व्यवसायी भट्टको सन्देहपूर्ण कारोबारको छानबिन गर्न संयुक्त अनुसन्धान टोली
विवादास्पद व्यापारी दीपक भट्टको सन्देहपूर्ण आर्थिक कारोबार छानबिन गर्न सरकारले गठन गरेको संयुक्त अनुसन्धान टोलीले विभिन्न निकायलाई पत्राचार गरेर विवरण मगाउन थालेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्वमा गठन भएको टोलीले उनका सम्पूर्ण कारोबार र सम्पत्तिको विस्तृत छानबिन थालेको हो ।
नेपाल राष्ट्र बैंक, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा राजस्व अनुसन्धान विभागका प्रतिनिधि सदस्य रहेको टोलीले भट्टका सबै कम्पनीको कारोबार विवरण मगाएर विश्लेषण गर्न थालेको छ । विगतमा पनि राष्ट्र बैंकले शंकास्पद कारोबार देखिएपछि उनीमाथिको छानबिन गर्न पत्राचार गरेको थियो । तर, तत्कालीन केपी ओली नेतृत्वको सरकारको दबाबमा रोकिएको थियो । अहिले नयाँ सरकार बनेपछि छानबिन फेरि सुरु भएको हो ।
टोलीले नेपाल बिमा प्राधिकरणलाई पत्राचार गरेर हिमालयन रिइन्स्योरेन्स कम्पनीमा ४५ करोड सेयर लगानी भएको विषयमा विस्तृत छानबिन गरेर यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । टोलीले जगदम्बा स्टिल्ससँगको शंकास्पद कारोबारबारे पनि विश्लेषण गर्न भनेको छ । विभागबाट प्राप्त पत्रमा भनिएको छ, ‘हिमालयन रिइन्सुरेन्स लिमिटेडमा इन्फिनिटी होल्डिङ्स प्रालिले गरेको रु. ४५ करोडको वास्तविक धनी को हो ? सो रकम लगानी गर्दा सम्बन्धितले पेस गरेको स्रोत के हो ? सोको प्रमाण के कसो छ ? सो रकम के कुन बैंक तथा वित्तीय संस्थाको के कति नम्बरको क–कस्का नाउँको खाताबाट जम्मा हुन आएको रहेछ ? लगानीको स्रोत स्पष्ट छ, छैन ? यदि स्रोत नै संदिग्ध हो भने सोका आधारहरू के रहेछन् ? सो बिमा कम्पनी दर्ता एवं इजाजतका क्रममा जोखिम विश्लेषण एवं उपयुक्तताको मापन के कसरी गरिएको छ ? सो कम्पनीमा नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनै निकायरसंस्थाको सेयर वा लगानी रहेको छ कि छैन ? भए के कुन संस्थाको रहेको छ ?’ विभागले प्राधिकरणसँग यी प्रश्नको जवाफ माग्दै १६ मंसिरमा पत्र लेखेको हो ।
इन्फिनिटी होल्डिङ्स प्रालि भट्टको एकल स्वामित्वको कम्पनी हो । सोही कम्पनीको नाममा उनले ४५ करोडबराबरको संस्थापक सेयरमा लगानी गरेका थिए । हिमालयन रिइन्स्योरेन्स भट्ट तथा शंकर ग्रुपको लबिङमा स्थापना भएको कम्पनी हो । जुन स्थापनामा ठुलो नीतिगत भ्रष्टाचारको आरोप लाग्दै आएको छ । सो कम्पनीमा भट्टले लगानी गरेको ४५ करोडको स्रोतमाथि अहिले छानबिन सुरु भएको हो । यसरी उनले सेयर लगानी गर्नुअघि जगदम्बा स्टिल्सबाट सिद्धार्थ बैंकमा रहेको उनको खातामा ४५ करोड ट्रान्सफर भएको थियो । सोही शंकास्पद रकम उनले कम्पनीमा लगानी गरेको आशंकामा छानबिन अघि बढेको हो । यस विषयमा नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबार देखिएको भन्दै छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । तर, विभागले सरकारको दबाबमा गत ३० वैशाख ०८२ मा ‘सम्बन्धित नियमनकारी निकायबाटै सोतर्फ कारबाही हुनुपर्ने देखियो’ भन्ने व्यहोराको पत्र लेखेर छानबिनबाट पन्छिएको थियो ।
