कान्छो भाइ आङ तेण्डीको परिवारलाई रुवाउँदै यति समूहका ल्हाक्पा सोनाम शेर्पा, तेण्डीको श्रीमती र छोरा यती एअरलाइन्सको सेयरबाट बन्चित

no-image

नेपाल मुहार - २०८१-०१-३०

यति समूहका ल्हाक्पा सोनाम शेर्पाले कान्छो भाइ आङ तेण्डी शेर्पाको परिवारलाई चरम अन्याय गरेर व्यापार, व्यवसाय, अशंवण्डाबाट पाखा लगाउने प्रयत्न गरेका छन् । ल्हाक्पा सोनामले तेण्डीकी श्रीमती फुरदिकी र छोराहरु लाक्पा गेलु एवं दावा जाङबु शेर्पालाई कम्पनीका सेयर सदस्यबाट समेत बन्चित गरेका छन् । 

यति समूहका जे जति कम्पनीहरु छन्, ल्हाक्पा सोनाम, आङ छिरिङ र आङ तेण्डी तीन दाजुभाइ नै बराबर हकदार हुन् । थामसेर्कु ट्रेकिङ कम्पनी, यति एअरलाईन्सलगायत स्थापना गर्दा तीन दाजुभाइकै ३३/३३ प्रतिशत सेयर स्वामित्वको व्यवस्था गरेका थिए । तर, पछिल्लो समयमा ल्हाक्पा सोनाम शेर्पाले जालझेलपूर्ण षडयन्त्र गरेर कान्छो तेण्डीको परिवारलाई व्यवसायको सेयरबाट पाखा लगाएका कम्पनी रजिष्ट्रारको कार्यालयबाट नेपालमुहारलाई प्राप्त कागजातबाट देखिन्छ ।

अझ् रोचक के भने ल्हाक्पा सोनामले यति एअरलाईन्सको सेयर यशियन लाईफ इन्स्योरेन्सलाई गैरकानूनी रुपमा बिक्री गरेका छन् । उक्त सेयर बिक्री गर्दा कान्छो तेण्डीको श्रीमती र छोरालाई पुरै बिमुख गराएर ल्हाक्पा सोनामले आफ्नो असली अनुहार देखाएका छन् । आफ्नो परिवारका ६ जना र साइलो आङ छिरिङको परिवारका तीन जनाका नाममा मात्र यति एअरलाईन्सको सेयर देखाएर कान्छो तेण्डीकी श्रीमती फुरदिकी र छोराहरु क्रमशः लाक्पा गेलु र दावा जाङबुलाई बन्चित गरेका हुन् । 

यति एअरलाईन्सको सेयरमा ल्हाक्पा सोनामले आफूसहित श्रीमती अनिता शेर्पा, जेठी छोरी दावा फुटी शेर्पा, जेठो छोरो नामगेल शेर्पा, कान्छी छोरी दिकी शेर्पा (पासाङ ल्हामुतिरका), कान्छो छोरो सोनाम छिरिङ शेर्पा (कान्छी श्रीमती अनितातिरको) र साइलो भाइ आङ छिरिङकी श्रीमती चन्दा राई शेर्पा, उनीहरुका छोराहरु नोर्बु छिरिङ शेर्पा र नावाङ्ग पासाङ्ग शेर्पाका नाममा मात्र सेयर देखाएका छन् । यति एअरलाईन्सको सेयर बिक्री गर्दा कम्पनीको चुक्ता पूँजी दुई अरब ६६ करोड ९८ लाख ५० हजार कायम गरिएको छ ।

एशियन लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । एशियन लाईफ इन्स्योरेन्स बाहेक ग्रो क्यापिटल प्रा.लि., निशेष श्रेष्ठ, अलिशा घिमिरे, सुशान्त हाडा, परिना प्रधान, प्रसिद्ध वैद्य, सजल मास्के, आचल मास्के, विनिता राणा र लक्ष्मी ओझाका नाममा यति एअरलाईन्सको सेयर बिक्री गरिएको छ । 

जानकारका भनाइमा यति एअरलाईन्स स्थापनाको परिकल्पनाकार नै आङ तेण्डी शेर्पा हुन् । यति एअरलाईन्समा तेण्डीको ३३ प्रतिशत सेयर छ । एअरलाईन्स स्थापनाको लामो समय नबित्दै ०५५ कात्तिक ७ गते सोलुखुम्बूको बासामा हेलिकोप्टर दुर्घटनामा परी तेण्डीको मृत्यु भएको थियो । ०७५ फागुनमा ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामै मृत्यु भएका आङ छिरिङले व्यापार व्यवसायमा तीनै दाजुभाइका सन्तानलाई मिलाएका थिए । आङ छिरिङको मृत्युपछि उनकी श्रीमती चन्दा र ल्हाक्पा सोनामले षडयन्त्र रचेर तेण्डीको श्रीमती र छोराहरुलाई व्यापार, व्यवसाय, सेयरबाट किनारामा धकेलिरहेका जानकारको भनाइ छ । 


 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview