Connect with us

तथ्य खोज

काठमाडौं स्कुल अफ ल ले गर्यो अभिभावक भेला, पहिलाको भन्दा उत्कृष्ट पठनपाठनका लागि अभिभावकको दबाब

Published

on

केएसएल विरुद्ध रचिएको घृणित प्रपञ्च सफल हुन नदिन प्रतिवाद गर्न तयार रहेको प्रस्ताव पारित

काठमाडौं स्कुल अफ ल ले अभिभावक भेला गरेको छ । काठमाडौं स्कुल अफ लले हिजो ७ बैशाख अपरान्ह बृहत् अभिभावक भेला गरेको हो । भेलामा उपस्थित अभिभावकहरुले कार्यकारी निर्देशक प्रा. युवराज संग्रौला (विद्यावारिधि), काठमाडौं स्कुल अफ ल र शिक्षकहरुविरुद्ध गलत मनसायले उरालिएको ‘अपराधिक लान्छना’हरुको पछि नलागी पठनपाठनलाई विगतमाभन्दा अझ् सशक्त एवम् प्रभावकारी बनाउन समवेत सुझाव दिएका छन्।

भेलाको अध्यक्षता काठमाडौं स्कुल अफ ल का कार्यकारी अध्यक्ष एवम् पूर्वगृह सचिव गोविन्द कुसुम (विद्यावारिधि) ले गरेका थिए भने सञ्चालन सहप्राध्यापक अतिन्द्र दाहाल (विद्यावारिधि) ले गरेका थिए । अभिभावकहरुको भेलामा कार्यकारी निर्देशक प्रा. युवराज संग्रौलाले भावुक मन्तव्य दिएका थिए । प्रा. संग्रौलाले विद्यार्थीहरुलाई छोराछोरी सरह माया गर्नु, उनीहरुको दैनिकी चालचलन, आनीबानी नजिकबाट नियालेर सल्लाह/सुझाव दिनु, जंकफुडमा रमाउने विद्यार्थीहरुलाई पोषिलो दालभात, साग, तरकारी खाउ भन्नु गल्ती भएको बताएका थिए ।

“हामीले हाम्रा विद्यार्थीहरुलाई पढाईलगायतका क्षमतामा बहुआयामिक बनाउन नजिक जान खोजेकै हो । स्नेहभावले तँ, काली, डल्ले, अग्ले, फुच्चा, फुच्ची, जंकफुडमा मरिहत्ते नगर, पढाई नसकी केटाकेटीको पछि नलाग्, कलेज बंक नगर…भनेकै हो । संसारभर माया, स्नेहले गरिने सम्बोधन यस्तै हुन्छ । हामी विद्यार्थीलाई उत्कृष्ट बनाउने, पढाउने मिसनमा एकोहोरो भयौं”, प्रा. संग्रौलाको भनाइ थियो, “त्यसैले हामीले उत्पादन गरेकामध्ये करिब चार सय विद्यार्थीले लोकसेवामा उत्कृष्ट भएर नाम निकालेका छन् । विश्वका प्रतिष्ठित हार्बर्ड, क्याम्ब्रिज, जेनेभालगायत एकसेएक विश्वविद्यालयमा छात्रवृद्धिमा पढेका छन् । कानुन व्यवसायमा उपल्लो दक्षता हासिल गरेका छन् । तर, पछिल्लो समय पुस्तान्तरमा ठूलो अन्तर भइसकेछ । हाम्रो यो उत्कृष्टताबाट हाम्रै केही विद्यार्थीलाई ईर्ष्या भएछ । स्नेहभावले सम्बोधन गर्नु अपराध ठान्न थालिएछ । राम्रो पढ, अनुशासनमा बसभन्दा कलेजमाथि एकलौटी प्रहार गरियो । त्यसैले अब म कलेजमा पठाउँदिन । कलेजको सम्पुर्ण जिम्मेवारीबाट समेत बाहिरिने सोंच बनाएको छु ।”

