Nepalmuhar Full version →
राजनीति

बालेन आज दलको नेता, भोलि प्रधानमन्त्री

Nepalmuhar March 26, 2026
नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको रास्वपा आज बालेनलाई दलको नेता चयन गर्दै शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गराउने गृहकार्यमा, मन्त्रालय संख्या अधिकतम १५ बनाएर विज्ञता र कार्यक्षमताका आधारमा मन्त्री चयनको तयारी रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई आज बिहीबार संसदीय दलको नेता चयन गर्ने र भोलि शुक्र...

नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको रास्वपा आज बालेनलाई दलको नेता चयन गर्दै शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गराउने गृहकार्यमा, मन्त्रालय संख्या अधिकतम १५ बनाएर विज्ञता र कार्यक्षमताका आधारमा

मन्त्री चयनको तयारी

रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई आज बिहीबार संसदीय दलको नेता चयन गर्ने र भोलि शुक्रबार प्रधानमन्त्रीको शपथ लिई कार्यभार सम्हाल्ने गरी नयाँ सरकार गठनको अन्तिम तयारी थालेको छ । प्रतिनिधिसभामा १८२ सिटसहित झन्डै दुईतिहाइ प्राप्त रास्वपाको संसदीय दल बैठकले आज अपरान्ह नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराएपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । रास्वपाले शुक्रबार नै अन्य मन्त्रीहरूको पनि शपथ गराउने गरी गृहकार्य गरेको छ ।

अन्य सदस्यले जस्तै बालेनले आज बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा संसद्को शपथ लिँदै छन् । त्यसपछि अपराह्न ४ बजे केन्द्रीय समिति बैठकमार्फत रास्वपाले संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रियागत अवरोध हटाउनेछ । विधानमा दल नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्नेछ । रास्वपा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचन लडेको थियो ।

केन्द्रीय समितिबाट विधान संशोधनको काम सकिएपछि संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका दाबेदार वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्ने कार्यतालिका रास्वपाले बनाएको छ । त्यसपछि दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालय पठाउने तयारी छ । त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ ९१० अनुसार बहुमत प्राप्त दलका नेतालाई शुक्रबार बिहानसम्म प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले आजै दलको नेता र मन्त्रीहरूको टुंगो लाग्ने बताए । मन्त्री चयन भने विज्ञता र कार्यक्षमताका आधारमा गरिने रास्वपाले जनाएको छ । ‘केन्द्रीय समिति बसेर संसदीय दलको नेता चयनका लागि बाधा अड्काउ फुकाउँदै अख्तियारी प्रदान गर्छ । लगत्तै, संसदीय दलको बैठक बसेर दलको नेता चयन गर्छ । साथसाथै, मन्त्रीहरू पनि टुंगिन्छन्,’ उनले भने ।

वरिष्ठ नेता शाहनिकट सांसद सस्मित पोखरेलले पनि केन्द्रीय समिति बैठकबाटै सरकारको सम्पूर्ण टिम अन्तिम हुने बताए । उनका अनुसार मन्त्रालयहरूको पुनर्संरचना, मर्जर र संख्या घटाउने विषयमा छलफल जारी छ । ‘कुन मन्त्रालय आवश्यक छ, कसरी प्रभावकारी बनाउने र कुन व्यक्ति कहाँ उपयुक्त हुन्छ भन्ने आधारमा निर्णय गरिनेछ,’ उनले भने, ‘सभापति र वरिष्ठ नेताबिच निरन्तर छलफल भइरहेकै छ । अहिलेसम्म कसैको पनि टुंगो लागेको छैन । केन्द्रीय समिति बैठकले टुंग्याउँछ ।’

यस्तो छ सांसदहरूको शपथ तयारी
२१ फागुनको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो २ बजे शपथ गराइने कार्यसूची छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अन्य २७४ सदस्यलाई शपथ गराउनेछन् । ४७ सांसदले आफ्नो मातृभाषामा शपथ लिँदै छन् ।

संसद् सचिवालयका अनुसार हलमा २९५ सिटको व्यवस्था गरिएको छ भने दर्शकका लागि बाहिर प्रोजेक्टरमार्फत प्रत्यक्ष प्रसारणको प्रबन्ध मिलाइएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले शपथका लागि सम्पूर्ण प्रबन्ध गरिएको बताए । संसद् भवनमा ठाउँ नभएकाले सांसदहरूलाई साथमा एकजना मात्र ल्याउन अनुरोध गरिएको छ । सोहीअनुसार पास वितरण गरिएको छ ।

ज्येष्ठ सदस्य केसीले सम्हाले कार्यभार
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभाध्यक्षको हैसियतमा कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्नुअघि केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए । सभामुख निर्वाचित नभएसम्म नवनिर्वाचित सांसदहरूलाई शपथदेखि बैठक सञ्चालनसम्म ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।केसीले सभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभा बैठक चलाउनेछन् ।

संसद् अधिवेशन आह्वान भएको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले १६ चैतमा अधिवेशन बोलाउने तयारी गरेको छ । यसो हुँदा केसीले चैत मसान्तसम्म ज्येष्ठ सदस्यको नाताले प्रतिनिधिसभाको अध्यक्षको रूपमा काम गर्नेछन् । पद बहालीपछि केसीले निष्पक्षता, पारदर्शिता र जिम्मेवारीपूर्ण कार्यसम्पादनमा आफू प्रतिबद्ध रहेको बताए । उनले संविधान, संसद्को नियमावली र स्थापित संसदीय अभ्यासका आधारमा निर्णय लिने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक सांसदको विशेषाधिकारको रक्षा गर्ने बताए ।

प्रधानमन्त्रीको शपथ १२.३४ बजे, २.१५ मा सिंहदरबारमा पद बहाली
नयाँ सरकारका प्रधानमन्त्रीको शपथ शुक्रबार १२ बजेर ३४ मिनेटमा हुने भएको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार १३ चैत दिउँसो १२.३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहलाई शपथग्रहण गराउनेछन् । शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन गरिनेछ । १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने महामन्त्री बुर्लाकोटीले बताए ।

उनका अनुसार प्रधानमन्त्रीसँगै शीतलनिवासमा मन्त्रीहरूले पनि शपथ लिनेछन् । पहिलोपटकमै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी छ । मन्त्रालय संख्या अधिकतम १५ बनाउने गृहकार्य छ । शपथपछि बालेनले २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद बहाली गर्ने कार्यतालिका छ ।
कमलराज भट्ट/नयाँपत्रिका

Featured प्रधानमन्त्री बालेन