Connect with us

तथ्य खोज

काठमाडौं स्कुल अफ ल मा नयाँ नेतृत्व

Published

on

”केएसएल देश विकासको प्रोटोटाइप (नमूना, परिरुप) हो । यस कलेजलाई अब नयाँ नेतृत्वले थप समृद्ध बनाओस् ।”

काठमाडौं स्कुल अफ ल (केएसएल) व्यवस्थापनले नयाँ नेतृत्व नियुक्त गरेको छ । हिजो ३२ साउन अपरान्ह कलेज व्यवस्थापनले ‘एफ हल’ मा भव्य कार्यक्रम आयोजना गरी क्याम्पस प्रमुखमा सह–प्राध्यापक भीष्म संग्रौला, सहायक क्याम्पस प्रमुख एवम् परीक्षा विभाग प्रमुखमा सह–प्राध्यापक लक्ष्मी सापकोटा, एलएलएम तहको संयोजक तथा कानूनी शिक्षा विभाग अन्तरगत मुटकोर्ट, लिगल एड एवम् आवासीय कक्षा सञ्चालन प्रमुखमा सह–प्राध्यापक ज्ञानु गौतम, कार्यमूलक कानून शिक्षण विभाग संयोजकमा विशेष अदालतका पूर्वअध्यक्ष, पूर्वन्यायाधीश अतिथि प्राध्यापक प्रेमराज कार्की, प्रकाशन विभाग प्रमुखमा सह–प्राध्यापक रामचन्द्र फुयाँललाई नियुक्त गरेको जानकारी दिएको हो ।

दायाँबाट क्रमशः सहायक क्याम्पस प्रमुख लक्ष्मी सापकोटा, क्याम्पस प्रमुख भीष्म संग्रौला र प्रकाशन विभाग प्रमुख रामचन्द्र फुयाल

त्यस्तै शिक्षण सिकाइ सल्लाहकारमा सह–प्राध्यापक युगिच्छा संग्रौला, अन्तराष्ट्रिय सम्बन्ध विभागमा सह–प्राध्यापक स्वेच्छा संग्रौला, अनुसन्धान विभागमा सह–प्राध्यापक लक्ष्मी वखाद्यो, विएएलएलबी चौथो वर्षको संयोजक सहायक–प्राध्यापक सुरेन्द्र रजौरा, विएएलएलबी दोस्रो वर्षको संयोजकमा सहायक–प्राध्यापक प्रपन्ना आचार्य, इथ्नोग्राफी तथा कानून संस्कृति अध्ययन इकाइ संयोजकमा सहायक–प्राध्यापक सम्राट शर्मा, संस्थागत अध्ययन भ्रमण तथा स्थलगत अध्ययन अवलोकन इकाइ संयोजकमा सहायक–प्राध्यापक अमृता गौतम, सूचना सञ्चार विभाग तथा कलेज प्रवक्तामा सहायक–प्राध्यापक रुविन श्रेष्ठ, प्रमुख प्रकाशकीय अधिकृत एवम् विद्यार्थी कल्याण विभाग प्रमुखमा निरज तामाङ नियुक्त भएका छन् । तामाङ यसअघि पनि प्रमुख प्रकाशकीय अधिकृत थिए । उनलाई केएसएलले विद्यार्थी कल्याण विभाग प्रमुखको थप जिम्मेवारी दिएको छ ।

नयाँ जिम्मेवारी पाउनेहरु

नयाँ जिम्मेवारी घोषणासभामा केएसएलबाट ६५ वर्षे उमेर हदले आज एक साउनबाट लागू हुने गरी अवकाश लिएका कार्यकारी निर्देशक प्रा. युवराज संग्रौला (विद्यावारिधि), क्याम्पस प्रमुख प्रा. कुमार इङ्नाम (विद्यावारिधि), एकेडेमिक इन्चार्ज प्रा. हङकङ राना, संस्थापक राममणि गौतम, प्रा. अतिन्द्र दाहाल (विद्यावारिधि), सह–प्राध्यापकद्धय सुरज बस्नेत, कपिल आचार्य, उप–प्राध्यापक राजीव विष्ट, उप–प्राध्यापक शर्मिला थापा (विद्यावारिधि)लगायत प्राध्यापक, सह–प्राध्यापक, उप–प्राध्यापक, सहायक–प्राध्यापक एवम् कर्मचारीहरुको बाक्लो उपस्थिति थियो । नयाँ जिम्मेवारी प्राप्त गर्नेहरुलाई कार्यकारी निर्देशक प्रा. संग्रौला, प्रा. राना, प्रा. इङ्नामलगातयले खादा र प्रा दाहालले मन्तव्यद्धारा स्वागत गरेका थिए ।

