माओवादी नेता कालीबहादुर खामको पक्राउ नै सुनियोजित, को हुन् खाम ?

no-image

माधव बस्‍नेत - २०८०-१२-२१

काठमाडौंको ठमेल, गोंगबु, सामाखुशी क्षेत्रका दोहोरी गीत/संगीत पारखीहरुका लागि कालीबहादुर खाम अर्थात ‘कम–रेड विविध’ कुनै अपरिचित नाम र अनुहार थिएन । रंगिन रातको बैँस छिप्पिँदै र लय लम्बिदै जाँदा कालीबहादुर बिजुलीको उज्यालोमा ‘गोरीबहादुर’ बनेर निकै जम्थे । उनका अघिपछि ‘साथीसंगाती’ हरुको ठूलै जमात हुन्थ्यो । खामको कतुर्तबारे जानकारी पाएकाहरु समेत उनको ‘हाँइफाँइ’ सामु लुत्रुक्क हुन बाध्य हुन्थे ।

खासमा खाम प्रहरी अभिलेखमा श्रृंखलावद्ध अपराध (सिरियल क्राइम) का मुख्य अभियुक्त थिए । अभिलेखमा सिलसिलेवार अपराधी (सिरियल क्रिमिनल) भए पनि १५ वर्षसम्म प्रहरीले खामलाई पक्राउ गर्न सकेको थिएन । पक्राउ गर्न सकेको थिएन त के भनौं, योजनावद्ध रुपमै पक्राउ गरिएको थिएन । किनकी उनलाई सत्ताधारी नेताहरुकै मजबुत संरक्षण रहेको एक कान, दुई कान मात्र थिएन, मैदानमा सर्वत्र थियो । फलतः खामको ‘हाइहुकुम’ निर्वाध चलिरहयो । 

नेकपा माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य र सुरक्षा विभाग उपप्रमुखका रुपमा खामले आफूले चाहेका व्यक्तिसँग सहजै भेटिरहेका थिए । माओवादी सशस्त्र विद्रोह छउन्जेल खामको नाम सफल, साहसी र उच्च सैन्य क्षमताको कमाण्डरका रूपमा स्थापित थियो । रुकुमको हुकामका खाम ०५२ बाटै माओवादीमा पूर्णकालीन भएका थिए । 

तर, शान्ति प्रक्रियामा आएपछि शृंखलावद्ध अपराधका अभियुक्त बनेका उनै खामलाई नेपाल प्रहरीले हिजो २० चैत्र ०८० मा खासगरी उनको रात्रिकालीन अखडा ठमेलबाटै पक्राउ गर्यो । १५ वर्षसम्म निर्वाध छाडिएका खामलाई माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले), रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) लगायतसँग नयाँ गठबन्धन बनाएको महिना दिन नबित्दै किन पक्राउ गरे  ? 

नेकपा (एमाले) का एक जना सचिव खामलाई कांग्रेस वा आफूसँग असहमत हुनेहरुलाई तर्साउने सुनियोजित सत्ताधारी योजना अन्र्तगत पक्राउ गरिएको नेपालमुहारलाई बताउँछन् । “बाबुराम भट्टराईको भाषामा भन्नु पर्दा पहिले आफैंले पालेको खसी काटेर खाएपछि अरुका गोठको मोलमोलाई गरेर खान सजिलो हुन्छ । नयाँ गठबन्धनको एउटा मुख्य उद्देश्य कांग्रेसलगायत प्रतिपक्षलाई दबाबमा राख्नु हो”, उनी भन्छन्, “माओवादी केन्द्रकै उपाध्यक्ष, पूर्वउपप्रधान, अर्थ, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि मन्त्री भइसकेका कृष्णबहादुर महरा, १५ वर्षदेखि फरार भनिएका माओवादी केन्द्रकै नेता खामलाई पक्राउ गरेर यो सरकारले दागमा मुछिएका कांग्रेसका नेताहरु खासगरी आरजु राणा देउवालगायतलाई जुनसुकै बेला पक्राउ गरिन्छ भन्ने सन्देश दिन खोजिएको हो। खामलाई प्रधानमन्त्री प्रचण्डले सुनियोजित योजना अन्तरगत पक्राउ गराएका हुन् ।”

