Connect with us

राजनीति

कीर्तिपुर नगरपालिकाको मेयरमा रोचक भिडन्त, ठूला पाँच पार्टीका उम्मेदवार एउटै समुदायका

Published

on

संघीय राजधानी काठमाडौँको पश्चिम-दक्षिण भेगमा अवस्थित कीर्तिपुर नगरपालिकाको मेयरको उपनिर्वाचनलाई राजनीतिक दलहरूले आफ्नो शक्ति परीक्षण गर्ने प्रतिष्ठा बनाएका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर निर्वाचित नेपाली कांग्रेसका राजकुमार नकर्मीको क्यान्सर रोगका कारण निधन भएपछि आउँदो १६ मंसिरमा त्यहाँ उपनिर्वाचन हुँदैछ । त्यहीँ उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका हुन् ।

कीर्तिपुर नेवारी बाहुल्यता भएको वस्ती हो । रोचक के भने यस नगरपालिकाको मेयरमा सबै ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) ले नेवार समुदायकै नेताहरुलाई प्रतिस्पर्धाको मैदानमा उतारेका छन् ।

नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोल, एमालेले सुरेन्द्र मानन्धर, माओवादीले शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जन र जसपाले हनि महर्जनलाई प्रतिस्पर्धाको मैदानमा उतारेका छन् । जसपा उम्मेदवार हनि मर्हजन तेस्रो लिङ्गी समेत हुन् ।

नेपाली कांग्रेसले डंगोल र जसपाले मर्हजनलाई आ आफ्नो पार्टीको उम्मेदवार बनाउने निर्णय हिजो शनिबार मात्र लिएका हुन् । डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगर समितिका सभापति हुन् । यता हनि मर्हजन कीर्तिपुरस्थित समर्पण सभ्य समाज नेपालका सचिव तथा स्थानीय ‘टुरिस्ट गाइड’ हुन्।

सत्तारुढ एमालेले कीर्तिपुरमा पार्टी केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर (विद्यावारिधि) लाई उम्मेदवार बनाएको छ। पार्टीहरुमध्ये एमालेले सबैभन्दा पहिले मानन्धरलाई कीर्तिपुरको मेयरको उम्मेदवार घोषणा गरेको थियो । कीर्तिपुरलाई एमालेले आफ्नो पकड क्षेत्र मान्दै आएकोमा अघिल्लो निर्वाचनमा नराम्रो हार बेहोरेको थियो । त्यहाँ यस पटक साख व्युँताउने एमालेको दाबी छ । मानन्धर कीर्तिपुरकै रैथाने मात्र नभएर बौद्धिक व्यक्तित्व समेत भएकालेसाख फर्काउन सहज हुने एमालेको निष्कर्ष छ ।

एमालेपछि माओवादी केन्द्रले कीर्तिपुरको मेयरमा प्रा.डा शिवशरण महर्जनको नाम टुङ्गो लगाएको थियो । प्रा.डा. महर्जनको उम्मेदवारी घोषणा गर्दै पुष्पकमल दाहाल प्रचण्डले यसपटक कीर्तिपुरमा इतिहास रचिने दाबी गरेका छन्। तर, विगतका चुनानी नतिजा आँकलन गर्दा माओवादीलाई जित पोल्टामा पार्न सहज देखिँदैन । कीर्तिपुरमा राप्रपाले धु्रव मर्हजनलाई उम्मेदवार बनाएको छ ।

यहाँ घण्टी अर्थात रास्वपाले भने नेवार समुदायभन्दा बाहिरका जयराम कार्कीलाई उम्मेदवार बनाएको छ। रास्वपा पहलिो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुँदैछ ।

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.