न्यायालय शुद्धिकरणका अभियन्ता तथा ‘सेटिङ का सख्त बिरोधीलाई नै सेटिङमा संलग्न भएको विडम्बनापूर्ण आरोप

रिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले २९ साउन साँझ ८.२४ मा सामाजिक सञ्जाल फेसबुकमा एउटा गम्भीर स्टाटस् लेखे, ‘अहिले सर्वोच्च अदालतमा समेत बढ्दै गएको संयुक्त इजलासका न्यायाधीशले बेग्लाबेग्लै मिसिल पढेर बहस गराउने र तल्लो अदालतको फैसलाको ठहर खण्ड मात्र पढेर पुनरावेदन वा दोहोर्याइ पाउँ भन्ने निवेदन नपढी सुनुवाइ प्रारम्भ गर्ने परिपाटीले न्याय मर्दै गएको छ । यस विषयमा पहिले सञ्चालन गरेकै जस्तो #न्यायपालिकाशुद्धीकरणअभियान चलाउने विषयमा आज सामान्य छलफल भएको छ । पुराना अभियन्ता साथीहरू सबैको विचार आवस् । साथै अन्य जनसाधारणहरूको सुझाव समेत अपेक्षा गरिएको छ ।’

उप्रेतीको स्टाटस्मा अर्का वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रतिक्रिया दिए, ‘मैले विगत एक वर्षदेखि यो विषय उठाउदै आएको सार्वजनिक नै छ । जिम्मेवार न्यायाधीशहरुले सार्वजनिक कार्यक्रममै यस्को खण्डन गरिरहनु भएको छ । अदालत दिन प्रतिदिन अनुदार र परम्परावादी हुँदै गएको छ । लगत मुखी फैसला होइन, न्यायमुखी फैसलाको लागि आवाज बुलन्द गर्नु आवश्यक छ ।‘

यी दुई वरिष्ठ अधिवक्ताहरुका क्रिया, प्रतिक्रियाले न्यायालय एकपछि अर्को गरी रुग्ण बन्दै गएको आभाष प्रष्ट हुन्छ । न्यायालयको ‘धमिरो’ चरित्रमाथि थोरै शब्दमा धेरै गहन अर्थहरु पस्किएका छन्, उनीहरुले । हुन पनि न्यायालयमा पछिल्लो समय तीन उखान चरितार्थ भइरहेका छन् । ती उखान हुन्, एक– ‘न्यायाधीशले फैसला गर्छन् । न्याय नदिन पनि सक्छन् ।’ दुई– ‘जस्ता न्यायाधीश उस्तै न्याय ।’ तीन, ‘न्याय ढिलो दिनु न्याय नदिनु बराबर हो ।’

न्यायमूर्तिबाटै न्याय विथोलिएको परिणाम त्यसको ‘किनबेच’ मा संलग्न नभएका पात्रहरु सानो संख्यामै सही, न्यायालय शुद्धिकरणको अग्रमोर्चामा लडिरहेका छन् । तिनैमध्येका एक अविश्रान्त अभियन्ता हुन्, हरिप्रसाद उप्रेती । उनका पछिल्ला दुई स्टाटसले बताउँछ, न्यायालय सुधारको भोक फेरि जागृत भएको छ उनमा । त्यसका लागि उप्रेती अग्रज, सहयोद्धा र अनुजहरुसँग आग्रह गरिरहेका छन् ।

निरर्थक हिलोमा चोपल्ने प्रयास
सिधा कुरा नामक अनलाइन पोर्टलले १४ वैशाख ०८१ मा ‘द डार्क फाइल’ नाम दिएर एउटा भिडियो स्टोरी’ प्रकाशित गर्यो, जसमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश आनन्दमोहन भट्टराई (विद्यावारिधि), वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अधिवक्ता किशोर विष्ट, कान्तिपुर पब्लिकेसन्सका ‘मालिक’ कैलास सिरोहिया र अन्नपूर्ण पोष्टका ‘मालिक’ रामेश्वर थापाहरुले मुद्दाको जित–हार ‘सेटिङ’ मा गरेका प्रसारण गरिएको थियो ।

