एक होइन, अनेकन जिम्मेवारीमा पूर्ण सफल, पूर्वप्रशासक, पूर्वपिडिओ (पञ्चायत विकास अधिकृत), पूर्व गा.वि.स. अध्यक्ष गणेशबहादुर बस्नेतको एक सय दुई वर्षमा निधन भएको छ । बस्नेतको काठमाडौं कुमारीगालस्थित निजी निवासमा आज अपरान्ह निधन भएको उहाँका भतिजा गोरखापत्र संस्थानका अधिकृत दीपक बस्नेतले जानकारी दिनु भएको छ ।
स्वर्गीय बस्नेतको जन्म विक्रम संवत् १९८० साल कातिक ४ गत धर्तीकै उच्च भूगोल सगरमाथाको काख सोलुखुम्बुको काँगेल बाहुण्डीमा पिता दीग्वीर बस्नेत र आमा भद्रकालीका कोखबाट भएको थियो । उहाँ मातापिताका काँइलो सन्तान हुनुहुन्थ्यो ।
स्वर्गीय बस्नेत निजामती सेवाबाट अधिकृत बन्ने त्यस क्षेत्रकै पहिलो कुलरत्न हुनुहुन्थ्यो । दिवंगत हुनु अघि बस्नेतले बताउनु भए अनुसार उहाँले १९९८ साल माघ १४ गते कुमारीचोक अड्डा चारखालबाट लेखनदास सिपाहीका रुपमा निजामती प्रशासनमा जागिर सुरु गर्नु भएको थियो । त्यसबेला उहाँको तलव ६ रुपैयाँ थियो ।
२०२३ फागुन ५ गते लोकसेवा पास गरेर बस्नेत अधिकृत बन्नु भएको थियो । त्यसपछि खोटाङ, ओखलढुङ्गा, भक्तपुरलगायत जिल्लामा पिडिओलगायतको जिम्मेवारी निर्वाह गर्नु भएको थियो । निजामती प्रशासनमा ४३ वर्ष लामो सेवा गरेर ६० वर्षे उमेर हदका कारण बस्नेत ०४१ कातिकमा निवृत हुनु भएको थियो ।
स्वर्गीय गणेशबहादुर बस्नेत
निवृत जीवनमा बस्नेत २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा साविक काँगेल गा.वि.स. मा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष निर्वाचित हुनु भएको थियो । नेपाली कांग्रेसले बस्नेतलाई सोलुखुम्बु जिल्लाको उपसभापतिको जिम्मेवारी समेत दिएको थियो ।
सोलुखुम्बूको काँगेलमा जन्मिएका व्यक्तिहरु मध्ये पूर्वपिडिओ बस्नेत सबैभन्दा सज्जन, भद्र र इमानी हुनुहुन्थ्यो । शताब्दी पुरुष बस्नेतले नियतबस सायदै कोही कसैलाई कुनै थिचोमिचो गर्नु भएन, अनावश्यक दुःख दिनु भएन । उहाँ आफ्नो हित, अहित नहेरी सधैँ सत्य बचन बोल्नु हुन्थ्यो । सबैको भलो सोच्नु हुन्थ्यो ।
शताब्दी पुरुष बस्नेतका दुई छोरा मदनकृष्ण र मोहनकृष्ण अनि दुई छोरी रामेश्वरी र यशोदा हुनुहुन्छ । बिडम्वना ! बस्नेतले श्रीमती र जेठा छोरा नेपाल सरकारका पूर्वउपसचिव मदनकृष्णको शोक व्यहोर्नु परेको थियो । नेपाली कांग्रेसका महामन्त्री, प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री गगनकुमार थापा बस्नेतका नाति (जेठी छोरी रामेश्वरी र ज्वाई महेन्द्रकुमार थापाका छोरा) हुनुहुन्छ ।