Connect with us

अन्तर्राष्ट्रिय

अलकायदा छाडेर जुलानी कसरी सिरियाका राष्ट्रवादी नेता बने ? पढ्नुहोस्, यो रोचक कथा…

Published

on

सिरियामा युद्ध समाप्त भएको थिएन तर अचानक अबु मोहम्मद अल जुलानीले यस्तो चाल खेलिदिएकि सम्पूर्ण खेल नै उल्टो हुन पुग्यो। हिजो बिहान अचानक उनका सेना राजधानी दमास्कस पुगे, लगत्तै बशर अल असदको शासन समाप्त भयो । अब जुलानी सिरियाको अनुहार जस्तो देखिन्छन् । तर खासमा जुलानी को हुन् ? जसले ५ दशक लामो असद परिवारको निरंकुश शासनबाट देशलाइ मुक्त गराए । 

उनी त्यही व्यक्ति हुन्, जो कुनै समय अल कायदाको झण्डामुनि बसेर अमेरिका विरुद्ध लडेका थिए, जो अहिले सिरियाको नयाँ सरकार प्रमुख बन्न खोज्दैछन् । अब मोहम्मद अल जुलानीको जीवन कथा र कसरी उनी सिरियाको राजनीतिक इतिहासमा सबैभन्दा ठूलो नाम बन्न पुगे, अब हामी त्यो खुलाउनेछौं ।

केही दिनअघि अबु मोहम्मद अल जुलानी एलेप्पोको ऐतिहासिक किल्लाको सिँढीमा चढेको देखिएका थिए । खाकी लुगा लगाएका गार्डहरूसहित त्यो पनि बिना हतियार। र, साथमा पछाडि हजारौं समर्थकको भीड देखिएको थियो । यो तस्बिर उनै जिहादी नेताको थियो, जसले हालै सिरियाको सबैभन्दा ठूलो सहर एलेप्पो कब्जा गरेका थिए र केही दिनभित्र हामा, होम्स र अन्त्यमा दमस्कस पनि कब्जा गर्न सफल भए । र त, असद परिवारको ५० वर्ष पुरानो शासन उखेलियो तर १३ वर्षदेखि चलिरहेको युद्धमा अचानक नयाँ मोड आयो । 

वास्तवमा, असदको सेनाको अवस्था पहिले नै खराब थियो। रुस र इरानको समर्थनको बाबजुद उनको सेना विघटन भएको अवस्था थियो । तर, जुलानीले युद्धमा मात्र ध्यान दिएनन्, उनले वर्षौंदेखि सोचेर हरेक कदम चाल्न सुरू गरेका थिए।

दमन विरुद्ध लड्ने जुलानीको निर्णय 

सन् १९८२ को समय थियो । अहमद हुसेन अल शरा उर्फ ​​अबु मोहम्मद अल जुलानी सिरियाको राजधानी दमास्कसको एक मध्यमवर्गीय सुन्नी परिवारमा जन्मेका थिए। उनको परिवार मध्यम वर्गीय अरबी परिवार थियो। बुबा इन्जिनियर थिए भने उनको परिवार साउदी अरेबियाको अरामको कम्पनीको नजिकै बस्थे। साउदी अरबमा बिताएको उनको बाल्यकालले जुलानीमा धार्मिक र सांस्कृतिक मूल्य मान्यताको गहिरो छाप छोड्यो। उनी पढाइमा अब्बल थिए र साथीहरू माझ चतुर केटा भनेर चिनिन्थ्यो। तर त्यहाँ केही थियो, जसले उनलाई अन्य बच्चाहरु भन्दा फरक बनायो। उनी गहिरो धार्मिकता र इतिहासमा रुचि राख्थे तर उनको परिवार सिरियाली राजनीतिबाट गहिरो प्रभावित थियो।

जुलानीको जन्म हुँदा सिरियाली राजनीतिमा उथलपुथल भइरहेको थियो। बशर अल असदका पिता हाफेज अल असदको सरकारले सन् १९८२ मा होम्स र हमामा मुस्लिम ब्रदरहुड विरुद्ध ठूलो नरसंहार गरेको थियो। त्यसमा हजारौं मानिसहरू मरेका थिए र यसले सिरियाको धार्मिक र राजनीतिक गतिशीलतालाई सदाको लागि परिवर्तन गर्यो। यो त्यो समय थियो, जब जुलानीको परिवार र उनीजस्ता अन्य धेरै सुन्नी मुस्लिमहरू बीच असद सरकार विरुद्ध क्रोध उत्पन्न भइरहेको अवस्था थियो । अन्ततः जुलानीको परिवार सन् १९९० को दशकमा दमास्कस फर्कियो। जुलानीको जीवन परिवर्तन हुन लागेको थियो । सन २००० मा दोस्रो इन्टिफादा, प्यालेस्टाइनमा विद्रोह सुरु भयो। यसले जुलानीको मन र दिमागमा गहिरो छाप छोड्यो। त्यतिबेला उनी १७–१८ वर्षको मात्र थिए तर
उनलाइ त्यो उत्पीडन विरुद्धु लड्ने निर्णयमा पुगिसकेका थिए ।

