त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तत्कालीन अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईलगायतको समूहले कोड भाषा प्रयोग गरेर भ्रष्टाचार गरेको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट उक्त तथ्य खुलासा भएको हो । त्यही तथ्यसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव भट्टराईलगायत विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले आज विशेष अदालतमा अभियोग दर्ता गर्दै भट्टराईसहित ७ व्यक्ति र २ वटा ट्राभल एजेन्सीलाई प्रतिवादी बनाएको हो भट्टराईसँग ७९ लाख ८० हजार रुपैयाँ बिगो माग दाबी गरेको छ। उनले घुसको रकम घर जग्गामा लगाएर सम्पत्ति शुद्धीकरण गरेको भन्दै १ करोड ३ लाख ७९ हजार ६ सय को माग दाबी गरेको छ।
अनुसन्धानमा भट्टराईले घुसको हिसाबकिताब डायरीमा कोड भाषामा राखेकोसहितका तथ्य भेटिएका छन्। कोड भाषामा महिला र पुरूषको घुसको दर फरक(फरक पाइएको छ।
यी हुन् अख्तियारले भेटेका मुख्य पाँच बुँदा
१. प्रणाली बाहिर कागजात:
भट्टराईको कार्यकालमा यात्रु प्रस्थान गर्दा पेश गर्नुपर्ने सम्पूर्ण आधारभूत कागजातहरू अध्यागमन प्रणालीमा अपलोड नगरी यात्रुलाई हैरानी दिएर घुस लिने गरेका थिए। विशेषगरी, पासपोर्टको ‘बायो पेज’ र स्वघोषणा बाहेक अन्य आधारभूत कागजातहरू प्रणालीमा अभिलेखीकरण नगरी लुकाउने गरेका थिए।
२. घुसको रूपमा मोबाइल पनि लिए:
बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकसँग नियमित सेटिङ्ग र घुस लेनदेन गरी भट्टराईले आफ्नो जिम्मेवारीसँग स्वार्थ बाझिने व्यक्तिहरू– ट्राभल एजेन्सीका सञ्चालक बालकृष्ण खड्का, दिपक भण्डारी र राम खड्का लगायतसँग नियमित सम्पर्क, भेटघाट गर्ने र उनीहरूबाट मोबाइल तथा अन्य सामान खरिद गराउने गरेका थिए। उनले बालकृष्ण खड्कासहितको रेष्टुरेण्टमा गई ‘पार्सल’को नाममा राम खड्काबाट घुसको रकम बुझ्ने गरेको र खड्काले टिपाएका यात्रुहरूको नाम आफ्नो डायरीमा टिपोट गरी त्यहीँ घुसको हिसाबकिताब राख्ने गरेका थिए।
३. पुरूषभन्दा महिलाको घुस दर बढी:
निकै चलाखीपूर्वक भट्टराईले कोड भाषा प्रयोग गरी रकमको हिसाबकिताब राख्ने गरेका थिए। घुस रकम बाँडफाँटमा पनि उनले कोड भाषामै गर्थे। बिचौलियाबाट प्राप्त यात्रुरुहरूको नामावली, गन्तव्य मुलुक र प्रस्थान मिति लगायतका विवरणहरू डायरीमा कोड भाषामा राख्ने गरेका थिए। उनले पुरुष यात्रुरुलाई दशमलव २ (.२) भन्ने गरेका थिए। त्यो भनेको २० हजार रुपैयाँ थियो। महिला यात्रुको कोड दशमलव(.४) थियो। यो भनेको ४० हजार रुपैयाँ थियो। घुस लिने र केही रकम सहकर्मी यज्ञराज अर्याललाई पनि दिने गरेको अनुसन्धानबाट पुष्टि भएको छ। अध्यागमन छाप लगाउने कामलाइ ुपुक्काु भन्ने गरेका थिए। आफ्नो समूहलाई भट्टराईहरुले ‘लाइन वाला’ भन्ने गरेका थिए।
४. भ्रष्टाचारको रकम घर/जग्गामा:
घुसबाट प्राप्त रकम जग्गा कारोबारी मार्फत परिचालन गरी सम्पत्ति शुद्धीकरण गरेको प्रमाण समेत भेटिएको छ। भट्टराईले घुसबापत प्राप्त ठूलो रकम आफ्नो नजिकका व्यक्ति कविता पौडेललाई जग्गा कारोबारी खेम प्रसाद सुवेदी मार्फत् जग्गा खरिद गराइदिने गरेका थिए। कविताको नाममा रहेको मोबाइल सिम नै उनले अवैध रूपमा प्रयोग गरी यात्रुको नामावली आदानप्रदान गर्ने गरेका थिए। यो तथ्यको आधारमा उनीहरूमाथि सम्पत्ति शुद्धीकरण ९मनी लाउन्ड्रिङ०को कसुरमा समेत मुद्दा दायर भएको छ।
५. ठगिएकाहरू जब अख्तियार पुगे:
भट्टराई र अर्यालको समूहले घुस खाएर विदेश पठाएका यात्रु उतै ठगिएपछि नेपाल फर्किएका थिए। घुस लेनदेन गरी भिजिट भिसामा विदेश पठाएका २ सय ५७ जनामध्ये केहीले कामको लोभमा घुस दिएर विदेश पुगे पनि त्यहाँ यातना भोग्नुपरेको ठगिएको रकम पनि फिर्ता नपाएको भन्दै अख्तियारमा उजुरी दिएका थिए।