Nepal Muhar Full version →
राजनीति

झापा–२ र ५ का उम्मेदवारहरुबीच कडा टक्कर

Nepalmuhar February 4, 2026
आसन्न प्रतिनिधि सभाको निर्वाचनमा झापा– २ र ५ का उम्मेदवारहरुबीच निकै कडा टक्कर पर्ने देखिएको छ । झापा यसै पनि कोसी प्रदेश र पूर्वी नेपालकै रापतापको केन्द्र हो । त्यसमध्ये झापा– २ र ५ मा ‘हेबीवेट उम्मेदवार’ हरुबीच प्रतिस्पर्धा भईरहेकाले ती क्षेत्रमा निकै कडा टक्कर पर्ने देखिएको छ । झापा निर्वाचन क्षे...

आसन्न प्रतिनिधि सभाको निर्वाचनमा झापा– २ र ५ का उम्मेदवारहरुबीच निकै कडा टक्कर पर्ने देखिएको छ । झापा यसै पनि कोसी प्रदेश र पूर्वी नेपालकै रापतापको केन्द्र हो । त्यसमध्ये झापा– २ र ५ मा ‘हेबीवेट उम्मेदवार’ हरुबीच प्रतिस्पर्धा भईरहेकाले ती क्षेत्रमा निकै कडा टक्कर पर्ने देखिएको छ ।

झापा निर्वाचन क्षेत्र नं. २ मा पूर्वमहान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता, काठमाडौं स्कुल अफ ल का अवधारणाकर्ता एवम् पूर्वकार्यकारी निर्देशक प्रा. युवराज संग्रौला (विद्यावारिधि), प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरे, निवर्तमान उपसभामुख इन्दिरा राना मगर, प्रतिनिधि सभाकी निवर्तमान सांसद सरिता प्रसाईँ, पूर्वराज्यमन्त्री धर्मशिला चापागाईँगायत प्रतिस्पर्धाको मैदानमा छन् ।

डा. संग्रौलाले राजनीतिमा होमिएर पहिलो पटक आफू हुर्के–बढेको झापा– २ मा दलविहीन नागरिकहरुकोतर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । संग्रौलाबाहेकका प्रमुख उम्मेदवारहरु घिमिरे, राना, प्रसाईँ, चापागाई यस अघि नै प्रतिनिधि सभामा प्रत्यक्ष वा मनोनित भएर आ–आफ्नो खुबी एवम् क्षमता देखाइसकेका पात्रहरु हुन् ।

जानकारहरुका अनुसार झापा–२ नेकपा (एमाले) को संगठन पकड भएको क्षेत्र हो । तर, एमाले नेताहरुको कार्यशैली र अहंकारले अहिले त्यहाँ २०२८ सालको झापा विद्रोहको विरासत बोकेको एमाले निकै नै कमजोर बनिसकेको छ । निवर्तमान सभामुख घिमिरे झापा आन्दोलनसँग जोडिदै २०७९ को निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् भने झापा विद्रोह हुँदा पूर्वमहान्यायाधिवक्ता संग्रौला विद्रोहको केन्द्र गरामनीस्थित ‘दुर्गा जुनियर हाइस्कुल’ मा अध्ययनरत थिए ।

संग्रौलाका माईला दाजु ईश्वरीप्रसाद संग्रौलालाई झापा विद्रोहमा सहभागी भएको भन्दै प्रहरी प्रशासनले पक्राउ गरेर चरम यातना दिँदै जेलमा कोचेको थियो । भाइ संग्रौला अध्ययरत विद्यालयलाई विद्रोहीहरुको अखडा भन्दै सरकारले बन्द नै गराएको थियो । भविष्यका कर्णधार कलिला विद्यार्थीहरु अध्ययरत विद्यालयलाई विद्रोहीहरुको अखडा भनेर सरकारले बन्द गराएको नेपालमा सायद त्यही विद्यालय नै एक मात्र होला ! गरामनीस्थित ‘दुर्गा जुनियर हाइस्कुल’ सरकारले बन्द गराएपछि पाँचथरको निलगिरी मा.वि. मा पुगेर डा. संग्रौलाले एसएलसी उत्तीर्ण गरेका थिए ।