जेन–जी आन्दोलनपछि भट्टमाथि विभिन्न निकायमा उजुरी परेकोमा सोही आधारमा छानबिन अघि बढेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेकामा गत ११ कात्तिकमा आयोगले सिआइबीलगायत विभिन्न निकायलाई पत्राचार गरी अनुसन्धान गरेर त्यसको जानकारी गराउन भनेको थियो । यद्यपि, छानबिनको गति भने सुस्त नै छ । अनुसन्धान प्रभावित पार्न विभिन्न व्यक्तिबाट दबाब आइरहेको विभागका एक अधिकारी बताउँछन् ।
भट्टकी सासू पनि छानबिनमा
संयुक्त छानबिन टोलीले हिमालयन रिइन्स्योरेन्स कम्पनीबाट इन्फिनिटीका सञ्चालकले लिएको लाभांशको विवरण पनि मगाएको छ । साथै, भट्टले आफन्तका नाममा लिएको रकमको विस्तृत विवरण पनि अनुसन्धान टोलीबाट माग भएको बिमा प्राधिकरण स्रोत बताउँछ । उनकी सासू अञ्जना नेपालको नाममा दर्ता गरिएको एलियन्ट ब्रोकरेज कम्पनीमा हिमालयन रिइन्स्योरेन्सबाट ५२ करोड जम्मा गरिएको विषयमा पनि विभागको निर्देशनअनुसार प्राधिकरणले छानबिन थालेको छ ।
प्राधिकरणलाई लेखिएको पत्रमा भनिएको छ, ‘एलियन्ट ब्रोकरेज प्रालिको हकमा अन्जना नेपालको लगानी रहेरनरहेको, निजको के कति रहेको, सो लगानीको स्रोत के कसो रहेछ, सो स्रोत जायज वा के कसो देखिन्छ रु सो कम्पनीको वास्तविक धनी को हुन सक्ने देखिन्छ ? सोको आधार के हो ? सो प्रालिको खाताबाट अन्जना नेपालको महालक्ष्मी विकास बैंकमा रहेको खातामा सन् २०२४/६/१६ र १९ गतेका दिन के कति रकम केबापत ट्रान्सफर भएको हो ? सो प्रालिको अभिलेख तथा लेखासम्बन्धी कागजात वासलातमा के शीर्षकमा गएको जनाएको छ ? सो रकम कम्पनीबाट अन्जना नेपालको खातामा जम्मा हुनुअघि ३ वर्षको कारोबार विवरण, नाफा, लाभांश वितरणको अवस्था र सो रकम भुक्तानी भएपश्चातका वर्षमा सो कम्पनीको वित्तीय अवस्था के कस्तो देखिन्छ ? विश्लेषण तथा विस्तृत छानबिन गरी राय दिनू ।’
शंकास्पद कारोबारदेखि कर्जा दुरुपयोगसम्म
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले भट्ट र उनको परिवारको बैंक खातामा अस्वाभाविक कारोबार पत्ता लगाएपछि दुई वर्षअघि नै पत्राचार गरेको थियो । भट्टको एकल स्वामित्वमा रहेको कम्पनी इन्फिनिटी होल्डिङ्स प्रालिको चुक्ता पुँजी एक वर्षमा तीन करोडबाट ४८ करोड पुर्याइएको र त्यसको स्रोत खुलाउन नसकेपछि राष्ट्र बैंकले छानबिन गर्न भनेको थियो ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालि र उनको व्यक्तिगत ओभरड्राफ्ट चल्ती खाताबाट शंकास्पद र अस्वाभाविक कारोबार भएको देखिन्छ । ५० लाख ऋणको सीमा रहेको उनको व्यक्तिगत खाताबाट १४ असार ०७८ देखि २३ असारको बिचमा ३० करोड १५ लाख ८७ हजार ७४७ जम्मा भएको थियो भने ४५ करोड चार लाख ४५ हजार ११० भुक्तानी भएको थियो ।
