आउँदो फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि झापाको क्षेत्र नंं. २ बाट उम्मेदवार बन्न प्राध्यापक डाक्टर युवराज संग्रौलालाई जोडदार आग्रह गरिएको छ । संग्रौलाको बाल्यकाल झापाको क्षेत्र नं. २ मा पर्ने शनिश्चरे सालबाडीमा बितेको थियो । उनले कखरा समेत त्यहीँ सिकेका थिए । २०२८ सालको झापा विद्रोहमा उनका माहिलो दाजुलाई तत्कालीन सरकारले पक्राउ गरेर चरम यातना दिएको थियो भने पितासहित परिवार नै विस्थापनमा परेका थिए । त्यसपछि संग्रौला पाँचथरको निलगिरी मा.वि. मा पुगेर एसएसली उत्तीर्ण भएका थिए ।
संग्रौला काठमाडौं स्कुल अफ ल का परिकल्पनाकार, वरिष्ठतम् संस्थापक एवम् पूर्वकार्यकारी निर्देशक त हुन् नै, नेपालका एक सार्वजनिक वौद्धिक समेत हुन् । नेपाल सरकारको पूर्वमहान्याधिवक्ता संग्रौला सुरक्षा निकाय पुनर्संरचना आयोगका प्रमुख समेत भइसकेका छन् । संग्रौलाकै अगुवाईमा २६ वर्ष अघि सन् २००० मा काठमाडौं स्कुल अफ ल को स्थापना भएको थियो । जो यसबेला नेपालमा मात्र होइन, विश्वस्तरमै समृद्धिको सामुदायिक नमूना कानून शिद्यालयका रुपमा स्थापित छ ।
काठमाडौं स्कुल अफ ल को कार्यकारी निर्देशकबाट अवकाश लिएपछि प्रा.डा. संग्रौला अस्ति २२ पुसमा आफ्नो बाल्यकाल बितेको झापाको क्षेत्र नं. दुईमा पर्ने पूर्वी नेपालकै स्थापित बजार बिर्तामोड लगायत स्थानमा पुगेका थिए । संग्रौला झापा पुगेको जानकारी पाएपछि २३, २४ र २५ पुसमा झापाको क्षेत्र नं. २ मा पर्ने बिर्तामोड, होक्से–बुधबारे, खुदुनाबारी, शनिश्चरे–सालबाडी, बिराटपोखर, चारपानेलगायत स्थानमा भेला भएका स्थानीय अगुवाहरुले संग्रौलालाई आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बन्न जोडदार आग्रह गरेका हुन् ।
संग्रौलालाई उम्मेदवार बन्न आग्रह गर्नेमा नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापति केशव आचार्य, नागरिक अगुवा कृष्णप्रसाद उप्रेती, यमबहादुर इङनाम, अग्नि तिमिल्सिना, लोकनाथ खनाल, पूर्वशिक्षक प्रेम सापकोटा, छन्दुराम भण्डारी, व्यवसायी भरत संग्रौलालगायत सैयौं छन् । त्यस्तै बिर्तामोड उद्योग वाणिज्य महासंघका प्रतिनिधिलगायत अन्य उद्योगी, व्यवसायीहरुले पनि संग्रौलालाई उम्मेदवार बन्न बारम्बार आग्रह गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापति, साहित्यकार एवम् नागरिक अगुवा केशव आचार्यले प्रा.डा. युवराज संग्रौला जत्तिको वौद्धिक व्यक्तित्वको उम्मेदवारी झापाका लागि अनिवार्य छ । किनभने अहिलेकोे राजनीतिले युवा र वौद्धिक वर्गलाई ठाउँ दिएन । जनतालाई कहिल्यै स्वतन्त्र बनाएन । मतदातालाई एउटा न एउटा पार्टीमा आवद्ध गरायो । त्यसैको परिणाम अहिले विषम परिस्थिति उत्पन्न भएको छ । यो विषम परिस्थितिलाई पर्गेल्न र नेपालीत्व खोज्न युवराज संग्रौला जत्तिको वौद्धिक मान्छेलाई हामीले चिन्न–खोज्न सक्नु पर्छ भन्दै झापा–२ मा उम्मेदवारीका लागि निम्त्याएका थिए ।