जुलानीको विचारलाई ‘क्याम्प–बुका’ मा एक किनारा मिल्यो । त्यसपछि सन २००३ आयो। जब अमेरिकाले इराकमा आक्रमण गर्‍यो, अरब जगतमा क्रोधको लहर चल्यो। त्यतिबेला जुलानी २१ वर्षका थिए । उनले आफूलाई सुन्नी मुस्लिमको रक्षा गर्ने मुजाहिदीनको रूपमा हेर्ने निर्णय गरे। र, जुलानीले आफ्नो झोला प्याक गरिन् । दमास्कसबाट बस समातेर सिधै बगदाद गए तर यो सामान्य यात्रा थिएन। बगदादमा उनी अमेरिकी सेनाविरुद्ध लडिरहेका विद्रोही समूहहरूमा सामेल हुन पुगे । जुलानीको नाम इराकमा सानो लडाकुको रूपमा चिनिन थाल्यो तर भाग्यमा अर्कै कुरा थियो । अमेरिकी सेनाले उनलाई समातेर  ‘क्याम्प बुका’ मा कैद गर्यो ।

अब प्रश्न छ, शिविर बुका के थियो ? क्याम्प बुका दक्षिणी इराकमा रहेको अमेरिकी जेल थियो, जहाँ आइएसएस, अल कायदा र अन्य जिहादी समूहका शीर्ष नेताहरूलाई कैद गरिएको थियो। यो जेललाई आतंकवादीहरूको विश्वविद्यालय भनिन्छ। यहाँ जुलानीले आफ्नो दिमाग र विचारलाई अझ तिखार्ने मौका पाए । उनले अल कायदाका नेताहरू, विशेष गरी अबु बकर अल बगदादीसँग आफ्नो सम्बन्ध बलियो बनाए। उनले कुख्यात आतंकवादीहरूसँग मित्रता गर्न सुरू गरे । र, तिनीहरूको योजना सुने पछि उनमा नयाँ विचारधाराको विकास गर्न सफल भए ।

कट्टरपन्थीबाट राष्ट्रवादी नेता

सिरियामा सन् २०११ मा विद्रोह सुरु भएको थियो । अरब वसन्तको प्रभाव सिरियामा पुग्यो र जुलानीले क्याम्प बुकाबाट मुक्त भएर सिरिया फर्कने निर्णय गरे। तिनीहरूसँग पैसा, मानिसहरू र एउटा मिशन थियो, अल कायदाका लागि सिरियामा प्रवेश गर्ने । यहीँबाट उनको वास्तविक यात्रा यहीबाट सुरु हुन्छ । सिरिया फर्के पछि जुलानीले अल कायदाको सहयोगमा नयाँ संगठनको जग बसालेका थिए। यस समूहको नाम अल नुसरा फ्रन्ट थियो। यस समूहको उद्देश्य स्पष्ट थियो, असद सरकारलाई ध्वस्त पार्ने र सिरियामा इस्लामिक शासन स्थापना गर्ने। आत्मघाती हमलादेखि सिरियाली सेनामाथि घातक हमलासम्म, अल–नुसरा फ्रन्टले सम्पूर्ण देशमा डर पैदा गराउन थाल्यो । 

जुलानीले संगठनलाई स्थानीय सिरियाली विद्रोहको अनुहारमा बदल्न पर्ने सोचमा पर्न थाले र त जुलानीले चाँडै महसुस गरे कि उनले आतंकबाट मात्र आफ्नो लक्ष्य पूरा गर्न सकिदैन् । त्यसपछि जुलानीले आफूलाई अलकायदा र आईएसआईएसबाट टाढा राख्न सुरू गरे । सन् २०१३ मा उनले आतंकबादी संगठन अबु बकर अल बग्दादीबाट आफूलाई अलग हुने निर्णय लिए । र, उनले आफूलाई ‘कट्टरपन्थीभन्दा राष्ट्रवादी बढी’ भनेर प्रस्तुत गर्न थाले ।