प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा दर्ज भएका खाम कोटेश्वरका रेस्टुरेन्ट व्यवसायी रामहरि श्रेष्ठको हत्याका मुख्य अभियुक्त हुन् । श्रेष्ठलाई १५ वैशाख ०६५ मा कोटेश्वरस्थित उनकै निवासबाट मध्येराति २ बजे अपहरण गरेर शक्तिखोरस्थित लडाकु शिविर पुर्याएर सोधपुछका नाममा क्रुरतापूर्वक कुटपिट गरी हत्या गरिएको थियो । जुन हत्याको मुख्य अभियुक्तका रुपमा खामको नाम जोडिएको डेड दशक भइसकेको छ ।  

यसरी गरिएको थियो श्रेष्ठको हत्या 
चितवनको शक्तिखोरस्थित माओवादी लडाकुहरुको तेस्रो डिभिजनका कमाण्डर थिए, कालीबहादुर खाम ‘विविध’ । शिविरमा बस्न थालेपछि खामले काठमाडौंको कोटेश्वरस्थित रामहरि श्रेष्ठले घरमा डेरा लिएका थिए । उनको त्यही डेरालाई माओवादीले ‘जनमुक्ति सेना’ को तेस्रो डिभिजनको सम्पर्क कार्यालय बनाएको थियो । १४ चैत ०६४ को राति खामको डेरा अर्थात तेस्रो डिभिजनको सम्पर्क कार्यालयबाट १७ लाख रुपैयाँ र पेस्तोल चोरीयो भनियो । हल्लाखल्ला मच्चिएपछि पैसा र हतियार भेटियो पनि । तर छानबिनको नाममा लडाकुहरुले घरबेटी श्रेष्ठलाई शक्तिखोरस्थित शिबिरमा पुर्याएर निर्मम हत्या गरे ।

पैसा र पेस्तोल चोरीको घटना अनुसन्धानका लागि भनेर तत्कालीन ब्रिगेड कमाण्डर गोविन्दबहादुर बटाला ‘जीवित’ ले श्रेष्ठलाई १५ वैशाख राती २ बजे अपहरण गरेर शक्तिखोरस्थित लडाकु शिविर पुर्याएका थिए । सोधपुछका क्रममा क्रुरतापूर्वक कुटपिट गरी श्रेष्ठको हत्या गरिएको थियो । जसको मुख्य अभियुक्तका रुपमा खामको नाम जोडिएको डेड दशक भइसकेको छ । 

त्यसबेला प्रचण्डलगायत माओवादी नेताहरुले खामलाई मजबुत संरक्षण दिएका थिए । श्रेष्ठ हत्याको चार महिना नबित्दै भदौ ०६५ मा प्रचण्डको नेतृत्वमा माओवादी प्रथम पटक सरकारमा पुग्यो । रामबहादुर थापा ‘बादल’ रक्षामन्त्री बने । रक्षामन्त्री बादलले निकै महिना खामलाई आफैसँग राखेर संरक्षण दिए । जो प्रचण्डकै निर्देशनमा भएको थियो । त्यसबेला चितवनको एउटा सार्वजनिक कार्यक्रममा खाम रक्षामन्त्री बादलसँगै देखिएपछि सदनदेखि सडकसम्म चर्को विरोध भएको थियो । तर, माओवादीले त्यो बिरोधलाई हावाको सामान्य झोक्का जसरी सजिलै पचाईदियो । 

