Connect with us

राजनीति

नेकपाका २५ सय केन्द्रीय सदस्यको शपथ आज, पेरिसडाँडामा विशेष कार्यक्रम हुँदै

Published

on

तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित डेढ दर्जनभन्दा धेरै कम्युनिस्ट घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकाप) का केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ः३० बजेका लागि शपथग्रहणको कार्यक्रम तय गरिएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्डको सचिवालय प्रमुख गोविन्द आचार्यले नेकपामा अहिले झण्डै २५ सय केन्द्रीय सदस्य रहेको बताएका छन् । ‘त्यसमध्ये २२ सय सदस्य आजको शपथ ग्रहण कार्यक्रममा सहभागी बन्नुहुन्छ,’ उनले सञ्चारकर्मीहरुसँग भने, ‘काठमाडौँमा उपलब्ध सबै सदस्य भौतिकरुपमै उपस्थित बन्नुहुन्छ। नहुनेले भर्चुअल माध्यमबाट शपथ खाने व्यवस्था मिलाइएको छ।’

एकता प्रक्रियामा सहभागी हुने दलका केन्द्रीय सदस्य सबै नेकपाको केन्द्रीय सदस्य बन्ने नीति नेकपाले लिएको छ। ‘पुरानो पार्टीको केन्द्रमा भएका सबै केन्द्रीय सदस्य नेकपाको पनि केन्द्रीय सदस्य हुने नीतिअनुसार ठूलो संख्यामा केन्द्रीय सदस्यको शपथ हुन लागेको हो,’ आचार्यले भने।

विभिन्न समूहबाट एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूले आज शपथ लिन लागेका हुन्। शपथ ग्रहण कार्यक्रम भौतिक र भर्चुअल दुवै माध्यमबाट हुने बताइएको छ।

शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ शुल्क तिरेपछि परिचयपत्र पाउने व्यवस्था गरिएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.