तस्विरः सामाजिक सञ्जाल

अचम्म के भने सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीहरुबारे जानकार, न्यायालय नियालिरहेका, ‘रिपोर्टिङ गरिरहेकाहरुलाई न्यायाधीश भट्टराई र वरिष्ठ अधिवक्ता उप्रेती आङ् नै सिरिङ्ग बनाउने ‘अपराधिक धन्दा’ मा संलग्न भएकै हुन् ? के यो घटना वास्तविक नै हो वा उनीहरुको व्यक्तित्वलाई नियोजित तवरले धुलिसात बनाउन खोजिएको हो ? निकै ठूलो कुतूहल जगायो । किनभने न्यायाधीश भट्टराई र वरिष्ठ अधिवक्ता उप्रेती न्यायालयभित्र ‘न्यायिक निष्ठा’ मा रहने सीमित व्यक्तिभित्र पर्दथे । अर्थात यी दुवै आ–आफ्ना क्षेत्रमा न्याय बिचलित गराउनु हुन्न भन्ने सतिसालभित्र गनिन्थे । अझै पनि गनिन्छन् नै ।

लख काट्न बेर लागेन, ‘द डार्क फाइल’ नियोजित दुष्प्रचार हो । यस्तो लख काट्न किन पनि सहज थियो भने त्यहाँ ज–जसको आवाज भनेर सुनाइएको थियो, त्यो आवाज विल्कुलै उनीहरुको नभएको संगत गर्नेहरुले कुनै ‘फरेन्सिक’ परीक्षण बिना नै सहजै बुझ्न सक्थे । भलै, ‘फरेन्सिक रिर्पोट’ ले पनि त्यही पुष्टि गर्यो ।

वरिष्ठ अधिवक्ता उप्रेती तिनै पात्र हुन्, जसले झण्डै ४५ वर्ष (२०३६ साल) देखि राजनीतिक परिवर्तन, सामाजिक संरचना र सोंचको रुपान्तरण, न्यायालयको पुनर्संरचना, न्यायमा समानता–समान पहुँच, न्याय खरिद–बिक्रीको अन्त्य, निर्धा–निमुखाको जीवनस्तर स्त्तरोन्नतिलगायत विषयमा बहस, पैरवी गरेर बिताएका छन् । पछिल्लो समय उनी स्वतन्त्र अभियन्ताका रुपमा न्यायालय शुद्धिकरणमा मनमन्त खुलेका छन् ।

२०१३ साल फागुन १ गते ताप्लेजुङको फट्याङ्ग्रेमा जन्मिएका उप्रेती २४ चैत्र २०३५ को बिहानैबाट विद्यार्थी आन्दोलनको झिल्को बल्दै गर्दा नेपाल कानून क्याम्पस प्रर्दशनीमार्गमा अध्ययनरत थिए । संयोग के भने २४ चैत्र ०३५ को त्यो बिहान ८ बजे नै नेपाल कानुन क्याम्पसबाटै विद्यार्थी आन्दोलन प्रारम्भ भएको थियो । नेपाल कानून क्याम्पसका अगुवा विद्यार्थीहरु सूर्य सुवेदी, बलराम समाल, युवराज संग्रौला, महेन्द्रमान व्यथित, शम्भु थापा, बालकृष्ण सिवाकोटी, धर्मनाथ साह, गोपाल पराजुली, कालीबहादुर मादेन, सुशिल पन्त, कविराज उप्रेतीले आन्दोलनको श्रीगणेश गरेका थिए । (बास्तोला थोमस, विद्यार्थी आन्दोलन र अनेरास्ववियु, इतिहास, नेतृत्व र कार्यदिशा, प्रकाशकः जुगल पब्लिकेसन प्रा.लि. न्यु प्लाजा, काठमाडौं, संस्करणः पहिलो २०७० साउन, पृष्ठ ३०६) डेड महीना अघि मात्र २३ वर्ष टेकेका मस्त तन्नेरी उप्रेती आन्दोलनको त्यो भुंग्रोमा होमिए ।

त्यसो त उनमा परिवर्तनको आन्दोलनप्रतिको चस्का झापाकै महेन्द्ररत्न माध्यामिक विद्यालय तोपगाछीमा पढ्दै पसिसकेको थियो । मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, रामनाथ दाहाल, वीरेन राजवंशी, चन्द्रप्रकाश मैनालीहरुको अगुवाईमा औपचारिक रुपमा २०२८ जेठबाट सुरु झापाको ‘वर्ग शत्रु खत्तम अभियान’ ले सिङ्गो देशलाई नै तरङ्गित पारेको थियो भने झापा स्वयंलाई नपार्ने कुरै थिएन । त्यही भुमरीले उप्रेतीलाई ‘वाम’ निकट विद्यार्थी आन्दोलनमा परिचालित गरेको थियो । जो हुटहुटी अद्यापि छँदैछ, त्यसैले त उप्रेती न्यायालय शुद्धिकरणको यात्रामा भिडिरहेका छन् ।

