Connect with us

समसामयिक

प्रजातन्त्र सेनानी नेपाली कांग्रेसका पाका नेता देवीध्वज बस्नेतको निधन

Published

on

नेपाली कांग्रेसका पाका नेता देवीध्वज बस्नेतको निधन भएको छ । सोलुखुम्बूको चौलाखर्क लिखुखोला) मा जन्मिनु भएका उहाँ ९९ वर्षको हुनुहुन्थ्यो । पछिल्ला वर्षहरुमा उहाँ काठमाडौं गौरीघाटमा बस्दै आउनु भएको थियो । गौरीघाटस्थित घरमै गएराति १० बजे उहाँको निधन भएको नाति सुरज बस्नेतले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस सोलुखुम्बूका पूर्वसभापति प्रभुराम बस्नेतका अनुसार बस्नेत राणा शासन हटाउने २००७ सालको क्रान्तिमै सहभागी हुनु भएको थियो । “२००७ सालमा राणा शासन विरुद्धको आन्दोलनमा पूर्व कब्जा गर्दै चरिकोटतिर अघि बढेको मुक्ति सेनामा लिखुखोला क्षेत्रबाट कमाण्डर भएर देवीध्वज बस्नेतले प्रजातन्त्र प्राप्तिको लडाईंमा प्रत्यक्ष नेतृत्व गर्नु भएको थियो”, पूर्वसभापति बस्नेत भन्छन्, “२००७ सालको क्रान्तिमा प्रत्यक्ष सहभागी हुनेहरुमध्ये सायद उहाँ मात्र एक जीवित हुनुहुन्थ्यो । अब उहाँ पनि रहनु भएन । उहाँको निधनले प्रजातन्त्रवादीहरुलाई ठूलो क्षति पुगेको छ ।”

२०१५ सालको आम निर्वाचनमा पूर्व तीन नं. क्षेत्रबाट नेपाली कांग्रेसलाई निर्वाचित गराउन बस्नेत परिवारले ठूलो मेहेनत गरेका थिए । नेपाली कांग्रेस प्रतिवन्धित रहेकै अवस्थामा २०४५ मंसिरदेखि ०४८ को नवौं महाधिवेशनसम्म कांग्रेस सोलुखुम्बूका सभापति रहेका छत्रध्वज बस्नेतका भनाइमा कांग्रेसले २०१६ सालमा दुई तिहाई बहुमतको सरकार गठन गरेपछि पार्टी निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय सम्मेलन गरेको थियो । त्यो सम्मेलनमा देवीध्वज बस्नेत पूर्व तीन नं. बाट प्रतिनिधि चुनिएर केन्द्रीय वुद्धिजीवी सभाको सदस्य निर्वाचित भएका थिए ।

“वीपी कोइरालासँग पारिवारिक सम्बन्धका कारण देवीध्वज बस्नेतका बुवा मकरध्वज बस्नेत २००७ सालको क्रान्ति अघिदेखि नै नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्थ्यो । बुवाकै प्रेरणाले देवीध्वज २००७ सालको क्रान्तिमा होमिनु भएको थियो”, पूर्वजिल्ला सभापति छत्रध्वज बस्नेत भन्छन्, “उहाँको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनले एउटा अविचलित योद्धा गुमाएको छ भने हामी प्रजातन्त्रवादीले भरपर्दो अभिभावक गुमाएका छौ । उहाँको निधन प्रजातन्त्रका लागि अपुरणीय क्षति हो ।”

बस्नेत प्रतिस्पर्धी दलहरुका समेत सम्मानित नेता थिए । ०५१ को आम निर्वाचनमा रामेछाप जिल्लाबाट निर्वाचित नेकपा एमालेका तत्कालीन प्रतिनिधि सभा सदस्य एवम हाल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य देवशंकर पौडेलले ४ दिनअघि २१ पुस ०८१ को मध्यान्ह सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘श्रद्धेय अग्रज देवीध्वज बस्नेत–९८ (पेकरनास, गुम्देल)  प्रति आरोग्यताको कामना !’ विडम्बना- पौडेलको त्यो कामना धेरै दिन टिक्न सकेन । चौलाखर्कबाट लिखुखोला पारी रामेछापको पेकरनास,गुम्देल पर्ने भएकोले बस्नेतको जग्गा-जमिन बसोबास त्यता पनि थियो ।

बस्नेत पञ्चायतकालमा सोलुखुम्बूको साविक चौलाखर्कमा जनपक्षिय प्रधानपञ्च निर्वाचित हुनु भएको थियो भने ०४९ को स्थानीय निर्वाचनमा चौलाखर्क गा.वि.स.को अध्यक्ष बन्नु भएको थियो । नेपाली कांग्रेसको इतिहासका लेखक एवम् संविधान सभा सदस्य स्वर्गीय पुरुषोत्तम बस्नेत देवीध्वजका भाइ र कांग्रेस नेतृ, पूर्वमन्त्री अम्बिका बस्नेत भतिजी हुनुहुन्छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.