मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर माओवादीले बाजी मारेको छ । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् ।
माझी ६९६९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत प्राप्त गरेका छन् । एमालेका तुलसीराम विश्वास ४१५९ मत ल्याएर तेस्रो भएका छन् ।
ग्रामथानमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । त्यसबेला त्यहाँ माओवादी तेस्रो भएको थियो ।
यता जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् । त्यहाँ ४२७२ मत पाएर लामिछाने उपमेयर विजयी भएकी हुन् ।
कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ र एमालेकी सुनिता बोहराले २५४२ मत पाएका निर्वाचन आयोगले जनाएको छ । नलगाड नगरपालिकामा यसअघि नेपाली कांग्रेसले उपमेयरमा बाजी मारेको थियो ।