नयाँ नेतृत्वलाई स्वागत गर्दै प्रा. संग्रौला

नवनियुक्त पदाधिकारीहरुबीच नेपाल सरकारका पूर्वमहान्याधिवक्ता समेत रहेका प्रा. युवराज संग्रौलाले केएसएल स्थापना यताको २५ वर्षको यात्रा आरोह/अवरोह सुनाएका थिए । त्यसक्रममा माहोल निकै भावुक बनेको थियो ।
संग्रौलाले राखेको झण्डै एक घण्टा लामो मन्तव्यको सार थियो, “पद ठूलो कुरा होइन, जिम्मेवारी प्रमुख हो । पद जो कोहीले पाउन सक्छन् । तर, पद अनुसारको जिम्मेवारी सबैले पुरा गर्न सक्दैनन् । नयाँ जिम्मेवारी पाउनु भनेको नयाँ चुनौती थपिनु पनि हो । नयाँ नेतृत्वले कानूनी शिक्षा र कलेजमाथि आइ लाग्ने नयाँ–नयाँ चुनौतीहरुलाई सामना गरेर आफूलाई अब्बल सावित बनोस् ।”

आफ्नो मन्तव्य राख्दै प्रा. संग्रौला

केएसएलका अवधारणाकर्तासमेत रहेका संग्रौलाको थप भनाइ थियो, “नौ जना संस्थापकहरुको अठोटबाट सुरु भएको कलेज आज हजारौंको भएको छ । यो कलेज कुनै व्यक्तिका लागि नभएर नेपाल राष्ट्रका लागि, कानूनी शिक्षाको स्तरोन्नतिका लागि बनाएको हो । यो कलेज कुनै व्यक्तिको होइन, राज्यको सार्वजनिक संस्था हो । तर, संस्थापक नौ प्लस दुई गरी ११ जनाको रगत पसिनाले यो कलेज बनेको हो भन्ने सबैले बुझ्न जरुरी छ । यो कलेजले इतिहास पनि रच्नुपर्छ, यसले मुनाफा पनि कमाउनु हुन्न । कुनै पनि संस्था बलियो बनाउन आँट चाहिन्छ । किनकी दुनियाँ आँटले चल्छ । आँट भएपछि स्किल (सीप, कौशल) पनि आउँछ । कलेज जति समृद्ध हुँदैछ, योमाथिको आक्रमण पनि त्यतिनै बढ्दैछ । केही दूषित मनसायका तत्वले यो कलेजमाथि योजनावद्ध आक्रमण गरेका छन् । मैले केएसएललाई देश विकासको प्रोटोटाइप (नमूना, परिरुप) बनाएको छु । यस कलेजलाई अब नयाँ नेतृत्वले थप समृद्ध बनाओस् ।”

नवनियुक्त क्याम्पस प्रमुख संग्रौला र सहायक क्याम्पस प्रमुख सापकोटाले जिम्मेवारी ग्रहण सहितको भनाइ राखेका थिए । त्यसक्रममा क्याम्पस प्रमुख संग्रौलाले भनेका थिए, “मैले २०५१ सालमा पहिलो पटक रेडियो नेपालबाट केएसएलका अवधारणाकर्ता युवराज संग्रौलाको नाम सुनेको हुँ । संयोग सन् २००७ मा यही कलेजमा एमएको एक वर्षे कोर्स पढ्न आइपुगे । म अनमिनमा जागिर खानका लागि यस कलेजमा पढ्न आएको थिएँ । तर, युवराज सरको प्रेरणाले यही पढाउन थालेँ । व्यवस्थापनले आज क्याम्पस प्रमुखको जिम्मेवारी दिएको छ । विवादरहित ढंगबाटै केएसएलको समृद्धिसहितको जिम्मेवारी निर्वाह गर्ने अठोट गर्दछु ।”