न्याय सेवा प्रवेश र ०४७ को संविधान बनाउन सहयोगी
उप्रेती #०४१ असारमा न्याय सेवामा प्रवेश गरे, कानून अधिकृतमा नाम निकालेर । त्यसको ६ वर्षपछि ०४६ फागुन सात गतेबाट नेपाली कांग्रेस, नेकपा (माले) सहितका ‘प्रतिबन्धित राजनीतिक दल’ हरुले नेपालमा बहुदल पुनःस्थापनाको आन्दोलन सुरु गरे । भूमिगत, सुषुप्त र खुला रुपमै सही, उप्रेतीलगायत प्रजातन्त्र पक्षधर कर्मचारीहरु आन्दोलनमा सहभागी भएका थिए ।

रमाइलो के भने बहुदल प्राप्तिपछिको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारको कार्यकालमा निजामती कर्मचारीहरुले २६ मंसिर २०४७ देखि ५ पुससम्म नौ दिन आन्दोलन गरेर सरकारलाई आफ्ना मागमा सम्झौता गर्न झुकाएका थिए । नौ दिने त्यो आन्दोलनताका उप्रेती तत्कालीन भूमिगत नेकपा (माले) निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय तदर्थ समिति सदस्य थिए ।

बहुदल स्थापनापछि सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा ‘संविधान सुझाव आयोग, २०४७’ गठन भयो । जसमा उप्रेतीलाई अनुसन्धान अधिकृतका रुपमा सहभागी गराईएको थियो । त्यसबेला उप्रेतीले खासगरी संविधान सुझाव आयोगका सदस्य माधवकुमार नेपालको निकट रहेर काम गरेका थिए ।

तत्कालीन संविधान सुझाव आयोगका सदस्य वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी (हाल स्वर्गीय) ले ‘संवैधानिक विकास र नेपाल अधिराज्यको संविधान २०४७’ भाग १ र २ गरी मोटा–मोटा पुस्तक लेखेका छन्, जहाँ २०४७ को संविधान बनाउँदाका नालीबेली उल्लेख छ । पुस्तकमा तत्कालीन वरिष्ठ अधिवक्ता रेग्मीले ०४७ को संविधान बनाउन न्याय सेवाका अधिकृत उप्रेतीको भूमिका प्रशंसनीय लेखेका छन् ।

०४८ को कर्मचारी आन्दोलनको कमाण्डर
२०४६ चैत्रमा बहुदल स्थापना भएपछि ०४७ कातिक २३ गते जारी संविधान अनुसार ०४८ बैशाख २९ गते आम निर्वाचन भयो । यो निर्वाचनमा नेपाली कांग्रेसले भारी बहुमत ल्यायो र ०४८ जेठ १२ गते गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेको महीना दिन नबित्दै कोइरालाले निजामती कर्मचारीप्रति दुराग्रही डण्डा चलाए । पञ्चायतकै उत्पादन भएपनि पेशाप्रति इमान्दार, अनुभवी, योग्य थुप्रै कर्मचारीलाई दुत्कार्दै अवकाश (बर्खास्त) दिए भने कोइरालाको जीहजुरीमा लम्पट राजाप्रसाद सेवाका लोकमानसिंह कार्कीजस्ता पात्रलाई निजामती सेवामा भित्र्याए ।

यसबाहेक कोइराला सरकार समक्ष कर्मचारीहरुले अन्तरिम सरकारले ०४७ पुस ५ गते गरेको सम्झौता कार्यान्वयनलगायत माग राखेका थिए । तर, प्रधानमन्त्री कोइरालाले ती मागहरुको पूर्ण उपेक्षा त गरे नै, माग राख्ने कर्मचारीप्रति चरम वक्रदृष्टि राख्न थाले । यस्तो घृणित व्यवहारपछि ०४८ असार १६ गतेदेखि कर्मचारी आन्दोलन सुरु भएको थियो । कर्मचारी आन्दोलनलाई कोइराला सरकारले यसरी दमन गर्यो कि मागको केही, कतै सुनुवाइ नभएपछि ५६ दिनमा भदौ ८ गते एकपक्षीय घोषणाबाट फिर्ता लिन बाध्य भएका थिए । नेकपा (एमाले) निकट कर्मचारीहरुको अगुवाइमा भएको त्यो आन्दोलन उपलब्धिविहीन फिर्ता भएसँगै धेरै कर्मचारीले सेवाबाट बाहिरिनु परेको थियो । त्यसै मेसोमा उप्रेतीले पनि राजीनामा दिएका थिए ।