निर्वाचन आयोगका अनुसार झापा–२ मा एक लाख ४७ हजार पाँच सय ५२ मतदाता छन् । जसमध्ये पुरुष ७३ हजार नौ सय ५० र महिला ७३ हजार पाँच सय ६७ जना छन् । झापा–२ मा ४९ वटा मतदानस्थल र एक सय ६५ वटा मतदान केन्द्र छन् । आयोगका भनाइमा एक हजारभन्दा बढी मतदाता भएको स्थानलाई मतदान स्थल र त्यसभन्दा कम मतदाता भएको स्थानलाई मतदान केन्द्र भनिन्छ । झापा–२ मा ९० प्रतिशत हाराहारी शिक्षित जनसंख्या छ ।

जानकारका अनुसार झापा–२ मा ‘हेबीवेट’ उम्मेदवारहरुबीच प्रतिस्पर्धा भइरहेको भए पनि त्यहाँ खास प्रतिस्पर्धा रास्वपा उम्मेदवार एवम् निवर्तमान उपसभामुख राना र बौद्धिक छवी स्थापित गरेका डा. संग्रौलाबीच हुँदैछ । रोचक यो छ कि झापा–२ बाट बौद्धिक व्यक्तित्व डा. युवराज संग्रौलालाई जिताएर पठाउनुपर्छ भन्ने लहर नै सुरु भएको छ । बुढापाका, पुरुष–महिलादेखि तरुण–तन्नेरीहरुसम्मले यस्तो लहर चलाएका छन् ।

झापा–५ मा पनि रोचक भिडन्त हुँदैछ । झापा–५ मा भावी प्रधानमन्त्री घोषणा गरिएका व्यक्तिहरु नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता एवम् काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) बीच कडा टक्कर छ । २०७० यताका निर्वाचन यही क्षेत्रबाट जित्दै आएका एमाले अध्यक्ष ओलीलाई पराजित गर्न महोत्तरीमा जन्मिएर काठमाडौंमा हुर्के–बढेका बालेन झापा–५ पुगेका छन् ।

बालेनको ससुराली यही निर्वाचन क्षेत्रमा पर्छ । जहाँ पुगेर उनकी श्रीमती सविना काफ्ले मत माग्न व्यस्त छिन् । सुदूरपश्चिम क्षेत्र घुमेर बालेन पनि दुई दिन अघि मात्र आफूले उम्मेदवारी दिएको झापा–५ पुगेका छन् । रोचक के भने झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता त्यहीँ छन् । झापा–५ मा एक लाख ६३ हजार तीन सय ७९ मतदाता छन् । जसमा पुरुष ८१ हजार ८१ र महिला ८२ हजार दुई सय ९६ जना छन् । त्यहाँ मतदान स्थल ६१ वटा र मतदान केन्द्र एक सय ८५ वटा छन् । झापामा निर्वाचन क्षेत्र–५ पछि बढी मतदाता भएको निर्वाचन क्षेत्र झापा–२ हो ।

२१ फागुन २०८२ मा आकस्मिक रुपमा हुँदै गरेको प्रतिनिधि सभाको निर्वाचनमा तीन वटा पार्टी उम्मेदवारी दर्तापूर्व नै प्रधानमन्त्री घोषणा गरेर प्रतिस्पर्धाको मैदानमा होमिएका छन् । ती तीन पार्टी हुन्, नेपाली कांग्रेसबाट सभापति गगनकुमार थापा, नेकपा (एमाले) बाट केपी शर्मा ओली र रास्वपाबाट बालेन्द्र शाह । रमाइलो यो छ कि तीन पार्टी मध्ये एमाले वा रास्वपाका प्रधानमन्त्रीका दाबेदार झापा– ५ को निर्वाचन मैदानमै पराजित हुनेछन् ।

Featured उम्मेदवार झापा–२