आचार्यको थप भनाइ थियो, ‘युवराज संग्रौलाले नेपाल देश र यहाँको सत्ताको नेतृत्व गर्ने दलहरुलाई सधैं स्वतन्त्र सुझाव दिइरहनु भएको छ । हामीलाई साँचिकै जनताका लागि काम गर्ने युवराज संग्रौला जस्ता मान्छे चाहिएको छ । अन्यायकाविरुद्ध, वेथितिका विरुद्ध हाम्रा कुरा बोलिदिने मान्छे चाहिएको हो । त्यो मान्छे यसबेला युवराज संग्रौला हुनुहुन्छ । हामीलाई उहाँ जस्तै विद्धता भएको नमूना मान्छे चाहिएको छ । उहाँ हामीलाई सचेत गर्न आउनु भएको छ । त्यसैले युवराज संग्रौला यस क्षेत्रबाट उठ्नुपर्छ । यहाँबाट उठ्नु भयो भने म चाहिँ उहाँसँग हिड्छु । अरु सैयौं उहाँका पछि हिडेर उहाँलाई जिताऔं । किनकी उहाँ ज्ञानको मुहान हो । फेरि पनि मेरो आग्रह छ, युवराज संग्रौला यस क्षेत्रबाट उम्मेदवार बनिदिनुहोस् । राजनीतिको पुनर्संरचना गर्न संसदमा युवराज संग्रौला जस्ता मान्छे हामीलाई, देशलाई चाहिएको छ ।’
आचार्यको जस्तै भनाइ आम अगुवाहरुको थियो । झापामा संग्रौलासँगै रहेका रामकाजी कपालीमा अनुसार कतिपय अगुवाहरुले त उम्मेदवारी दर्ता नगराई काठमााडौं फर्कनै नदिने भनेर दबाब समेत दिएका थिए । संग्रौला झापामा रहुन्जेल विभिन्न स्थानमा बृहत् साक्षात्कार र विमर्श भएको थियो । कपालीका भनाइमा तीन दिनमा करिब एक हजार मानिसहरुसँग अन्तरक्रिया भएको छ । कपाली भन्छन्, ‘अन्तरक्रियामा सहभागीहरुको पटक–पटक प्रश्न के थियो भने २०७९ को निर्वाचनमा यस क्षेत्रमा स्वागत नेपाल आएका थिए । हामीले उनलाई साथ दिऔं । तर, निर्वाचनमा थोरै मतले पराजित भएपछि एक पटक पनि फर्केरै आएनन् । तपाई पनि त्यसै गर्नुहुन्छ कि हुन्न ?’
त्यसक्रममा संग्रौलाले आफूबाट कुनै हालतमा विस्वासघात नहुने बचनवद्धता जनाएका थिए । झापाका मतदाताहरुमा नयाँ उदाएकाहरुप्रति संशय र पुरानाहरुप्रति विरक्ति देखिएको थियो । कतिसम्म भने सबै नागरिक अगुवाहरुले संग्रौलालाई ‘तपाई आई दिनु भएन भने अरु नेताबाट हामीलाई धोका हुन्छ । जनता जगाउन, देश बचाउन पनि तपाई जत्तिका व्यक्ति राजनीतिमा आइदिनुपर्छ, उम्मेदवार बनिदिनुपर्छ । विजयी बनाएर पठाउने काम हाम्रो’ भनेर आग्रह गरेका थिए । झापाका नागरिक अगुवाहरुमध्ये संग्रौलालाई उम्मेदवार बन्न सबभन्दा बढी जोड कृषकहरुले गरेका छन् । संग्रौलाले पछिल्ला दिनहरुमा कृषिमा रुपान्तरण, आधुनिकीकरण, विषादीरहित कृषिको उत्पादन र कृषकको स्तरोन्नतिका बारेमा बहस–पैरवी गर्दै आइरहेका छन् ।
दूषित भइसकेको नेपाली राजनीति र देशभक्तिलाई लयमा फर्काउन प्रा.डा. संग्रौलाले केही समय अघिदेखि नागरिक सर्वोच्चतालाई अघि सारिरहेका छन् । संग्रौलाका अनुसार नागरिक सर्वोच्चता भनेको त्यो हो, राजतन्त्रमा राजा र उनी निकटस्थ मात्र हाबी भए । दलतन्त्रमा दलहरुले दलालीलाई मात्र स्थापित गराए । नागरिकतन्त्रमा नागरिकहरु शक्तिशाली हुन्छन्, जसले नागरिकको स्वाधीनतालाई बलियो त बनाउँछ नै, समृद्धिको राजमार्गलाई पनि द्रुततर गतिमा अघि बढाउँछ । त्यसैले अबको राजनीतिको शुृद्धिकरण र राज्यको समृद्धिकरणका लागि नागरिक सर्वोच्चता एक मात्र आधुनिक बाटो हो ।
राजतन्त्र र दलतन्त्रले मुलुकलाई द्रुततर गतिमा समृद्धिको मार्गमा अघि नबढाएकैले नेपाल पछौटे राष्ट्रकै रुपमा रहिरहनु परेको प्रा.डा. संग्रौलाको निष्कर्ष छ । नेपाललाई चाँडोभन्दा चाँडो समृद्ध र नागरिकलाई चाँडोभन्दा चाँडो स्वाधीन बनाउन प्रा.डा. संग्रौलाले नागरिक समृद्धिको मूलमार्गको खाँकासहितको पुस्तक समेत प्रकाशित गरेका छन् । स्थानीय अगुवाहरुको जोडदार आग्रहपछि संग्रौला झापा–२ बाट उम्मेदवार बन्ने संभावना रहेको बताइएको छ ।