STP News Full version →
अन्तर्राष्ट्रिय

‘मनरो डक्ट्रिन’: अमेरिकालाई भेनेजुएला, रुसलाई युक्रेन, चीनलाई ताइवान !

Nepalmuhar January 6, 2026
‘मनरो डक्ट्रिन निकै ठूलो कुरा हो। तर, हामीले त्यसलाई मजाले उछिनिसक्यौँ। ठूलो अन्तरले। आजभोलि यसलाई ‘डनरो डक्ट्रिन’ भन्न थालेका छन्।’ अमेरिकी सेनाले भेनेजुएलाका निकलोस मदुरोलाई कब्जामा लिएकने केही समयपछि नै डोनाल्ड ट्रम्पले भनेका थिए। पश्चिमी गोलार्द्धमा अमेरिकाको प्रभुत्व स्थापित गर्न ट्रम्प प्रशासन...

‘मनरो डक्ट्रिन निकै ठूलो कुरा हो। तर, हामीले त्यसलाई मजाले उछिनिसक्यौँ। ठूलो अन्तरले। आजभोलि यसलाई ‘डनरो डक्ट्रिन’ भन्न थालेका छन्।’ अमेरिकी सेनाले भेनेजुएलाका निकलोस मदुरोलाई कब्जामा लिएकने केही समयपछि नै डोनाल्ड ट्रम्पले भनेका थिए।

पश्चिमी गोलार्द्धमा अमेरिकाको प्रभुत्व स्थापित गर्न ट्रम्प प्रशासन कति प्रतिबद्ध छ भन्ने कुराको नाटकीय प्रदर्शन हो भेनेजुएलाको सैन्य कारबाही। सो क्षेत्रमा अमेरिकाको प्रभुत्व गत महिना प्रकाशित अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको केन्द्रीय हिस्सा हो। भेनेजुएलामा प्राप्त सफलताका कारण ट्रम्प गदगद देखिन्छन्। यसले सो क्षेत्रमा हस्तक्षेप विस्तार गर्ने सोख अझ बढ्ने संकेत गर्छ।

तर, भेनेजुएलामा सत्तापलटको असर संसारभरि पर्नेछ। डनरो डक्ट्रिनको घोषणा अनि रुस र चीनसँग मेलजोल बढाउने ट्रम्पको कदमले उनी महाशक्ति राष्ट्रहरूको प्रभावक्षेत्रमा आधारित विश्वव्यवस्थातर्फ आकर्षित भएको देखिन्छ।

रुस र चीन दुवैले मदुरोको सत्तापलटको भर्त्सना गरे। तर, ताइवानमा आफूखुसी गर्ने छुट पाउने हो भने सी चिनफिङले राजीखुसीले भेनेजुएलामा रहेको चिनियाँ प्रभाव त्यागिदिने छन्। रुस पनि युक्रेनसँग भेनेजुएला साट्न तम्तयार छ। ट्रम्पको पहिलो कार्यकालमा उनको प्रशासनमा काम गरेकी फियोना हिलले २०१९ मा संसदसामु भनेकी थिइन्, ‘रुसीहरूले भेनेजुएला र युक्रेनबीच कुनै किसिमको साटफेर सम्झौता गर्ने चाहना व्यक्त गरिरहेका छन्।’

तत्कालका लागि ट्रम्पले भनेझैँ अमेरिकाले अब भेनेजुएला कसरी चलाउँछ भन्नेमा ध्यान केन्द्रित हुनेछ। स्थिरता स्थापना गर्न र भेनेजुएलाको विशाल तेल भण्डार हत्याउन निर्वासनमा रहेको लोकतान्त्रिक विपक्षी समूहसँग भन्दा मदुरोको शासनका बचेखुचेका मान्छेहरूसँगै सम्झौता गर्ने इच्छा ट्रम्प प्रशासनले देखाएको छ।

अमेरिकाले बाँकी पश्चिमी गोलार्द्धमा हस्तक्षेप बढाउँछ कि बढाउँदैन भन्ने कुरा उसको भेनेजुएला रणनीतिको सफलता वा असफलतामा निर्भर हुनेछ। ट्रम्पका सम्भावित लक्ष्यहरूको सूची पनि प्रस्ट हुँदैछ। मदुरोलाई कब्जा गरेपछि ट्रम्पले कोलम्बिया र मेक्सिकोलाई धम्की दिए। कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेत्रोलाई उनले कोकिन उत्पादन गरिरहेको भन्दै ‘आफ्नो पछाडि हेर्न’ चेतावनी दिए। उनले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया साइनबमको प्रशंसा त गरे, तर गिरोहहरूले मेक्सिको चलाइरहेको बताए।

मेक्सिकोभित्रै पसेर लागुऔषध गिरोहहरूविरुद्ध सैन्य कारबाही गर्ने कि भनेर ट्रम्पको वृत्तमा छलफल हुन थालेको धेरै समय भइसकेको छ। अहिलेसम्म सावधानीले जितेको छ। तर, अब मदुरोलाई पछार्दाको रोमाञ्चले ट्रम्पको हिसाबकिताब बदिलिदिन सक्छ।

