अमेरिकामा हिजो मंगलबार भएको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन् । ट्रम्प यसअघि सन् २०१६ देखि २०२० सम्मको कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए । यसपटक ट्रम्प डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका हुन् ।
समाचार संस्था एपी (एसोसियत प्रेस) का अनुसार रिपब्लिकन उम्मेदवार ट्रम्पले कम्तीमा २ सय ७७ इलेक्टोरल मत पाउने निश्चित भएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ । डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसले कम्तीमा २ सय २४ इलेक्टोरल मत प्राप्त गर्ने भएकी छन् ।
ट्रम्पले यसपटकको चुनावमा निर्णायक ठानिएका सातवटै ‘स्विङ स्टेट्स’हरू पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा क्लिन स्वीप गरेका छन् ।