त्यस्तै, १७ असार ०७८ देखि ५ साउन ०७८ को बिचमा इन्फिनिटी होल्डिङ्सको खातामा १८ करोड ४० लाख ९५ हजार ५६६ जम्मा र ६३ करोड ४० लाख ९३ लाख ८२९ भुक्तानी भएको थियो । जुन खाताको ऋण सीमा ४४ करोड छ । त्यस्तै, उनको नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा सोही वर्ष असार १३ देखि १६ को बिचमा जगदम्बा स्टिल्सबाट ४५ करोड जम्मा भएको थियो ।
जगदम्बा स्टिल्सले हिमालयन बैंकबाट लिएको कर्जा भट्टले दुरुपयोग गरेको विषय पनि छानबिनमा छ । सो कम्पनीका नाममा एक अर्ब २६ करोडबराबरको ऋण स्वीकृत गरिएको थियो । त्यसमध्ये ३८ करोड ८१ लाख जगदम्बा स्टिल्सको व्यावसायिक चल्तीखाताबाट कम्पनीका अध्यक्ष शंकरलाल अग्रवालले दीपक भट्टलाई रकमान्तर गरेर बैंकिङ कसुर गरेको भनी यसअघि नै सम्पत्ति शुद्धीकरणले राष्ट्र बैंकलाई प्रतिवेदन दिएको थियो ।
गत वैशाखमा विभागले राष्ट्र बैंकलाई लेखेको पत्रमा भनिएको छ, ‘उक्त कम्पनीका अध्यक्ष शंकरलाल अग्रवालले दीपक भट्टलाई रकमान्तर गरेको रकम रु। २० करोड व्यवसायका लागि लिएको ऋणको दुरुपयोग गरी बैंकिङ कसुर गरेको हुन सक्ने भन्ने उल्लेख भएको र सो विषय अनुसन्धान तथा कारबाहीका लागि साधिकार निकायमा पठाइएको भन्नेसमेत देखिन नआएको, सो सम्बन्धमा मूलतस् नियामक निकायको हैसियतले नेपाल राष्ट्र बैंकबाट निरीक्षण तथा सुपरिवेक्षण हुनुपर्ने देखिन्छ भने बैंकिङ कसुरमा कारबाही गर्न सक्षम निकाय विभाग नभएकाले नियमनरसुपरिवेक्षणलगायतका जे–जे हुनुपर्ने हो, सो गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउनुपर्ने जिम्मेवारी वित्तीय जानकारी इकाइमा समेत निहित रहेको नै मान्नुपर्ने देखिन आयो ।’
जेन–जी आन्दोलनपछि केही जेन–जी अगुवाले भट्टलाई पनि छानबिनको दायरामा ल्याउन माग गर्दै विभिन्न निकायमा उजुरी गरेका थिए । स्रोतका अनुसार सोही उजुरीपछि अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्यालसहित बसेको बैठकपछि यसरी संयुक्त अनुसन्धान टोली बनेको हो । टोली बनेको एक महिना भइसक्दा पनि नतिजा देखिने गरी काम हुन नसकेकोमा मन्त्रीहरू सन्तुष्ट नरहेको स्रोत बताउँछ । दबाब र प्रभावका कारण भट्टमाथिको छानबिन विगतमा झैँ प्रभावित हुने आशंका गरिएको छ । भट्टले भने आफू उद्यमी भए पनि बिचौलिया भनेर खेद्ने काम भएको र आफूले कुनै अनैतिक काम नगरेको दाबी गर्दै आएका छन् ।
सरकारमा जो आए पनि उनीहरूलाई प्रभावित पारेर महत्वपूर्ण निकायमा आफ्ना विश्वासपात्रलाई नियुक्त गर्ने र नीतिगत भ्रष्टाचार गर्ने आरोप भट्ट र उनीनिकट व्यापारिक समूहमाथि लाग्दै आएको छ । सोही विषयमा हाल संयुक्त अनुसन्धान टोली बनाएर छानबिन अघि बढेको हो ।
नवराज मैनाली/नयाँ पत्रिका