जागिरबाट राजीनामा दिनु परे पनि खासमा उप्रेतीको चर्चा, उनको व्यक्तित्व स्थापित ५६ दिने त्यही कर्मचारी आन्दोलनबाट भएको हो । किनभने उनी कर्मचारी आन्दोलनको केन्द्रमा थिए । २०४८ माघ १८ गते न्याय सेवाको अधिकृतबाट राजीनामा दिएपछि उप्रेती निर्वाध वकालतमा घोरिए । ज्यानले ठूलै गाँठीका उनले वकालतमा पनि अग्लै कद बनाए । आफ्नै मेहनतको छविको आलोकमा प्रदीप्त भइरहेका छन्, वकालतमा उप्रेती ।

प्रशंसा र आलोचना, सबलता र दुर्बलता, सफलता र असफलता हरेक मान्छेको जीवनमा रोटेपिङझैँ घुमिरहन्छन् । उनको जीवनमा पनि नघुम्ने कुरै भएन । जसै उनी रोटेपिङमा घुम्दै गए । आलोचनाभन्दा प्रशंसा, असफलताभन्दा सफलताको शिखर चुमेका छन् यसबेला उनले । अहिले ‘स्वतन्त्र’ भए पनि खासमा उप्रेती नेकपा (एमाले) का ‘हार्डकोर क्याडर’ हुन् । एमाले राजनीतिले कहिले महत्वपूर्ण जिम्मेवारी त कहिले चरम धोका दियो उनलाई । अर्थात एमालेको संलग्नता फाप र अफाबबीचको नियति बन्यो उप्रेतीका लागि ।

एमालेमा लामवद्ध भएवापत उप्रेतीले पाएको सबभन्दा ठूलो सम्मान नेपाल बार एसोसिएसनको केन्द्रीत उपाध्यक्ष हो । अध्यक्षका लागि आँसुको घुट्का पिउदा पनि उनलाई गलहत्याइयो । किनभने यसबेलासम्म एमाले घात, प्रतिघातको नरक यात्रामा चुर्लुम्म भइसकेको थियो ।

न्यायालयका पात्र र प्रवृतिबारे राम्रो दख्खल राख्ने अधिवक्ता हुन्, विनोद कार्की । उनै कार्कीका शब्दमा उप्रेतीले कुनै समय नेकपा (एमाले) लाई राम्रै योगदान पनि गरे । पछि एमालेभित्रको कानून व्यवसायीहरुको समूहगत लडाईँमा स्वर्गीय सुवास नेम्वाङ्ग, अग्नी खरेल एउटा खेमा र उप्रेती अर्को खेमामा भए । दुई ‘पावर सेन्टर’ को टक्करमा उप्रेती एमाले राजनीतिमा पछि परे । सुवास, अग्नी ‘लवी’ ले उप्रेतीलाई हरेक ठाउँमा निषेध गरे । उप्रेती सर्वोच्च अदालतको न्यायाधीश हुने चर्चा र रहर दुवै थियो । त्यहाँ पनि उनलाई बन्देज गरियो ।

“अब एमालेबाट केही पाइन्न । केही हुन्न भन्ने निष्कर्षमा पुगेर पनि होला, हरि दाई अहिले स्वतन्त्र नै छन् । उनलाई वरिष्ठ अधिवक्ता पनि एमालेले दिएको होइन, सर्वोच्च अदालतले नै दिएको हो”, अधिवक्ता कार्की भन्छन्, “न्याय क्षेत्रमा हरि उप्रेती अध्ययनशील र स्वाभिमानीभित्र पर्छन । उनी न्यायालयमा सेटिङ गर्ने पात्र होइनन् ।”

प्रधान न्यायाधीश चोलेन्द्रविरुद्धको मोर्चा
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले २०७७ असार १५ गते श्रीमती हत्यारा रञ्जन कोइरालाको कैद ११ वर्ष मिनाहा फैसला गर्यो । तर, सर्वोच्चले प्रचलित कानून र स्थापित नजिरविपरीत फैसला गरेको भन्दै आलोचना तीब्र भयो । चोलेन्द्र एण्ड कम्पनीले सुरुमा फैसलाको आलोचना गर्नेहरुलाई अपहेलनाको मुद्दा लगाउनेसम्मको चेतावनी दिए । जसरी आँधी रोक्न सकिन्छ, ठिक त्यसैगरी धम्कीले गलत नियतले गरिएको फैसलाको बिरोध रोकिएन ।