श्रेष्ठको हत्या अभियोगी लडाकु कमाण्डरलाई माओवादी नेतृत्वले संरक्षण गरेको पुष्टि भएसँगै ९ असोज ०६६ मा संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त प्रमुख रिचर्ड बेनेटले समेत खामलाई अनुसन्धानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गराउन माओवादी अध्यक्ष प्रचण्डलाई पत्र लेखेका थिए । यो पत्रलाई पनि प्रचण्डले सहजै पचाइदिए । किनभने त्यसबेला प्रचण्डले चाहेका भए खाम पक्राउ पर्न वा आत्मसर्मपण गराउन सक्थे । बरु प्रचण्डले हत्या गरिएका रामहरि श्रेष्ठ परिवारसँग लिखित सहमति गरेर २० लाख रुपैयाँ दिएका थिए । यति मात्र होइन, प्रहरी सूचीमा 'मष्ट वान्टेड' हुँदा पनि माओवादी सत्तामा छँदा एक समय खामको सुरक्षार्थ दुई जना सशस्त्र प्रहरी दिएको थियो । 

श्रृंखलावद्ध अपराधका श्रृंखला 
हत्या अभियोगीबाट अभिलेखित खामको ‘अपराध शृंखला’ यतिमा मात्र सीमित छैन, हातहतियार खरखजाना, चोरी–डाँका, सरकारी कागजात किर्तेलगायतसम्म विस्तारित छ । जानकारका शब्दमा खाम र उनीनिकटहरुको रक्तचन्दन, यार्सा, सुन, गिटी–बालुवालगायतको तस्करीमा ठूलो सञ्जाल छ ।

माओवादी अध्यक्ष एवं ‘जनमुक्ति सेना’ का सुप्रिम कमाण्डर प्रचण्डकै धापमा कुनैबेला खामले चितवन शक्तिखोरस्थित लडाकुको तेस्रो डिभिजनलाई तस्करीको अखडा बनाइदिएका थिए । त्यसबेला रक्तचन्दन, यार्सा गुम्बा, ढुंगा–गिटी–बालुवा, सुन तस्करीमा लडाकु कमाण्डरहरुलाई योजनावद्ध रुपमै परिचालन गरिएको थियो । उसबेला खामले तस्करीका लागि ब्रिगेड कमान्डरहरूलाई जिम्मेवारी छुट्याएरै खटाएका एक जना तत्कालीन डिभिजन भिसी बताउँछन् । 

ती डिभिजन भिसीका अनुसार त्यसबेला कल्याण स्मृति ब्रिगेडमा सूर्य पौडेल (सरल सहयात्री, हाल नेकपा माओवादी बागमती प्रदेश अध्यक्ष), बेथान स्मृतिमा वियोग मगर, वासु स्मृतिमा प्रदीप वालाचन, दिनेश रामजी ब्रिगेडमा सविन र डिभिजन कार्यालय ब्रिगेडमा गोविन्दबहादुर बटाला कमान्डर थिए । यिनै कमान्डरहरुलाई खामले रक्तचन्दन, सुन, गिटी–बालुवा र यार्सा तस्करीमा परिचालन गरेका ती डिभिजन भिसी नेपालमुहारलाई बताउँछन् । यसबेला बागमती प्रदेशको मन्त्रिपरिषद्मा रहेका तत्कालीन ब्रिगेड कमान्डर युवराज दुलाल ‘शरद’ पनि त्यसबेला योजनावद्ध तस्करीमा सामेल रहेका उनको भनाइ छ । 

यसको भेद खुलेपछि त्यसबेला लडाकुहरुको आन्तरिक कार्यक्रममा कमाण्डरहरु नै तस्करीमा संलग्न भएका भन्दै चर्को बिरोध समेत भएको थियो । तर, अध्यक्ष प्रचण्डलाई नै साक्षी राखेर खामले विरोध गर्ने कमान्डरलाई धम्क्याएका थिए । अनि प्रचण्डले पनि खामकै चेतावनीलाई सदर गरिदिए । शान्ति प्रक्रियामा आएपछि पार्टी व्यवस्थापन र चुनाव खर्चका लागि स्रोत जुटाउनु परेकोले यस विषयलाई धेरै नउचाल्न प्रचण्डले सुझाएका थिए ।

