो पूरै अपरेसनमा गुप्तचर एजेन्सीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण थियो । आकाश र जमिनमा रहेका अमेरिकी गोप्य टोलीहरूले प्रत्येक पलको जानकारी तुरुन्त सैनिकहरूसम्म पुर्याएका थिए । यसले सैनिकहरूलाई त्यहाँका जटिल अवस्थाहरू बुझ्न मद्दत गरेको र अनावश्यक जोखिमबिना मार्ग निर्धारण गर्न सहयोग पुगेको उनले बताए ।
उनले अमेरिकी सैनिकहरूले आफ्नो काम सम्पन्न गरी भेनेजुएलाबाट बाहिर निस्कँदा विरोध र गोलीबारीको सामना गर्नुपरेको बताए । यस्ता अवस्थामा सैनिकहरूले आफ्नो सुरक्षाका लागि पटक–पटक प्रतिआक्रमण गर्नुपरेको थियो, ताकि उनीहरू सुरक्षित रूपमा देशबाहिर निस्कन सकुन् ।
जनरल केनका अनुसार, सेना र गुप्तचर एजेन्सीहरूबीचको उत्कृष्ट समन्वयकै कारण यो अपरेसन सफल भयो । सबै अमेरिकी सैनिक तथा विमानहरू सुरक्षित रूपमा आफ्ना स्थानमा फर्किएका छन् ।
एजेन्सीको सहयोगमा बाह्खरीबाट