Connect with us

राजनीति

झापा–२ मा निवर्तमान सभामुख, उपसभामुख, पूर्वमहान्यायाधिवक्ता, निवर्तमान सांसद, पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

Published

on

झापा–२ मा घाघडानहरुबीच प्रतिस्पर्धा, प्रा.डा. युवराज संग्रौला स्थानीयको आग्रहमा बने उम्मेदवार

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (नेपाली कम्युनिष्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराई (विद्यावारिधि), रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उज्यालो नेपाल अध्यक्षका कुलमान घिसिङलगायत गिनेचुनेका नेताहरुको निर्वाचन क्षेत्रमाथि अनेक टिप्पणी, अडकलबाजी हुन भइरहेका छन् ।

त्यही मेसोमा उत्तिकै गिनेचुनेकाहरुबीच रस्साकसी पर्न लागेको एउटा निर्वाचन क्षेत्रको भने खासै चर्चा भएको छैन । माथि उल्लेखित जस्तै घाघडानहरुको प्रतिस्पर्धा हुँदै गरेको निर्वाचन क्षेत्र हो, झापा–२ । झापा क्षेत्र नं. २ पूर्वी नेपालमा तीव्रतर गतिमा विकास भएको आधुनिक सहर बिर्तामोड, अर्जुनधारालगायत भूगोलमा अवस्थित छ ।

यस निर्वाचन क्षेत्रमा निवर्तमान ‘सम्माननीय’ सभामुख देवराज घिमिरे, निवर्तमान उपसभामुख इन्दीरा राना, नेपाल सरकारका पूर्वमहान्यायाधिवक्ता प्रा. युवराज संग्रौला (विद्यावारिधि), प्रतिनिधि सभाकी निवर्तमान सांसद सरिता प्रसाईँ, पुर्वस्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाईलगायत घाघडानहरुबीच रोचक प्रतिस्पर्धा हुँदैछ । थप रोचक के भने निवर्तमान सभामुख र उपसभामुखबीच एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा दुर्लभ संयोग हो ।

निवर्तमान सभामुख घिमिरे नेकपा (एमाले), निवर्तमान उपसभामुख राना रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी), पूर्वमहान्यायाधिवक्ता संग्रौला स्वतन्त्र (दलविहीन), चापागाई नेकपा (नेपाल कम्युनिष्ट पार्टी) बाट प्रतिस्पर्धाको मैदानमा उत्रिएका हुन् । संग्रौला कानूनविद् त हुन् नै, दक्षिण एसियाकै ‘रोलमोडल’ शिक्षालय ‘काठमाडौं स्कुल अफ ल’ का वरिष्ठ संस्थापक एवम् निवर्तमान कार्यकारी निर्देशक समेत हुन् । संग्रौलाले गत असार ३१ गतेबाट कार्यकारी निर्देशकको जिम्मेवारीबाट अवकाश लिएका थिए ।

जिल्ला निर्वाचन आयोगको कार्यालय झापाका अनुसार झापाको क्षेत्र नं. २ मा यसपटक एक लाख ३४ हजार ९१ मतदाता छन् । यस क्षेत्रबाट हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले केशव भण्डारीलाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट २८ हजार सात सय १६ मत पाएर निवर्तमान सभामुख घिमिरे निर्वाचित भएका थिए । उनको निकटतम प्रतिद्धन्द्धी भद्रप्रसाद (स्वागत) नेपालले २६ हजार चार सय ५५ मत पाएका थिए । ०७९ मा नेपालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यस पटक नेपाल राप्रपाको पुच्छ्रे बनेर पुनः उम्मेदवार खडा भएका छन् ।

२०७९ अघि २०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेकी पवित्रा खरेल निर्वाचित भएकी थिइन् । जसलाई एमाले अध्यक्ष ओलीले गत निर्वाचनमा टिकट नै दिएनन् । २०७० मा निर्वाचनमा झापा–२ बाट कांग्रेसका सुधीर सिवाकोटीले जित हात पारेका थिए ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट समानुपातिकतर्फ एमालेले २६ हजार चार सय ९०, रास्वपाले २२ हजार पाँच सय १७, कांग्रेसले १५ हजार चार ९८, राप्रपाले सात हजार आठ सय ८०, माओवादीले तीन हजार आठ सय ६९ र एकीकृत समाजवादीले एक हजार ६९ मत पाएका थिए ।

स्थायी बसोबास यही क्षेत्रस्थित शनिश्चरे सालबाडी भएका प्रा. संग्रौला स्थानीयको माग बमोजिम स्वतन्त्र उम्मेदवार बनेका हुन् । झापा–२ को प्रतिस्पर्धा निकै पेचिलो बन्ने स्थानीयको भनाइ छ । स्वतन्त्र उम्मेदवारी दिएका प्रा. संग्रौला नेपालकै एक गिनेचुनेका वौद्धिक व्यक्तित्व हुन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.