डिभिजन कमाण्डर खामको चेतावनीलाई ढाढस दिँदै सर्वोच्च कमाण्डर प्रचण्डको शिवरिबाट भइरहेको तस्करीमा मौन बस्नु भन्ने सुझावपछि लडाकुहरुले भयावह गिरोह अध्यक्ष र उनको तत्कालीन निवास नयाँबजारसम्म जोडिएको भेउ पाए । यसपछि असन्तुष्ट कमान्डरहरूले शिविरबाट हुने तस्करीमा मौनता साँधे । प्रचण्डबाटै राजनीतिक संरक्षण पाएकाले लडाकुका डिभिजन कमाण्ड, भिसी, ब्रिगेड कमाण्डरहरु एकपछि अर्को अपराध कर्ममा मुछिँदै गए । खाम त ‘मोस्ट वान्टेड’ अभियुक्त नै बने । 
२५ असार ०६७ मा एउटा अपराधिक समूहले यार्सा बिक्री गर्ने भन्दै चिनिया नागरिक मायर लीलाई बोलाएर २१ लाख २० हजार रुपैयाँ लुटपाट गरेको थियो, नयाँ बसपार्कस्थित नवमित्र गेस्टहाउसको कोठा नं ३०१ बाट ।

लुटपाटमा संलग्नहरुको हुलियासहित चिनियाँ नागरिकले प्रहरीमा जाहेरी दिएका थिए । त्यसैका आधारमा प्रहरीले डिभिजन कमाण्डर खाम, गणेशकुमार मल्ल र कर्णबहादुर बुढाको पहिचान गरेपनि पक्राउ गर्न सकेन । त्यसको दुई दिनपछि २७ असारमा प्रहरीले गोंगबुस्थित खामको डेरामा छापा मारेको थियो । त्यस क्रममा खामको डेराबाट विभिन्न हतियारमा लाग्ने १० राउन्ड गोली बरामद भएपछि प्रहरीले उनीविरुद्ध हातहतियार खरखजाना मुद्दा समेत चलाएको थियो । साथै कर्मचारीको हस्ताक्षरसहितको जिल्ला वन कार्यालयको छाप भेटिएपछि उनको समूहविरुद्ध सरकारी छाप, दस्तखत किर्ते मुद्दा दर्ता समेत दायर गरेको थियो । खाममाथि हत्याको त छँदैछ, चोरी–डाँका, हातहतियार खरखजाना तथा सरकारी छाप दस्तखत किर्ते मुद्दा दर्ता छन् ।  

०६८ मा रुकुम र डोल्पाको सीमास्थित माझफालमा यार्सा लुटिएको थियो । शिबिरका लडाकूहरु नै आधुनिक हतियारसहित यार्सा लुट्न माझफाल पुगेका एक जना पूर्वब्रिगेड कमाण्डर नेपालमुहारलाई बताउँछन् । यसबेला नेकपा एकीकृत समाजवादीका तर्फबाट सहरी विकास मन्त्री नियुक्त धनबहादुर बुढाको यार्सासमेत त्यसबेला लडाकुहरुले हतियार देखाएर लुटेका थिए । उक्त लुटपाटको निर्देशन खामले नै दिएका लडाकूका अर्का एक तत्कालीन डिभिजन भिसी बताउँछन् ।

१ साउन २०७१ मा मनाङको तत्कालीन धारापानी गाविस ५ स्थित प्रहरीले ग २ च ३०१ नं. को बोलेरो जिपलाई चेक जाँच गरेको थियो । त्यसक्रममा उक्त बोलेरोबाट एके४७ राइफल, त्यसका गोली, कटुवा पेस्तोलसहित विकल्प छद्म नाममा संगम रोकालाई नियन्त्रणमा लिएको थियो । त्यसबेला रोकाले खामले आफूलाई परिचालन गरेको साविती दिएका थिए । तर, अवैध हातहतियार मुद्दामा समेत प्रहरीले खामलाई फरार सूचीमै राखेको छ । लडाकु शिविरमा हुँदा होस् वा त्यहाँबाट निस्केपछि खाम यार्सा तस्करीमा खुलेरै लागेका उनीसँग लामो संगत गरेका एक जना डिभिजन भिसीको भनाइ छ । 