प्रा. संग्रौलाले यी र यस्तै अभिव्यक्ति दिँदा माहोल निकै भावुक बनेको थियो । भेलामा उपस्थित प्रतिष्ठित अभिभावकहरुले ‘हामीले हाम्रा सन्तानलाई पटक–पटक सोधेका छौं । उनीहरुले यो युवराज सर र कलेजमाथि लगाएको निराधार आरोप हो, केएसएलमा त्यस्तो वातावरण छैन भनेका छन् । हामीले तपाईहरुमाथि लगाएका आरोपहरु विल्कुल पत्याएका छैनौ । हामीले तपाइँ (युवराज सर) को व्यक्तित्व हेरेर हाम्रा सन्तान काठमाडौं स्कुल अफ ल मा पढन पठाएका–ल्याएका हौं । त्यसैले फोहोरी मनसायका एकाध व्यक्तिले लगाएको गलत लान्छनाबाट डराएर प्रा. संग्रौला तपाई आफ्नो जिम्मेवारीबाट पन्छिन पाउनुहुन्न । तपाईको काँधमा हाम्रा सन्तानलाई उत्कृष्ट बनाइदिनुपर्ने दायित्व बाँकी नै छ । तपाईले कलेजको पठनपाठन र जिम्मेवारीबाट अलग हुन्छु भन्न पाउनु हुन्न’ भनेका थिए ।

भेलामा दुई सयभन्दा बढी अभिभावकहरुको सहभागी थियो । अभिभावकहरुमाझ सहप्राध्यापक भीष्म संग्रौलाले २२ साउन ०७६ मा बिएएलएलवी पहिलो वर्षमा भर्ना भएकी ती छात्राको उपस्थिति, चालचलन, अनुशासनबारे केएसएलमा रहेको ‘रेकर्ड’ सुनाएका थिए । जस अनुसार न्यून उपस्थितिका कारण उनी पाँचौ वर्षको परीक्षामा सहभागी हुनै पाउने थिइनन् । तर, अभिभावक (आमा) र विद्यार्थी स्वयम्ले ‘डिप्रेसन’ को औषधि खाइरहेको प्रमाण देखाएपछि मुट कोर्ट (अभ्यास अदालत) को सहभागिता समेतलाई गणना गरेर परीक्षामा सहभागी गराइएको थियो । परीक्षामा सहभागी हुनु केही दिन अघि मात्र उनले एउटा बेनामे उजुरी दिएकी थिइन । परीक्षा सकिएको साता नबित्दै उनी सुरुमा कार्यकारी निर्देशक प्रा. संग्रौला र कलेजलाई तथानाम गाली गर्दै सामाजिक सञ्जालमा प्रकट भइन् । अनि तिनै छात्राको कुरालाई मात्र आधार बनाएर समाचार प्रकाशित गरियो ।

त्यसपछि ती छात्राले श्रृंखलावद्ध रुपमा आरोप, गाली गलौजको रफ्तार बढाइन । केही पूर्वविद्यार्थीका तर्फबाट भन्दै विज्ञप्ति प्रकाशित गरेर आक्रमणको घनत्व उचालियो । जबकी ती छात्राले म पीडित होइन भनेको, संग्रौला परिवारसँग पटक–पटक गरेर २० लाख रुपैयाँ मागेको, उनकी छोरी युगिच्छालाई ज्यूँदै जलाई दिन्छु भनेर आतंकित पारेको, डिप्रेसनको औषधि खाइरहेको छु भनेर स्वीकार गरेको, आफ्नै बावुआमालाई निकृष्ट गाली र हजुरबुवालाई बलात्कारी भनेको जस्तायावत विश्रृंखलतामाथि अलिकति पनि ध्यान दिइएन ।

भेलामा २० जना बढी अभिभावक एवम् पूर्वविद्यार्थीहरुले कार्यकारी निर्देशक प्रा. संग्रौला र काठमाडौं स्कुल अफ ल माथिको अनुभव र अनुभूति साझा गरेका थिए । सात वर्ष आफ्नी छोरी त्यहीँ पठाएका अभिभावक अर्जुन प्रसाईँले आफूले अनेक कोणबाट बुझ्दा पनि आरोपमा सत्यता नभएको बताए । पाँच जना आफन्त केएसएलमै बिएएलएबी र एलएलएम पढाएका अर्का अभिभावक तीर्थ पौडेलले ती छात्रा स्वचालित नभएर कोहीबाट परिचालित भएकी जिकिर गरे । ती छात्राले आक्षेप लगाए जस्तै प्रा. संग्रौला र कलेजका अन्य शिक्षकहरु गलत भएको भए यतिको अभिभावक भेला नै गराउन नसक्ने उनको भनाइ थियो । “युवराज सर र केएसएलमाथिको आरोप सुन्न बित्तिकै मैंले बिएएलएलबी पाँचौं वर्ष यही पढिरहेको छोरो र बिएएलएलबी र एलएलएम यहीँ गरेर पेसामा जमिरहेकी बहिनीलाई सोधेँ”, पौडेल भन्दै थिए, “उनीहरु दुवैले यो लान्छना गलत हो भने ।”