चोलेन्द्र शम्शेर ज.ब.रा. । तस्विरः बिबिसी नेपाली सेवा

सर्वसाधारणहरु सडकमा स्वस्फूर्त आएपनि चोलेन्द्र विरुद्ध आन्दोलन गर्ने कि नगर्ने न्यायाधीश, कानून व्यवसायी एवम् नेपाल बार एसोसिएसन रणभुल्ल थियो । वरिष्ठ अधिवक्ता उप्रेतीका अनुसार ठिक त्यहीबेला उनले प्रधान न्यायाधीश चोलेन्द्र र न्यायालयको शुद्धिकरणका पक्षमा सामाजिक सञ्जाल फेसबुकमा एउटा प्रतिकात्मक स्टाटस लेखे, जो निकै चर्चित भयो । उप्रेतीको यो स्टाटसले चर्चा पाइरहेका बेला नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शम्भु थापासँग उनको जम्का भेट सर्वोच्च अदालतकै ‘लवी’ मा भयो । जहाँ थापाले उप्रेतीको स्टाटसको प्रसंग निकाल्दै न्यायालय शुद्धिकरणमा होमियौं भन्ने सल्लाह गरे ।

त्यही सल्लाहले नै आकार, प्रकार लियो । अर्का वरिष्ठ अधिवक्ता हरिहर दाहाल, युवराज संग्रौला (विद्यावारिधि), कुमार शर्मा आचार्य (विद्यावारिधि), भिर्माजुन आचार्य (विद्यावारिधि), सुनिल पोखरेल (हाल न्यायाधीश)लगायत बसेर सल्लाह गरे । जसको अवधारणापत्रको ‘ड्राफ्ट’ बनाउन थापाले उप्रेतीलाई नै जिम्मा दिएका थिए । पछि बारलाई बुझाउने बुँदाहरु मस्यौदा गर्न सुनिल पोखरेल र भिमार्जुन आचार्य थपिए । उनीहरुले नेपाल बारलाई बुझाएको त्यही मस्यौदाको परिणाम, ‘न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता वा भ्रष्टाचार एवम् बिचौलियाबाट हुन सक्ने क्रियाकलापहरू र त्यसको रोकथामका लागि चाल्नु पर्ने उपायहरुको सम्बन्धमा छानबिन गर्न’ चोलेन्द्र शम्शेर ज.ब.रा. ले हरिकृष्ण कार्कीको संयोजकत्वमा समिति बनाए ।

तर, आन्दोलनको आँधी रोकिएन । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनकै नेतृत्वमा आन्दोलन अघि बढ्यो । चोलेन्द्रको बहिष्कार मात्र भएन, महाभियोग नै दर्ता भयो । जसले छिटफुट रुपमै सही, न्यायालयलाई एक हदसम्म रुपान्तरण गर्यो । ‘अटो सिष्टम’ बाट पेसी तोक्न थालियो । बिचौलियाहरुको सक्रियता केही हदसम्म घट्यो । तर, अझै पनि न्यायालय शुद्धिकरण अधकल्चो नै छ । त्यसैलाई पूर्णता दिन उनी थप दबाबको आवश्यकता देख्छन् । भन्छन्, “न्यायालयलाई शुद्धिकरण गर्न अझै बाँकी छ । शुद्धिकरणको सूत्रधार भएर काम गर्न पाएको छु । म त्यसैमा खुशी छु ।”

अधिकाशं मानिसहरुले राज्यसँग लेपासिएर, राज्य दोहन गरेर व्यक्तित्व निर्माण गरेका हुन्छन् । तर, उप्रेतीलगायत केही व्यक्ति मात्र यस्ता अपवाद छन्, जसले सत्तासीनहरुसँग पटक–पटक पौठेजोरी खेलेर आफूलाई आरनमा पगालेर स्पात सावित गराएका छन् । उप्रेती, जसले ०३६ साल, ०४६ साल, ०४८ साल, ०७७ साल हुँदै ०८१ सालसम्म राज्य र न्यायालयसँग झुत्ती (चाकरीमा बिटोलिएर) खेलेर होइन, झञ्झा (ठूलो आँधी) बनेर आफ्नो अग्लो कद निर्माण गरेका छन् ।

उनका समकक्षीहरु मात्र होइन, कतिपय अग्रजहरु समेत अहिले पनि मुद्दाको जिम्मा लिएर जिल्ला अदालतसम्म बहस गर्न पुग्छन् । तर, दुई वर्ष यता उप्रेतीले आफूलाई विस्तारै ‘मेन्टेन’ गरेका छन् । उनी आक्कलझुक्कल विशेष अदालत र उच्च अदालतसम्म पुग्छन्, नत्र उनको दैनिकी सर्वोच्च अदालतका मुद्दाको प्रतीक्षामै बित्छ । यसबाहेकको समय स्तन क्यान्सरले तङ्ग्रिदै गरेकी श्रीमती यशोदाको उपचार, हेरचाह, स्याहारसुसारमा दिन्छन् ।