क्युबाको कम्युनिस्ट शासन पनि वासिङ्टनको निसानामा छ। जहाँ १९६० को दशकदेखि कयौँपटक अमेरिकाले सत्ता पल्टाउने असफल कोसिस गर्दै आएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोका आमाबुबा क्युबा छाडेर अमेरिका आएका थिए। उनले क्युबाको सरकार ठूलो समस्या भएको बताएका छन्।

‘मलाई लाग्छ, उनीहरू ठूलो संकटमा परेका छन्। भविष्यमा हाम्रो कदम के हुनेछ, म अहिल्यै भन्दिनँ,’ उनले भनेका छन्। मदुरोको पतनले निश्चय नै क्युबाको समस्या बढाउनेछ। किनकि क्युबा भेनेजुएलाको तेल र अनुदानमा निर्भर छन्।

त्यसपछि आउँछ ग्रिनल्यान्ड। ट्रम्पले भर्खरै फेरि ग्रिनल्यान्ड कब्जा गर्ने इच्छा व्यक्त गरेका छन्। जो डेनमार्कको स्वायत्त क्षेत्र हो। भेनेजुएलामा सैन्य हमलालगत्तै ट्रम्पका डेपुटी चिफ अफ स्टाफ स्टिफन मिलरकी पत्नी केटी मिलरले ग्रिनल्यान्डको नक्सामाथि अमेरिकी झण्डा सहितको तस्बिर पोस्ट गर्दै लेखिन्, ‘चाँडै।’

ल्याटिन अमेरिकाको एउटा तानाशाही शासकलाई सत्ताच्युत गर्नुभन्दा नेटो गठबन्धनकै सहयोगीको भूमि हरण गर्नु कयौँ गुना खतरनाक कदम हो। तर, ट्रम्प प्रशासनले अनेकथरी अभिव्यक्तिमार्फत ग्रिनल्यान्ड कब्जा गर्ने माहोल तयार गर्न थालेको धेरै भइसकेको छ। डेनमार्क त्यहाँ असफल भएको उनीहरूको अरोप छ। ट्रम्प प्रशासनले खुलेआम युरोपेली सहयोगीहरूको बेइज्जत र अपमान गरेको हेर्दा अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्ने कदम नचाल्ला भन्न सकिन्न।

यी सम्पूर्ण घटनाक्रमलाई बेइजिङ र मस्कोले मक्ख पर्दै हेर्नेछन्। किनकि शक्तिशाली मुलुक र बाहुबली शासकले छिमेकमा आफूखुसी गर्न पाउने विश्व रुस र चीन दुवैलाई फलिफाप हुन्छ। सायद ट्रम्प आफैँलाई पनि लागेको होला– विश्वलाई अमेरिका, रुस र चीनको प्रभावक्षेत्रमा अनौपचारिक रूपमा बाँडफाँट गर्दा ‘रणनीतिक स्थिरता’ कायम हुन्छ। किनकि अमेरिकाको पछिल्लो राष्ट्रिय सुरक्षा रणनीतिले रणनीतिक स्थिरतालाई प्राथमिकतामा राखेको छ।

यसरी महाशक्ति मुलुकहरूको प्रभावक्षेत्र निर्माण गर्दा स्थिरता पैदा हुन्छ भन्ने कुरा सतही रूपमा हेर्दा सही जस्तो लाग्छ। तर, यसले साना मुलुकको धारणा र हितलाई बेवास्ता गर्छ। त्यस्ता मुलुक महत्त्वहीन बन्न पुग्छन्, आफ्नो निर्णय आफैँले लिन नपाउने अवस्था आउँछ। तर, त्यस्ता मुलुकसँग पनि इच्छाशक्ति र समार्थ्य हुन्छ। र, कहिलेकाहीँ ती लड्न तत्पर हुन्छन्, जसरी युक्रेन लडिरहेको छ।

तथाकथित ‘महाशक्ति’ मुलुकका स्वार्थलाई मात्र विचार गर्ने हो भने पनि प्रभावक्षेत्रले जति स्थिरता पैदा गर्छ, उति नै टकराव पैदा गर्ने सम्भावना हुन्छ। यसो हुनुको कारण के हो भने अमेरिका जस्ता मुलुकका विश्वव्यापी स्वार्थ हुन्छन्। उदाहरणका लागि चीनले ताइवानलाई आफ्नो भूमिको अभिन्न हिस्सा र राष्ट्रिय स्वार्थको ‘केन्द्र’ मान्छ। तर, ताइवानको सेमिकन्डक्टर उद्योग चीनको हातमा पर्‍यो वा दक्षिण चीन सागरको समुद्री मार्ग चीनको नियन्त्रणमा गयो भने अमेरिकालाई लाग्छ– उसको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भयो।

पश्चिमी गोलार्द्धमा अमेरिकी प्रभुत्वको सट्टामा पूर्वी एसियामा चीनको प्रभुत्व कायम गर्नु यो शताब्दीकै ठूलो सौदा हुनेछ, चीनका लागि।

फाइनान्सियल टाइम्सबाट अनुवाद

मनरो डक्ट्रिन