अर्का अभिभावक एवम् पूर्वविद्यार्थी विनोदमणि भट्टराईले आफूभन्दा अघि आफ्ना चार जना चेला केएसएलमै पढेका र उनीहरुले प्रशंसा गरेकै कारण आफूले पनि एलएलएम यहीँबाट गरेको सुनाएका थिए । “मैले अनुशासन, मेहनत, विद्यार्थीलाई पठाउने कला के हो भनेर प्रा. युवराज संग्रौलाबाट जे जति सिकेको छु, त्यति सायद अरु कोहीबाट पनि सिक्न सकेको छुइनँ”, भट्टराईको भनाइ थियो, “ती छात्राले लगाएको आक्षेप र यो घटनाले युवराज सरको उर्जा घट्नु हुँदैन । काठमाडौं स्कुल अफ ल ले म र म जस्तालाई जे जति संस्कार दिएको छ, आगामी दिनमा त्यसमा कमी हुनुहुँदैन ।”

अर्का अभिभावक ज्ञानेश्वर अर्याल, जसकी छोरी त्यहीँ पढिरहेकी छन्, ले युवराज सरले तँ भनेको, केटा खोज्न हतार नगर भनेकै जस्ता कुरालाई आधार बनाएर निम्नस्तरको लान्छना लगाउनु अपराध भएको बताएका थिए । नेपाल कानून क्याम्पस प्रर्दशनीमार्गमा संग्रौलाको विद्यार्थी रहेकी र यसबेला आफ्नी छोरीलाई केएसएलमै पढाइरहेकी सजनी जोशीले कलेजको स्वच्छ छवी धमिल्याउने प्रयास भइरहेको बताएकी थिइन । “म युवराज सरकै विद्यार्थी हुँ । त्यही प्रभावले मैले मेरो छोरीलाई यहीँ पठाइरहेको छु । मैले छोरीलाई पनि सोधेकी छु । उनले होइन भनेकी छन् । त्यसैले युवराज सर र केएसएलमाथि लगाएका आरोपहरु म पत्याउँदिन । हामी अभिभावकहरु कसैले पनि पत्याउन हुँन्न ।”

काठमाडौं स्कुल अफ लबाटै एलएलएम गरेपछि त्यसको गहिरो प्रभाव परेसँगै त्यहीँबाट श्रीमतीलाई बिएएलएलबी, एलएलएम र हाल विद्यावारिधि गराइरहेका ज्योतिराम फुयाँलले आफू र आफ्नो परिवारले त्यस्ता आरोप पत्याउनै नसक्ने बताएका थिए । “युवराज सर र यस कलेजले म र मेरी श्रीमतीमाथि गरेको विकास देखेर मेरो परिवार र गाउँका कम्तिमा २५ जना यस कलेजमा पढिरहेका छन् । मेरा सालीहरु यही पढ्छन् । युवराज सरको संगत, प्रेरणा, मेहनतको कारणबाट हाम्रो भविष्य बनेको छ । म सबै अभिभावकहरुलाई आग्रह गर्न चाहन्छु, यो कलेजमा आक्षेप लगाए जस्तो गलत कार्य हुँदैन ।”

पवित्रा खनाल, गणेशविक्रम कार्की, बिन्दु अधिकारी, गोविन्द पाण्डे, मुनालजंग कार्की, अप्सरा थापालगायत थुप्रै अभिभावकहरुले कलेजमाथि हिलो छ्याप्ने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद गर्न आफूहरु तयार रहेको बताएका थिए । अभिभावकहरुको भेलाले कलेज विरुद्ध रचिएको घृणित प्रपञ्च सफल हुन नदिन प्रतिवाद गर्न तयार रहेको प्रस्ताव पारित गरेको थियो ।

काठमाडौ स्कुल अफ लः नागरिक समाज र नेपाल बार एसोसियसन कहिलेसम्म रमिते ? – Nepal Muhar

काठमाडौं स्कूल अफ ल र कार्यकारी निर्देशक युवराज संग्रौलामाथि योजनावद्ध आक्रमण – Nepal Muhar

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.