उप्रेती दम्पती

“संविधानले व्यवस्था र प्रणाली दिन्छ । क्षमता, योग्यता र विवेक दिँदैन । योग्यता, क्षमता, विवेक संविधान अन्र्तगतका अंगले नै देखाउनु पर्छ”, वरिष्ठ अधिवक्ता उप्रेती भन्छन्, “०४८ यताका कुनै पनि शासकहरुले परिपक्क क्षमता, योग्यता, विवेक देखाउन सकेनन् । दण्डहिनताले प्रश्रय पायो । त्यसैले यो प्रणाली नै ‘ओभर ह्वीलिङ’ नभएसम्म देश सुध्रदैन ।”

‘सेटिङ’ र घुसमा कहिल्यै संलग्न नभएको जिकिर
हुनत घुस खाने–नखाने, भ्रष्टाचार गर्ने–नगर्ने सम्पन्नता र विपन्नताले निर्धारण गर्दैन । त्यो त विवेक, निष्ठा, नैतिकता र सदाचारमा भर पर्छ । सम्पन्नले भ्रष्टाचार गर्दैन भन्ने हुँदै होइन । उखानै छ, ‘नखाएको भन्दा खाएको कावा ।’ अर्थात नखाएको भन्दा खाएको पात्र त्यसको स्वादमा लिप्त हुन्छ । तर, सात्विक र स्वाभिमानी व्यक्तिले गुजारा आरामदायी गर्न र गोजेरो मलिलो भर्न घुस खाँदैन । बरु सास्ती नै सहन्छ ।

उप्रेतीले पनि आठ वर्ष न्याय सेवाको अधिकृत र त्यसपछिको वकालत पेसाले काठमाडौंको पुरानो सिनामंगलमा राम्रै घर जोडेका छन् । श्रीमती यशोदा ताहाचल क्याम्पसमा पढाउने पेशा छाडेकी हुन् भने डाक्टरद्धय जेठा छोराबुहारी आलोक र सदीक्षा अमेरिकामा ‘सेटल’ भएका छन् । कान्छो छोरो उज्ज्वल इन्जिनियर र बुहारी दृष्टि डाक्टर छन् । त्यसैले उप्रेतीले सात्विक र स्वाभिमानी चित्तका साथ बाँच्न चाहेका हुन् भने उनले ‘सेटिङ’, घुसमा र्याल चुहाउनु पर्ने देखिन्न । भलै, बहसका क्रममा उनले कहिले काहिँ क्लाइन्ट (ग्राहक) लाई कस्ने÷मस्ने गरेका होलान् कि !

दायाँबायाँ छोराबेहारीसहित उप्रेती परिवार

यद्यपि आफूले क्लाइन्ट (ग्राहक, पक्ष) लाई कहिल्यै पनि सुर्कने नकसेको, पक्षको हैसियत हेरेर त्योभन्दा चर्को फी (शूल्क) नलिएको उप्रेतीको दाबी छ । बरु थुप्रै मुद्दा निशुल्क लडिदिएको उनी बताउँछन् । त्यसमध्ये दुई वटा मुद्दाको प्रसंग आफूले कहिल्यै नबिर्सने उनको भनाइ छ । ती मुद्दा थिए, एनएसी (नेपाल वायु सेवा निगम) का एक कर्मचारीलाई टिकट सस्तोमा बेच्यो भनेर गरेको कारबाही र निजामतीकी एक कर्मचारीलाई जागिरबाट निकालिएको सवाल । “मैंले आजसम्म मुद्दामा सेटिङ गरेर घुस खाएको छैन । कुनै पनि क्लाइन्टलाई जबरजस्ती निचोरेर मुद्दाको जिम्मा लिएको छैन”, उनी भन्छन्, “बरु मुद्दा जितेपछि कबोल गरेकाहरु थुप्रै शूल्क नदिइ बेपत्ता भएका छन् ।” उप्रेतीको यो कथनले उनले न्यायायिक धर्मलाई धन्दा बनाएर धन कमाउने ध्येय मात्र राखेको देखिन्न । अरु धर्म उनै थामुन् ।

वकीलको फी (शूल्क) बारे उप्रेती आफ्नो आत्मसंस्मरणात्मक पुस्तकमा लेख्छन्, ‘यो पेशाको फी यत्ति नै भन्ने छैन । जसले जत्ति पनि लिएका हुन्छन् । पाँच समयमा हुने कामलाई ५० हजार रुपैयाँ पनि लिएका छन् । त्यो कारणले फी तोक्नुपर्छ भन्ने मलाई लाग्छ । एउटाको कारणले त्यसको दोष समुदायमा फैलनुहुँदैन ।’ (उप्रेती हरिप्रसाद, अन्तर्य, एक संघर्षशील जीवनको कथा, प्रकाशकः घोष्ट राइटिङ नेपाल, प्रथम संस्करणः २०७८, पृष्ठ १६६) यति प्रष्ट लेख्ने उनले पक्कै नै फी निचोरेर लिएनन् होलान् ? पत्याउन कठिन नै पर्छ ।