नवनियुक्त सहायक क्याम्पस प्रमुख तथा परीक्षा विभाग प्रमुख सापकोटाले आफू २०६२ सालमा बिएएलएलबीको विद्यार्थीको रुपमा केएसएल प्रवेश गरेको स्मरण गरिन । उनले भनिन, “मैले एलएलएम समेत यहीँबाट गरेँ र यही पढाउन थाले । यो समय २० वर्ष बितिसकेछ । म धर्ममा विस्वास गर्छु । धर्मले असल कर्म गर्नु भन्छ । म असल कर्म गर्ने प्रयत्न गरिरहनेछु ।”

नयाँ नेतृत्वसहितको सामुहिक तस्विर

नयाँ जिम्मेवारीमा छनोट भएकाहरुसहित पदभार ग्रहण समारोहमा उपस्थितहरुलाई नयाँ नेतृत्वलाई लेखा प्रमुख हरिकुमार मगर, सह–प्राध्यापक सकिला क्षेत्री, निवर्तमान क्याम्पस प्रमुख प्रा. कुमार इङनामले आ–आफ्नो मन्तव्यसहित बधाई दिएका थिए । केएसएलको २५ वर्षे इतिहासमा ६५ वर्षे उमेर हदका कारण अस्ति २९ असारमा कार्यकारी निर्देशक प्रा. संग्रौलासहित सात जनाको अवकाश लिएका थिए । उनीहरुलाई कलेज व्यवस्थापनले भव्य बिदाइ गरेको थियो ।

अवकाश लिनेमा कार्यकारी निर्देशक प्रा. युवराज संग्रौला, पूर्वक्याम्पस प्रमुख प्रा. प्रकाश केसी, एकेडेमिक इन्चार्ज प्रा. हङकङ राना, क्याम्पस प्रमुख प्रा. कुमार इङनाम (विद्यावारिधि), परीक्षा विभाग प्रमुख गणेश भट्टराई (विद्यावारिधि), सह–प्राध्यापक विश्वमणि पोखरेल, वरिष्ठ प्रशासक हरिशरण खत्री र अर्की वरिष्ठ प्रशासक सुधा केसी छन् ।

तस्विरहरुः निरोज श्रेष्ठ

सामाजिक सञ्जाल र इन्टरनेटमा नकारात्मकताको प्रभावमाथि केएसएलमा गहन विमर्श – Nepal Muhar

केएसएलको साखमा नकरात्मक भ्रम नछर्न महिला आयोगलाई उच्च अदालतको आदेश – Nepal Muhar


काठमाडौं स्कुल अफ ल विरुद्ध स्वार्थ समूहः बिएएलएलबीको नयाँ भर्नाको सूचनासँगै फेरि सुनियोजित आक्रमण – Nepal Muhar

देश विकासको प्रारम्भिक बहसमाथिको प्रतिस्पर्धामा कृतिका आचार्यले जितिन् ५० हजार नगद र ट्रफी – Nepal Muhar

‘काठमाडौं स्कुल अफ ल अकाउन्टेबिलिटी समूह’को कुतर्कः कानुनी राजप्रति चिन्ता ! – Nepal Muhar

काठमाडौं स्कुल अफ ल ले गर्यो अभिभावक भेला, पहिलाको भन्दा उत्कृष्ट पठनपाठनका लागि अभिभावकको दबाब – Nepal Muhar

काठमाडौ स्कुल अफ लः नागरिक समाज र नेपाल बार एसोसियसन कहिलेसम्म रमिते ? – Nepal Muhar

काठमाडौं स्कूल अफ ल र कार्यकारी निर्देशक युवराज संग्रौलामाथि योजनावद्ध आक्रमण – Nepal Muhar

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.