Connect with us

समसामयिक

विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी, शिविरमार्फत उपचार सुरु

Published

on

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ । भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ ।

विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको स्थानीयवासी वीरबल किरातीले जानकारी दिएका छन्। यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् ।

बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् । विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएका स्थानीय उपचारका लागि शिविरमा आउनेजानेक्रम जारी रहेको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिए । उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गरेर उपचारको व्यवस्था मिलाइएको हो ।

भोज खाएर फर्किएका उदयपुर, काठमाडौँलगायतका पाहुनासमेत बिरामी परेको खबर आएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले जानकारी दिइन् । “शिविरमा अहिले पनि ३५ जनालाई स्लाइनपानी र औषधि दिएर उपचार गरिरहेका छौँ । विवाह भोज खाएका सबै बिरामी भएका छन्”, उनले भनिन्, “विवाहमा करिब २०० जनाले भोज खाएको अनुमान गरिएको छ । शिविर सञ्चालन गरेपछि सबैतिरबाट फोन आउन थालेको छ । उनीहरूको उपचारको व्यवस्था मिलाउन पहल भइरहेको छ ।”

केही उपचारपछि घर फर्किएका स्वास्थ्यकर्मीहरूले बताएका छन् । भोजमा भएको ‘फुडपोइजन’को कारण पत्ता लगाउने प्रयास भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलले बताए । “विवाह भएको धेरै दिन भएकाले भोजको स्याम्पल सङ्कलन गर्न सकिने अवस्था छैन । भोज खाएर काठमाडौँ गएका एक बिरामीलाई टेकु पठाएका छौँ”, उनले भने, “फुडपोइजनले धेरै दुर्घटना हुनसक्छ । जन्तेढुङ्गामा बिरामी पहिचान भएलगत्तै औषधि उपचार सुरु गरिएकाले घटना नहोला भन्नेमा हामी विश्वस्त छौँ ।”

बिरामी चाप बढ्दै गएपछि आधारभूत अस्पतालमा समेत उपचारको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । प्रभावित क्षेत्र बाहिरका तथा जटिल किसिमका बिरामीलाई आधारभूत अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको हो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.