”राष्ट्रपतिको रूपमा, म गाजामा युद्ध अन्त्य गर्न, बन्धकहरूलाई घर ल्याउन, गाजाको पीडाको अन्त्य गर्न, इजरायल सुरक्षित भएको सुनिश्चित गर्न, र प्यालेस्टाइनी जनताले आफ्नो मर्यादा, स्वतन्त्रता, सुरक्षाको अधिकार महसुस गर्न सक्ने सुनिश्चित गर्न मेरो शक्तिमा सबै गर्नेछु ।’’
अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीको उम्मेदवार कमला ह्यारिसले अन्तिम चुनावी सभालाई गरेका सम्बोधनका अंश हुन् यी । ह्यारिसले गाजामा भइरहेको युद्ध अन्त्य गर्ने प्रतिबद्धता गरेकी छन् । उनले अरबी अमेरिकीहरुको बीचमा आफ्नो अन्तिम चुनावी सभा सम्बोधन गर्दै उक्त प्रतिबद्धता गरेकी हुन् ।
अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार एक वर्षभन्दा लामो समयदेखि चलिरहेको गाजा युद्धमा ४३ हजारभन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको छ भने २ लाख बढी जनता विस्थापित भएका छन् ।
इजरायलले गाजामा निहथ्या नागरिकको समेत निशंश हत्या गरेको छ । ह्यारिसले गाजा युद्ध अन्त्य गर्ने दाबी गरे पनि कसरी ? भन्नेबारे केही खुलाइनन् । आलोचकहरु भने इजरायललाई सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकाले नै गरिरहेको आरोप लगाउँदै आएका छन् ।
अमेरिकी राष्ट्रपति चुनावमा ह्यारिस र डोनाल्ड ट्रम्पबीच इतिहासकै सबैभन्दा कडा प्रतिस्पर्धा भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपि थोरै मतभारले ह्यारिस अघि रहेको ती सञ्चार माध्यमहरुको दाबी छ ।