आतङ्ककारी देखि राजनीतिक शक्तिसम्म 

अब जुलानीले बन्दुक र हिंसाको सहारा मात्र लिएनन्। राजनीतिक चेस बोर्डमा ठूला नेताहरूले बुझ्नै नसक्ने खालका कदम चालेका छन् । सिरियाको राजनीतिक नक्सामा ठूलो उथलपुथल भयो, जब जुलानीले २०१७ मा ठूलो कदम चाले । उनले आफ्नो संगठनलाई पूर्ण रूपमा नयाँ डिजाइनमा लगे । उनले आफ्नो समूहको नाम परिवर्तन गरी हयात तहरीर अल शाम अर्थात् एचटीएस राखे। यस परिवर्तनको उद्देश्य समूहलाई आतंकवादी संगठनबाट ‘राजनीतिक शक्ति’मा रूपान्तरण गर्नु थियो। उनले सिरियाको विद्रोही क्षेत्रमा विद्यालय, अस्पताल र स्थानीय प्रशासन स्थापना गर्न सुरू गरे र उनी एक हदमा सफल पनि भयो । सिरयाली जनताले उनलाइ नयाँ छवीको रूपमा देख्न थाले । र, समूहका कट्टरपन्थी मानिसहरूलाई बाहिर निकालियो। 

एक हिसाबले उनले आफ्नो संगठनलाई ‘इस्लामिक’ र ‘प्रगतिशील’ देखाउन खोजेका थिए । एचटिएसले रूस र पश्चिमी देशहरूसँग प्रत्यक्ष संचार पनि सुरु गर्न थाल्यो । जुलानीले अब आफू ‘आतंकवादी’ नभई ‘राजनीतिक नेता’ भएको सन्देश दिएका छन् । त्यसपछि त्यो ऐतिहासिक मिति आयो– एलेप्पोको पतन।

जब जुलानीले अलेप्पोको किल्लालाई जित्यो, त्यो विजय मात्रै थिएन, अब असद सरकारको दिनगन्ती सुरू भएको संकेत थियो। त्यसपछि आइतबार बिहान उनका सेना राजधानी आयो र दमास्कसको सत्ता क्षणभरमा नै ढालिदियो । रुस र इरान जस्ता शक्तिशाली देशको समर्थनमा रहेको असद सरकार केही घण्टामै ढलेको थियो । यो कुनै चमत्कार थिएन। यो जुलानीमा आतंकबादीबाट रूपान्तरण भएर राष्ट्रवादी नेताको रूपमा  भएको परिवर्तन र उनको सफल  ‘कूटनीति’को परिणाम थियो।

के जुलानी आतंकवादी हुन् ? उनले हतियारले मात्रै लडेका होइनन्, बिचार र योगदानले पनि लडेका छन् । उनले त्यहाँका जनजातिहरूसँग कुरा गरेर अल्पसंख्यकहरूको विश्वास जितेका थिए। र सबैभन्दा चकित पार्ने कुरा  उनले रूसलाई भने कि यदि तिनीहरू सिरियाको पुनर्निर्माण गर्न चाहन्छन् भने एचटीएसले उनीहरूसँग काम गर्न सक्छ।

तर, अब प्रश्न उठ्छ कि जुलानी आतंकवादी हो कि नेता ? उनका बारेमा धेरै विरोधाभासी कुराहरू छन्। कतिपयले उनलाई कट्टरपन्थी भनेका छन् । एचटीएसको बदलिएको प्रकृति देखेर कतिपयले यसलाई सिरियाको  ‘भविष्य’ पनि ठान्छन्। तर एउटा कुरा प्रष्ट छ, जुलानीले राजनीति र युद्धको यस्तो संयोजन सिर्जना गरेका छन्, जुन यसअघि कसैले देखेका छैनन् । 

अब जुलानी र पश्चिमी देशबीचको सम्बन्ध कस्तो हुन्छ ? त्यो हेर्न बाँकी छ । यो प्रश्न हो किनभने अमेरिकाले एचटिएसलाई आतंकवादी संगठन घोषित गरेको छ। यसले पश्चिमी देशहरूसँग सम्बन्ध बनाउने र सिरियाको नेतृत्व गर्ने जुलानीको सपनामा कठिनाइ सिर्जना गर्न सक्छ। जुलानी आफ्नो रणनीति, बुद्धिमत्ता र चलाखीले सिरियाको राजनीतिक नक्सा परिवर्तन गर्ने व्यक्ति हुन् भन्ने उनलाइ ठानिएको छ । किनभने, यो पटक कुनै मानवीय हताहत बिना जुलानीले दमास्कस कब्जा गरेका छन् र राष्ट्रपति असद देश छाडेर भागेका छन् । तर उनको अबको यात्रा कस्तो होला ? समयले मात्र बताउनेछ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.