Connect with us

अर्थ

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

Published

on

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरूद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पदको दुरुपयोग गरी करोडौं भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो। 

बस्नेतसँग ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बिगो, बिगो बराबरको जरिवाना तथा कैद सजाय माग माग दाबी लिएर मुद्दा दायर गरिएको घिमिरेले बताए। 

‘नागार्जुन नगरपलिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीका सम्बन्धमा अनुसन्धान गरिएको थियो,’ घिमिरेले भने, ‘उहाँको वैधानिक आयस्रोतको लेखाजोखा गर्दा उक्त बराबरको सम्पत्ति गैरकानुनी तरिकाले आर्जन गरेको देखियो।’

बस्नेत २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन्। उनी अघिल्लो पटकको स्थानीय निर्वाचनमा समेत कांग्रेसबाटै निर्वाचित भएका थिए।’

अख्तियारले दोस्रोपटक मेयर निर्वाचित भइकनको कार्यकालको अवधिमा बस्नेतले आर्जन गरेको सम्पत्तिको लेखाजोखा गरेको थियो। 

‘बस्नेत नागार्जुन नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित हुनुपूर्व र उनको परिवारका सदस्यका नाममा विभिन्‍न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरुमा रहेका खातामा सुरू मौज्दातवापतको रकम, पारिश्रमिक/तलब, दैनिक भ्रमण भत्ता, विभिन्न भत्ता वापतको शतप्रतिशत बचत रकमको अनुसन्धान गरिएको थियो,’ अभियोग पत्रमा भनिएको छ, ‘श्रीमती उर्मिला बस्नेतको पारिश्रमिक/तलब रकम, श्रीमतीको विद्यालय भत्ताको बचत रकम, छोराको तलब रकम, विभिन्‍न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरूबाट लिएको कर्जावापतको रकम, जग्गा बिक्रीबाट प्राप्‍त आयवापत रकम (जग्गा बिक्रीवापतको आय गणना गर्दा बिक्री भएको जग्गा खरिद गर्दा वैधानिक आय स्रोतबाट खरिदवापतको खर्चको स्रोत पुष्टि भएको अनुपातमा मात्र बिक्री आय गणना गरिएको छ।’

अनुसन्धान अवधिमा बस्नेतले १९ करोड ९५ लाख ७४ हजार ८६३ रुपैयाँ आर्जन गरेको देखिएको छ। सोही अवधिमा उनी र उनको परिवारले २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ। 

‘यसरी समग्र आयबाट सोही अवधिको खर्च तथा लगानी (कुल व्यय) घटाउँदा कुल आयभन्दा कुल व्यय अधिक हुन गएको देखियो,’ अभियोग पत्रमा भनिएको छ।

मुद्दा दायर गर्दा बस्नेतलाई कैद, जरिवाना र गैरकानुनी रुपमा लुकाएर राखिएको सम्पत्ति जफतसमेत गर्न माग गरिएको प्रवक्ता घिमिरेले बताए। 

बस्नेतले आर्जन गरेको गैरकानुनी सम्पत्ति श्रीमतीको नाममा राखेको पाइएको छ। श्रीमती उर्मिलाको नाममा नगद तथा घर-जग्गा राखेको पाइएको छ।

श्रीमती उर्मिलाविरूद्धसमेत अख्तियारले गैरकानुनी रुपमा राखिएको सम्पत्ति जफत गर्ने प्रयोजनको लागि मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए। 

अख्तियारले बस्नेतविरूद्ध गत पुसमा घुस खाएको आरोपमा ९ करोड २२ लाख रुपैयाँको बिगो माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.