आफू र आफ्नै पेसाप्रति निर्मम समीक्षा
उप्रेती लिखित ४ सय ५६ पृष्ठको अन्तर्य पुस्तक उनलाई चिनाउने, उनको जीवनको केस्रा–केस्रो केलाउने आँखी झ्याल हो । जहाँ उनले आफ्ना सबलता मात्र होइन, कमजोरी पनि उधिनेका छन् । उप्रेतीले अन्तर्यमा कानून व्यवसाय, न्यायाधीश र न्यायालयका छिद्र यति खेलाएका छन् कि उनै पात्र मुद्दाको सेटिङ, दलालीमा संलग्न भए भन्ने कल्पना मात्र पनि गर्न सकिँदैन ।

वकीलका विकृतिमाथि उप्रेती लेख्छ्न, “आफैँभित्रको मैले फालेपछि आफू चङ्गा होइन्छ । यसको लागि आर्फैँले आफैँलाई नुहाउनु पर्छ । …एक वकील कुहिएको आलुजस्तो हुँदा धेरै सद्दे आलुमा असर परेको उदाहरण मैंले प्रशस्त पाएको छु । त्यसैले वकालतमा आएको विकृति र विकारहरु वकील आफैँले, वकीलको संङ्गठनले फाल्नुपर्दछ भन्नेमा म प्रष्ट छु ।’

…धेरै नाम चलेको वकीलले मुद्दा आफूले बहस गर्ने भनेर लिने अनि बहस पैरवीका लागि भने आफ्नो फर्ममा काम गर्ने जुनियर वकीललाई पठाउने गरेको देखिन्छ ।

…बहसका लागि उपयुक्त समयमा इजलासमा पुगिसक्नुपर्नेमा न्यायाधीशहरुले फाइल अध्ययन गरिसकेर वकीलको खोजी गर्दा पनि इजलासमा नपुग्ने र आफ्नो पक्षलाई आउँदै छु भनेर फोन गर्ने गरेका दृश्यहरु पनि धेरै देखेको छु ।
…मुद्दाका पक्षसँग आफ्नो वकीललाई भन्ने, बोलाउने, अनुरोध गर्नेबाहेक अरु उपाय हुँदैन ।…वकीलको अनभिज्ञताले पक्षले पाएको हानी नोक्सानी वकीलको लागि एक हुन सक्छ । तर, पक्षका लागि एक सय प्रतिशत हुन्छ ।” (उप्रेती हरिप्रसाद, अन्तर्य, एक संघर्षशील जीवनको कथा, प्रकाशकः घोष्ट राइटिङ नेपाल, प्रथम संस्करणः २०७८, पृष्ठ १७६–१७८) एउटा वकीलले आफैँप्रतिको निर्मम समीक्षा सायदै यहाँभन्दा बढी के हुन सक्छ ?

कानून व्यवसायीका विकृतिमाथि उप्रेती खनिन्छन्, ‘कालो कोट लगाएर अझ बारको लोगो समेत लगाई हिँडेका वकिलले आफूलाई वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता भनेर चिनाउँछन् । जीवनमा पहिलो पटक मुद्दा गर्नु पर्ने खण्ड खातिर परी वकिल खोज्न र रोज्न हिँडेको सामान्य समझको मान्छेले आफ्नो आवश्यकता अनुसारको वकिल कसरी छान्न सक्छ ? हाम्रो पेसामा देखिएको यो एउटा ठूलो समस्या हो ।’ (ऐ, ऐ पृष्ठ १७७)

