Connect with us

अर्थ

महानगरको बजार अनुगमन: १० दिनमा १३० पसलमा भेटिए ‘म्याद’ गुज्रिएका सामान

Published

on

काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गर्‍यो । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिए ।

८२ वटा पसलमा देखिने गरी मूल्य सूची राखिएको थिएन । यस्ता पसललाई देखिने गरी सूची राख्न लगाइयो । ६२ वटाको व्यवसाय दर्ता छैन । यस्ता व्यवसायीलाई ७ दिनभित्र व्यवसाय दर्ता गर्न समय दिइएको छ । यसरी समय दिएकामध्ये १ जनाले दर्ता गरिसक्नु भएको छ । 

चाडपर्वमा फलफुल, माछामासु, दूध तथा दुग्ध पदार्थको धेरै प्रयोग हुन्छ । यसबेला तौल र गुणस्तरका आधारमा मूल्यमा ठगी हुन सक्छ । अनुगमनका क्रममा मूल्य सूची नराख्नु, खरिद विक्री विलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएका छन् । यसतै व्यवसाय दर्ता नगर्नु, म्याद सकिएका सामान राख्ने कक्ष नहुनु जस्ता समस्या साझा रुपमा देखिएका छन् । 

पसलमा बेच्न राखिएका सामानहरुमध्ये प्याकेजिङ् गरिएका जुस, कुकिजलगायत विस्कुटहरु, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसलाहरु, भिनेगर, केचअप, जाम जस्ता खाद्य तथा पेय पदार्थहरु म्याद सकिएको भेटिने गरेका छन् । यो अवस्थालाई न्यूनीकरण गर्न अनुगमनका क्रममा विक्रीका राखिएका खाद्य सामग्री तथा पेय पदार्थको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्ष हेर्ने गरिएको छ । त्यस्तै पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, विक्री कक्षको प्रबन्ध, खरिद तथा विक्री बिल, दर्ता तथा नविकरण जस्ता सूचकका आधारमा अनुगमन गरिन्छ । 

उपभोक्ताहरुले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अनुगमन गरिएको हो । अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको लक्ष्य हो । 

फुड टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेका छन् । 

‘सुरक्षा, सुनुवाई, क्षतिपूर्ति र छनोट’ उपभोक्ताका प्रमुख ४ वटा अधिकार छन् । यी अधिकारको प्रत्याभूत गराउन महानगरपालिकाले काम गरिरहेको हो । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.