Nepalmuhar Full version →
समसामयिक

आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा

Nepalmuhar December 25, 2024
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै क्रिश्चियनहरुले ‘क्रिसमस डे’ मनाउँदैछन्। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य ख...

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै क्रिश्चियनहरुले ‘क्रिसमस डे’ मनाउँदैछन्।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएका क्रिश्चियन धर्मावलम्बीहरु बताउँछन् । येशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् ।

क्रिश्चियन दिवसका अवसरमा नेपाल सरकारले विसं २०६३ देखि २०७४ सम्म देशभर सार्वजनिक बिदा दिन थालेको थियो। विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। तर, फेरि विसं २०७८ देखि देशभर सार्वजनिक बिदा दिन थालिएको छ ।

क्रिश्चियनहरुले मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउँछन् ।

हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको ख्रिष्टियन महासङ्घको दाबी छ। १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ।

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजको भनाइ छ ।

Featured क्रिसमस डे