हुन पनि न्याय खोज्ने मान्छे सबैभन्दा पहिले कानून व्यवसायीकै ‘टेबल’ मा मा पुग्छ । उक्त कानून व्यवसायीबाट कस्तो व्यवहार पाउँछ, न्यायालयप्रति न्याय खोज्नेको धारणा त्यस्तै बन्छ । सर्वमान्य सत्य के हो भने कानून व्यवसायी सस्तो भइदिने हो भने न्याय सस्तो हुन्छ । अपवादलाई छाडेर धेरै जसो कानून व्यवसायीले क्लाइन्ट (ग्राहक) लाई यसरी निचोरेका छन् कि वकीललाई शूल्क बुझाउँदा बुझाउँदै सडकमा आइपुग्छन् । अर्थात मुद्दाको जितहार हुँदासम्म कानून व्यवसायी लखपति, करोडपति बन्छ, ग्राहक चाहिँ तन्नम भइसक्छ । वकीलहरुको यो ज्यादतीले नै होला, वकालतलाई निर्दयी र झुटको पेसा पनि भनिन्छ । भलै, सबै कानून व्यवसायीहरु एउटै ड्याङका हुन्छन् भन्ने चाहिँ हुँदै होइन । कतिपय आफ्नै खर्चले अरुका पक्षमा लडिदिने, निशूल्क लडिदिने पनि हुन्छन्, छन् ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य (विद्यावारिधि) का शब्दमा आफ्नो अभिव्यक्तिले अरुलाई चोट पर्छ कि भन्ने ख्याल नगरी आफूलाई लागेको कुरा प्रष्ट बोल्ने पात्र हुन् उप्रेती । “हरि उप्रेती प्रष्ट वक्ता हो । उहाँ आफूलाई लागे–देखेको, मनमा आएको कुरा प्रष्ट र निर्भिक भएर राख्नु हुन्छ । ती कुरा भन्दा कोही रिसाउँछ कि भन्ने अलिकति पनि ख्याल गर्नुहुन्न”, शर्मा नेपालमुहारसँग भन्छन्, “हरिजीको यही स्वभावले उहाँलाई कतिपय साथीभाइले अलि अहंकारी पनि भन्छन् । तर, हरिजी एकदमै मेहनती र इमान्दार हुनुहुन्छ । उहाँले अहिलेसम्म कुनै पनि मुद्दामा चलखेल गरेको सुनिएको छैन । हरिजीबाट सेटिङ भन्ने कुरा असंभव छ । उहाँबाट त्यस्तो कुरा विल्कुलै संभव छैन ।”

न्याय परिषद्का सदस्य एवम् वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको बुझाइ पनि आचार्यसँगै मिल्छ । श्रेष्ठका अनुसार उप्रेतीलाई कतिपयले अंहकारी भन्छन् । तर, उनको निष्ठा र इमान्दारितामा कसैले प्रश्न उठाउन सकेका छैनन् । श्रेष्ठ थप्छन्, “हरि उप्रेतीजी निष्ठामा टिकेका इमान्दार कानून व्यवसायी हुन् । उनले न्यायालयमा सेटिङ चलाउँछन् भन्ने पत्याउनै सकिन्न ।”

सत्य स्वीकार
उप्रेतीले आफ्ना कमजोरी स्वीकार गरेका छन्, ‘मेरो सबैभन्दा ठूलो कमजोरी भनेको मनमा मेरा जे–जस्ता भावहरु, प्रतिक्रियाहरु उत्पन्न हुन्छन्, तिनलाई म नियन्त्रण गर्न सक्दिन । ती जस्ताको त्यस्तै अभिव्यक्त हुने गर्छन । त्यसैले मेरा आलोचकहरुले मलाई कटु बचन बोल्ने मानिस भन्छन् ।’ उनकै स्वीकारोक्ति अनुसार उप्रेतीलाई अंहकारीको आरोप लाग्नु स्वभाविक हो । किनभने झुटका बथानमा कटु बचन बोल्नेलाई अंहकारीको ‘ट्याग’ झुन्ड्याईदिने संस्कार जो छ ।

उप्रेतीको थप स्वीकारोक्ति छ, ‘मलाई सर्वोच्च अदालतको न्यायाधीश हुन नपाएको कुण्ठा पोखिरहन्छ भनी टिप्पणी गर्ने मानिसहरु धेरै छन् भन्ने सुनेको छु ।’

“इमान्दारिता, निष्ठा र क्षमता यी तीन कुराले म अहिलेको स्थानमा आइपुगेको हुँ”, उप्रेती नेपालमुहारसँग आफैँले आपँैंलाई समीक्षा गर्छन । आफँैंलाई साक्षीभाव राखेर सत्य बोल्नु जत्ति कठिन संसारमा केही हुन्न । आफ्नै साक्ष्यमा उप्रेती खरो उत्रिउन् ।

वकालत क्षेत्रमा सार्वजनिक वौद्धिकहरुको निकै ठूलो खडेरी छ । उप्रेती वकालत क्षेत्रमा आँैलामा गन्न सकिने एक सार्वजनिक वौद्धिक हुन् भन्दा अत्युक्ति हुँदैन । यही पहिचानले उनलाई पुस्तौ पुस्ता बचाइराख्न सकोस् ।

#मिति ०४० लाई ०४१ बनाएको