यहीबेला खामलाई किन पक्राउ गरियो ? 
‘अहिले केपीले कालीबहादुर खाम खोई अरे ? ती कालीबहादुर खाम आफैंले केही गरेको त हैन । उनको मुद्दा ठीक ढंगले हल होस् भनेर १०/११ वर्षदेखि म लागेको छु । उनलाई गाह्रो साह्रो परेको मैले हेर्न लगातार बल गरेको छु । अहिले त कालीबहादुर तपाईंलाई प्रचण्डले हेर्दैनन् केपीले भन्नु भन्दा लाजमर्दो अरु के हुन्छ ? ...यसैले जनयुद्धका कमाण्डर, साथीहरु ओलीको कुरामा गम्भीर नहुनुहोला । कमरेडहरु तपाईंहरुको योगदानको इतिहासमा स्वर्णीम अक्षरले नाम लेख्ने काम भएको छ । त्यसलाई कसैले कालो नपोतौं ।’

नेकपाका तत्कालीन अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरे विरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले ९ माघ ०७७ मा काठमाडौंमा आयोजना गरेको विरोध सभामा प्रचण्ड गर्जिएका थिए । त्यसबेला लडाकुहरुलाई आफूतिर तान्न प्रचण्ड–माधव र केपी ओली समूहले राम्रै प्रयास गरेका थिए । त्यसदिनको प्रचण्डको सार्वजनिक यो अभिव्यक्तिले नै खामलाई संरक्षण रहेको पुष्टि हुन्छ । 

०७७ को अन्त्यमा नेकपा विभाजनताका माओवादीका पूर्वलडाकुलाई आफ्नो पक्षमा ल्याउन प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा ’बादल’ले ‘सिरियल क्राइम’ का अभियोगी खामलाई अघि सारेका थिए । तर, प्रचण्डबाट ‘गुरु बुट्टी’ पाएपछि खाम पुनः माओवादी केन्द्रतिरै लहसिए ।

यौन दुराचारको मुद्दामा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई भेट्न पूर्वडिभिजन कमाण्डरहरु १३ कातिक ०७७ मा नर्भिक अस्पताल थापाथली पुगेका थिए । किनकी महरा त्यसबेला बिरामी भएको भन्दै नर्भिक अस्पतालमा भर्ना भएका थिए । महरासँगको त्यो भेटको नेतृत्व खामले नै गरेका थिए । महरालाई भेटेर लडाकुहरुको यो समूह त्यहीँबाट प्रचण्ड निवास खुमलटार पुगेको थियो । ती दुवै भेटघाटको अगुवाइ उनै खामले गरेका थिए । प्रचण्ड निवास खुमलटार, जहाँ पुगेर खामले तत्कालीन उर्जामन्त्री वर्षमान पुनको उछितो काढेका थिए ।

खामको ‘कुकर्म’ लाई सुरुवातदेखि नै प्रचण्डले मजबुत संरक्षण दिँदै आएका छन् । पछिल्लो समय सँगै नदेखिएपनि प्रचण्ड–खामबीचमा भित्रीरुपमा निकै सघन सम्बन्ध रहेको बताउँछन् जानकार । लडाकु शिविरको आर्थिक हिनामिनामा खामले वास्तविकता ओकल्ने हो भने धेरै तथ्यहरु सतहमा आउनेछन् । अर्थात खामले प्रचण्डलगायत माओवादी शीर्ष नेताहरु धेरैका गहन सूचना राखेका छन् । अन्ततः उनै खामलाई योजनावद्धरुपमा पक्राउ गरिएको छ ।

खामको यो पक्राउबाट प्रचण्डले क–कसलाई काबुमा राख्न खोजेका छन् ? ढिलोचाँडो खुल्ने नै छ । 
 


not-found

माधव बस्‍नेत

माधव बस्‍नेत नेपालमुहार डटकमका सम्पादक हुन् । उनी सुशासन, सुरक्षा र राजनीतिका विषयमा औंँला चलाउँछन् ।

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview